काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टी पदाधिकारी तथा संघीय सांसदहरूको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद्, संसदीय समिति र आम नागरिकमाझ भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस र पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उहाँको भनाइ छ ।
रसाइलीले यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइने बताउनुभयो । कांग्रेसले संसद् बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उहाँले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताउनुभयो ।
उहाँका अनुसार निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयास भएको कांग्रेसको निष्कर्ष छ ।
राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि कांग्रेस त्यसबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टीमाथि लागेका आरोप र सिर्जना गरिएका भ्रमको यथार्थ आम नागरिकसमक्ष पुर्याइने उहाँको भनाइ छ ।
रसाइलीले भन्नुभयो, ‘पदाधिकारी तथा संघीय सांसदहरूको बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल भएको छ । पहिलो, राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ । दोस्रो, नेपाली कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ । संसद् र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ । पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछ ।’
यसैबीच, बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको छ ।
चाडपर्वको समयमा बाढी प्रभावित नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई कात्तिक २० गते दिउँसो २ बजे पार्टी कार्यालयमा बोलाइएको रसाइलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापति तथा पार्टी नेतृत्वले प्रभावित क्षेत्रका सांसद र जनप्रतिनिधिसँग छलफल गरी आवश्यक सहयोगका विषयमा निर्णय गर्नेछ ।




जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक
रास्वपाका उम्मेदवार बन्न वैवाहिक अवस्था,
नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता