बिहीबार पार्टी मुख्यालय सानेपामा पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बिचौलिया इनम सापकोटा र सभापति थापाबीच कुनै पनि प्रकारको चिनजान, सम्बन्ध वा लेनदेन नरहेको दाबी गर्नुभयो ।
उहाँले इनम सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा विभिन्न स्थानमा सहभागी भएको उल्लेख गर्दै सरकारले कांग्रेस र सभापति थापामाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिनुभयो ।
सरकारले कानूनअनुसार आफ्नो मर्यादामा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले अनुसन्धानका नाममा जबर्जस्ती पक्राउ तथा धरपकड गर्न खोजिए कांग्रेसले प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
पौडेलले भन्नुभयो, ‘अहिले हाम्रो सभापतिका बारेमा जुन ढंगले चर्चा परिचर्चा भइरहेको छ, त्यो विषयान्तर गर्नका लागि फैलाइएको अफवाह हो । यसले हामीलाई कुनै पनि प्रकारको असर गर्दैन । हामी कुनै पनि हिसाबले तर्सिँदैनौँ । इनम सापकोटासँग सभापतिज्यूको कुनै प्रकारको चिनजान र सम्बन्ध नभएको कुरा हामीले स्पष्ट पारिसकेका छौँ । बरु उहाँ अहिलेका प्रधानमन्त्रीज्यूको चुनावी प्रचारप्रसारमा कति ठाउँमा जानुभयो भनेर सोध्नुस् ।’
उहाँले सरकारले लगाएका आरोपको पुष्टि गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘सरकारले तर्क गर्नुपर्यो, त्यसको आधारमा हामी सहमत वा असहमत हुने कुरा होला । हामीले स्पष्टसँग भनेका छौँ, छानबिन गर्न रोक्दैनौँ, गर्नुस् । पक्राउ नै किन गर्ने ? केका लागि पक्राउ गर्ने ? पक्राउ गर्नका लागि त कानुनी आधार होला नि । सरकारले मर्यादामा बस्नुपर्दैन ? कानून कार्यान्वयन गर्नुपर्दैन ?’
महामन्त्री पौडेलले निष्पक्ष अनुसन्धानका लागि कांग्रेस सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । तर, अनुसन्धानका नाममा जबर्जस्ती धरपकड गर्ने प्रयास भए त्यसको सशक्त प्रतिवाद गरिने उहाँको चेतावनी छ ।







केही आशा केही निराशा
चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई
ओलीपथमा एमाले
सुकुम्वासीलाई जग्गा वितरणमा सहज बनाइँदै
अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा
ती दिनहरू फेरि आउँलान र