काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले सार्वजनिक लगानीले मात्रै पूर्वाधार विकासका लक्ष्य हासिल गर्न नसकिने भएकाले निजी क्षेत्रको पुँजी परिचालन गर्न खोजिएको स्पष्ट पार्नुभएको हो ।
बिहीबार नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले पूर्वाधार विकास, आर्थिक सुधार र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले पूर्वाधार तथा आर्थिक सुधारसँग सम्बन्धित ५९ वटा ऐनका झन्डै ५०० वटा दफा संशोधन तथा परिमार्जन गर्ने तयारी गरेको छ । यसलाई लगानी, पूर्वाधार र आर्थिक सुधारसँग सम्बन्धित एकीकृत कानुनी सुधारका रूपमा अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।
वाग्लेले भन्नुभयो, ‘५९ वटा ऐन हामीले अहिले चलाएका छौँ, झन्डै ५०० वटा दफा हामीले चलाइरहेका छौँ । यो इतिहासमा दर्ज हुने खालको ओम्निबस लेजिस्लेसन हो ।’
उहाँले सरकारको बजेटले मात्रै पूर्वाधार विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने बताउनुभयो । अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रसँग रहेकाले त्यसलाई पूर्वाधार निर्माणमा परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘सरकारको २१ खर्ब बजेटले केही हुँदो रहेनछ । अर्थतन्त्रको ७० खर्बभन्दा फराकिलो अर्थतन्त्रलाई चलायमान गर्नुपर्यो । त्यसैले त्यो २१ खर्बबाहेकको अंशलाई उद्देलित नगरिकन हाम्रा ती ठूला लक्ष्यहरू पूरा हुँदैनन्,’ उहाँले भन्नुभयो ।
अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक सुधार र पूर्वाधार विकासलाई सरकारका तीन मुख्य प्राथमिकताका रूपमा अघि सार्नुभएको छ । उहाँले यसलाई ‘गभर्नेन्समा बिग हिट, इकोनोमिक रिफर्ममा बिग ब्याङ र इन्फ्रास्ट्रक्चरमा बिग पुश’ को अवधारणाबाट व्याख्या गर्नुभयो ।
उहाँका अनुसार पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउन हाइब्रिड एन्युटी मोडल, वैकल्पिक विकास वित्त कोष, क्लिन इनर्जी बन्डलगायतका वित्तीय उपकरण परिचालन गर्ने तयारी गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने र नेपाली बैंकमार्फत साना तथा मझौला उद्योगसम्म लगानी पुर्याउने योजना पनि सरकारले अघि सारेको उहाँले जानकारी दिनुभयो ।
विद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागितालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै वाग्लेले अब पूर्वाधारका अन्य क्षेत्रमा पनि निजी लगानी विस्तार गर्नुपर्ने बताउनुभयो ।
‘आज ७५ देखि ८० प्रतिशत इलेक्ट्रिसिटी जेनेरेसन प्राइभेट सेक्टरले गरिरहेको छ । राज्यलाई मात्र छोडिदिँदा त पञ्चायत खुल्दा त्यही २६२ मेगावाट थियो । अहिले हजारौँ मेगावाट पुगिसकेका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले सडक, प्रसारण लाइन, ऊर्जा तथा अन्य पूर्वाधारमा निजी क्षेत्रलाई लगानी र सञ्चालनको अवसर दिनुपर्ने बताउनुभयो । त्यसका लागि सरकारले आवश्यक कानुनी व्यवस्था सहज बनाउँदै लगानीमैत्री वातावरण तयार गर्ने उहाँको भनाइ छ ।
सरकारले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार एक खर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । उक्त लक्ष्य हासिल गर्न वार्षिक ६ देखि ८ प्रतिशतसम्मको आर्थिक वृद्धि आवश्यक रहेको उहाँले बताउनुभयो ।
न्यून तथा मध्यम आय भएका मुलुकमा आर्थिक वृद्धिको प्रमुख आधार पुँजी निर्माण रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पूर्वाधार विकासमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
‘हाम्रो जस्तो प्रतिव्यक्ति आय भएको मुलुकमा प्रारम्भिक एक दशकजति आर्थिक वृद्धिको स्रोत भनेकै क्यापिटल फर्मेसन अर्थात् पुँजी निर्माण हुँदो रहेछ । त्यसैले त्यो पुँजी निर्माणलाई अगाडि बढाउनका लागि पूर्वाधारकै झ्यालबाट छिर्नुपर्छ भन्ने तर्क लिएका छौँ,’ उहाँले भन्नुभयो ।
अर्थमन्त्री वाग्लेले पुराना तथा लगानीमैत्री नभएका कानुन संशोधन र खारेजीको प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो । आफू मन्त्री बनेको १५ मिनेटभित्रै १५ वटा पुराना ऐन खारेज गरेर सुधारको सन्देश दिन खोजेको उहाँको भनाइ थियो ।
उहाँले पाँच वर्ष स्थिर सरकार, सुशासनयुक्त प्रशासन र परिणाममुखी सेवा प्रवाहको लक्ष्यसहित सरकार अघि बढिरहेको पनि बताउनुभयो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं