काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध दुष्प्रचार गर्दै पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएको छ । त्यस्ता गतिविधिको निष्पक्ष छानबिन गर्न आफूहरू तयार रहेको पनि कांग्रेसले जनाएको छ ।
बिहीबार पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश रसाइलीले सरकार केन्द्रित केही व्यक्तिहरू पार्टीविरुद्धको दुष्प्रचारमा संलग्न रहेको आरोप लगाउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सरकार केन्द्रित केही व्यक्तिहरू संलग्न भएर नेपाली कांग्रेसका विषयमा दुष्प्रचार गर्ने, पार्टी नेतृत्वका बारेमा खराब प्रचार गर्ने र नेपाली कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको छ । जस्तोसुकै छानबिनका लागि पनि नेपाली कांग्रेस र हाम्रो नेतृत्व तयार छ । तर छानबिन प्रमाणका आधारमा हुनुपर्छ । बिना प्रमाण पूर्वाग्रही ढंगले गरिने कुरालाई हामी स्वीकार गर्दैनौँ ।’
सहमहामन्त्री रसाइलीले छानबिनका नाममा प्रतिशोध साँध्ने काम भए कांग्रेसले प्रतिकार र प्रतिवाद गर्ने चेतावनी दिनुभयो । सत्यतथ्य र प्रमाणका आधारमा प्रक्रिया अघि बढेमा छानबिनमा पूर्ण सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले यस विषयमा संसद् र संसदीय समितिमा समेत छलफल हुनुपर्ने बताउनुभयो । सांसदहरूसँगको छलफलमा पार्टीविरुद्ध भइरहेका गतिविधिलाई संसद् र संसदीय समितिमा प्रभावकारी रूपमा कसरी उठाउने भन्ने विषयमा पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा भोटेकोसी क्षेत्रमा दसैँका बेला प्रभावित भएका नागरिकको अवस्थाबारे समेत छलफल भएको रसाइलीले बताउनुभयो । प्रभावित नागरिकले अझै बसोबास, खाद्यान्न र आवासको उचित व्यवस्था पाउन नसकेको उल्लेख गर्दै उहाँले उनीहरूको वर्तमान अवस्था बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘दसैँको बेलामा पनि धेरै आम नागरिकको बिचल्ली हामीले त्यहाँ देख्यौँ । बस्न नपाएको, खान नपाएको र साह्रै पीडामा रहेका नागरिकको गासबासको अवस्था के छ भन्नेबारे स्थानीय जनप्रतिनिधि र संघीय सांसदहरूलाई बोलाएर छलफल गर्ने तथा आवश्यक सहयोग पार्टीले गर्ने विषयमा कुरा भएको छ ।’







लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर