हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल जरो हो, यसलाई कसैले चोर्न सक्दैन : राजेन्द्र बजगाईं, संगीतकार

राजेन्द्र बजगाईं नेपाली गीतसंगीतको आफ्नै राजमार्गमा दौडिरहनुभएको स्रष्टा हुनुहुन्छ । उहाँका सयौँ गीत श्रोता/दर्शकमाझ आएका छन् । गीतकारको शब्दलाई न्याय गरेर राम्रो संगीत भर्ने संगीतकारमा पर्नुहुन्छ उहाँ । उहाँको संगीतमा रहेका गीत पछिल्लो पुस्ताका सबैजसो गायकगायिकाको स्वरमा सजिएका छन् । बर्दिया बढाइया ताल सितला बजार स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर गीतसंगीतको क्षेत्रमा अहोरात्र खटिनुभएका उहाँ ब्रहृमाण्ड नै संगीतबाट चलायमान भइरहेको बताउनुहुन्छ । हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल जरो हो, यसलाई कसैले चोरेर चोर्न सक्दैन भन्नुहुने संगीतकार राजेन्द्र बजगाईंसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
गीतसंगीत क्षेत्रमा आफूलाई व्यस्त बनाउँदै आएको छु । हिन्दी गीतको रेकर्डिङको तयारी भइरहेको छ भने ‘टेन्डर सुगर फ्रि’ तयारीलगायत काम भइरहेको छ ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको लगाव रहृयो गीतसंगीतको क्षेत्रमा । घरमा सधैँ पूजा भइरहने । आमाले हार्माेनियम बजाउनुहुन्थ्यो, भजन गाउनुहुन्थ्यो । बुबाले पनि बजाउने गाउने गर्नुहुन्थ्यो । म सानैदेखि त्यही परिवेशमा हुर्किएँ । सानैदेखिको यो माहोलमा म पनि गाउन र बजाउन थालेँ । विस्तारै स्कुल र कलेजमा साथीभाइहरू र सरहरूको हौसला पनि मिल्दै गयो र म यो क्षेत्रमा हेलिँदै गएँ । अघि बढ्दै गएँ । विसं २०४६ सालमा ‘कसले चोर्‍यो ओठको लाली…’ गीत रेकर्ड गरेपछि झन् धेरै नै हौसला थपियो अनि यही क्षेत्रमा पूर्णकालीन भएर लागेँ ।

कस्तो पाउनुभयो भयो गीतसंगीतको क्षेत्र ?
संसारमा सबै थोकले पूर्ण हुने पेशा भनेको यही एउटा संगीत हो जस्तो लाग्छ । मलाई सबैभन्दा सन्तुष्टि, खुशी यसैमा मिलिरहेको छ । कसैले खराब सोचे पनि त्यस्तो छैन । संगीतमा जसले निरन्तर साधना र त्याग गर्छ, पक्का पनि राम्रो पाउँछ । मैले त धेरै राम्रो पाएको छु । साथीभाइहरूको माया मिलेको छ । शुभ चिन्तकहरूले माया गरिरहनुभएको छ । सबैको साथ सहयोगले अघि बढ्ने हौसला मिलेको छ, यही नै हो पाउने भनेको । एउटा स्रष्टाका लागि यति धेरै माया दिनुभएको छ । यसले मलाई अझ फुरुङ्ङ बनाएको छ । सबैको धेरै-धेरै माया पाएको छु ।

यो क्षेत्रलाई नै किन रोज्नुभयो ?
मैले माथि पनि भनेँ घरको वातावरणले सुरुमा म यो क्षेत्रमा हेलिँदै गएँ । पछि मैले यसमा आफैँलाई डुबाउँदै गएँ । मैले यो क्षेत्रमा यति धेरै डुबुल्की लगाएको छु कि अब यो क्षेत्रबाट म अन्य क्षेत्रको कल्पना पनि गर्न सक्दिनँ । आत्मसन्तुष्टि सबैभन्दा बढी मैले यही क्षेत्रमा पाएँ र रोजेँ यो क्षेत्र । साथीभाइ र परिवारको सपोर्ट मिलिरहेको छ । म यही क्षेत्रमा रमाइ-रमाइ आफ्ना क्रियसनलाई श्रोता/दर्शकमाझ पस्किरहेको छु ।

राजेन्द्र बजगाईं को हो ?
समाजले दिएको एउटा नाम । यो समाजको एक सचेत नागरिक । गीतसंगीतको श्रीवृद्धिमा अहोरात्र खटिने एउटा योद्धा । सायद गीतसंगीतका लागि नै जन्मिएको एउटा व्यक्ति ।

अहिलेसम्म यहाँका कति सिर्जना श्रोता/दर्शकमाझ आएका छन् ?
यस्तै सात/आठ सयजति सिर्जना श्रोता/दर्शकमाझ आएका छन् । श्रोता/दर्शकको मायाले यसको क्रम जारी नै छ । उहाँहरूको माया र हौसलाले यो क्षेत्रमा अझै केही उल्लेखनीय प्रस्तुतिहरू पस्किनुपर्ने जिम्मेवारी बोध गरेर निरन्तर कर्मपथमा लम्किरहेको छु ।

श्रोता/दर्शकमाझ आएका यहाँका केही सिर्जनाको नाम लिनुपर्दा ?
मेरा श्रोता/दर्शकमाझ धेरै सिर्जना आएका छन् । केहीको नाम लिनुपर्दा ‘यो देशका लागि म…’, ‘यो त जाली शहर हो प्रिया…’ ‘मुसुमुसु हाँसेर…’, ‘ट्राफिक जाम…’, ‘झमक झमक…’, ‘टेन्डर…’, ‘ओ मेरो परान…’, ‘चिनी अमिलो…’, ‘जाला जोवान…’, ‘मेरी डल्ली…’, ‘झ्याम्मै मायालु…’, ‘घुमायो मायाले…’, ‘मस्त जवानी…’, ‘नाचौँ आफ्नै पारामा…’, ‘हरि बोल…’, ‘खेलौँ होली…’, ‘नाकको फुली…’, ‘जुम्ला कालिकोट…’, ‘आमा मेरी आमा…’, ‘पश्चिम बग्या रेल’, ‘तिते करेला…’, ‘साइत जुरेन…’, ‘आँखामा तिमी छौ…’, ‘हे बुढा…’, ‘आऊ माया साथैमा…’ लगायत थुप्रै छन् ।

तपाईं आफैँलाई मन परेको तपाईंको सिर्जना ?
एउटा सर्जकका लागि आफ्ना हरेक सिर्जना उत्तिकै प्रिय हुन्छन् । आफ्ना सबै सन्तान अभिभावकलाई प्रिय लागे जस्तै मलाई पनि मेरा हरेक सिर्जना प्रिय लाग्छन् । त्यसैले तपाईंले सोध्नुभएको मन परेको आफ्नो सिर्जनामा ठ्याक्कै यही भन्न चाहिँ निकै गाह्रो प्रश्न हो । मलाई त सबै उत्तिकै प्रिय लाग्छन् । तर, श्रोता/दर्शकको रुचि भने फरक-फरक पाएको छु मैले ।

कत्तिको गाह्रो छ ?
सबै क्षेत्रमा गाह्रो सजिलो त भइहाल्छ नि । हामीले यसलाई सहज बनाएर जानुपर्छ । आफूले रोजेको, चाहेको क्षेत्र हो । त्यसैले यसलाई कसरी सहज बनाएर उत्कृष्ट सिर्जना पस्किने ध्यानमा रहन्छु म । तपाईंलाई थाहा नै छ नि ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल ।

संगीत के हो ?
यो एउटा साधना हो । हामै्र वरिपरिका वातावरणमा भएका खोलाको कलकल, हावाको सुसाहट, चराचुरुंगीको चिरबिर हरेकमा संगीत हुन्छ । त्यसलाई कसरी लयमा निकाल्ने भन्ने हो । संगीत हाम्रो सुख दुःखको साथी हो । सुखमा हामी गीतसंगीत बजाएर रमाइलो गर्छौँ भने दुःखमा पनि गीतसंगीत सुनेर आफ्नो पीडालाई कम गर्ने कोसिस गर्छौँ । त्यसैले मलाई त के लाग्छ भने जीवन नै संगीत हो । यो ब्रहृमाण्ड नै संगीतबाट चलायमान भइरहेको छ । हरेक सुख दुःखको मित्र हो संगीत ।

हाम्रो मौलिक संगीत हराउँदै गएको छ भन्ने गरिन्छ नि ?
हाम्रो आफ्नोपन बचाइराख्नु हाम्रो कर्तव्य हो । यही नै हाम्रो पहिचान हो । तपाईंले भने जस्तै मौलिक संगीत हराइरहेको भन्नेमा म तपाईंसँग सहमत अलि हुन सक्दैन । हो केही त्यस्ता गीतसंगीत बजारमा आए होलान् तर तिनको आयु निकै कम हुन्छ । ती गीतसंगीत कालजयी हुन सक्दैनन् । फेरि समय सधैँ एकनाश पनि त हुँदैन । यो परिवर्तनशील छ । हाम्रो गीतसंगीतमा पनि त्यस्तै परिवर्तन हुँदै आएको मान्छु म । सकारात्मक परिवर्तन हुनु राम्रो कुरा होइन र ? हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल जरो हो । यसैमा टेकेर सबै सर्जकले फरकपन दिने प्रयास गर्नुहुन्छ । त्यसैले मलाई के लाग्छ भने हाम्रो मौलिकता हराउन सक्दैन ।

विभिन्न समयमा चोरीको आरोप लाग्ने गर्छ नि ?
मैले माथि भनेको प्रश्नको उत्तरमा नै जोड्न चाहन्छु । मलाई के लाग्छ भने ‘चोरी’ नै भन्ने शब्द अलिक मिल्दैन कि ? म यसलाई अनुशरण गरेको होला भन्छु । संगीत कसैले पनि चोर्न सक्दैन । उस्तै मिलेको आयो भने तपाईं हामी नै भन्छौँ कस्तो उस्तै-उस्तै आयो त । यो अनुशरण हो । चोरी नै भए सबै एकै किसिमको हुने थियो होला ।

यहाँले सिर्जना गर्न बस्दा केलाई आधार लिनुहुन्छ ?
मेरो परिवेश, मेरो माटोको सुगन्धलाई आधार लिन्छु । जब गीतकारले शब्द दिनुहुन्छ म यसमा लामो समयसम्म साधानारत रहन्छु अर्थात् कसरी यसमा उत्कृष्ट संगीत सिर्जना गर्न सकिन्छ भनेर घोत्लिन्छु । गीतको शब्दको भावलाई बुझ्ने प्रयास गर्छु । गीतकारले शब्दलाई के कसरी र कुन प्रतिबिम्बमा झल्काउनुभएको छ, त्यो बुझेर सिर्जना गर्ने कोसिस गर्छु ।

मैले भन्न खोजेको जब गीतमा संगीत भर्न बस्नुहुन्छ, त्यसबेला यहाँको प्राथमिकतामा के पर्छ ?
धेरै कुरा त माथि नै आए । फेरि पनि जोड्नुपर्दा कुन लाइनलाई प्राथमिकता दिने, कुन लाइनलाई लयमा ढाल्ने, कस्तो शब्द र कुन समयलाई लक्षित गरिएको छ, त्यसै समयलाई मिल्ने रागमा बसेर फरक लयको सिर्जना गर्ने हो । प्राथमिकता भनेको शब्दको भाव हो ।

यहाँले यो क्षेत्रमा रहँदै गर्दा आफ्नो करिअरको टर्निङ प्वाइन्ट आउने गीतचाहिँ कुन मान्नुहुन्छ ?
तपाईंले भने जस्तै ठ्याक्कै यही गीत भन्ने त छैन । मेरा हरेक सिर्जना मेरा लागि टर्निङ प्वाइन्ट रहेका छन् । तर पनि मलाई अझ हौसला थपिदिएको राष्ट्रिय गीत ‘यो देशका लागि म…’ हो । यसबाट मलाई ११औँ कालिका अवार्डमा अवार्ड प्रदान गरिएको थियो । यसमा रमेश खरेलको पहिलो अभिनय पनि रहेको थियो । भुवन प्यासी र पारु शाहीको स्वर रहेको यो गीत द्वन्द्वकालमा सार्वजनिक भएको थियो । यो गीतले मलाई एक खालको ऊर्जाशील बनाएको थियो ।

तपाईंको क्रिएसनको पहिलो श्रोता को हो भन्न मिल्छ ?
मेरो पहिलो श्रोता म आफैँ हो । किनकि मलाई नै मन परेन भने अरूलाई मन पर्दैैन जस्तो लाग्छ । दोस्रो श्रोता भनेको पहिलोपल्ट आमालाई सुनाएको थिएँ । अहिले श्रीमतीलाई नसुनाई अरूलाई सुनाउँदिनँ । किनकि मेरी श्रीमती पनि राम्रो गीतकार भएकाले राम्रो श्रोता पनि हुन् । अर्थात् अहिले श्रीमती अर्थात् मेरी जीवन संगिनीलाई नै सुनाउँछु ।

वर्तमान समयमा आएका गीतसंगीत पहिलाजस्तो पाइँदैन भन्ने गरिन्छ नि ?
तपाईंले भनेको प्रश्नमा केही सत्यता भएको म पनि पाउँछु । समय गतिशील छ, त्यो गतिमा आफूलाई फरक बनाउन पनि जरुरी छ । फरक हुन पनि जरुरी छ । सबैलाई एकै किसिमको सिर्जना मन नपर्न पनि सक्छ । त्यसैले फरक बनाएर ल्याउनु पनि पर्छ ।

जीवन र संगीतलाई कसरी बुझ्ने ?
जीवन बाटो हो, संगीत एउटा शिक्षा हो । जसबाट कसरी त्यो बाटोमा हिँड्न सिक्ने भन्ने ज्ञान दिइन्छ । लाग्छ मलाई संसारमा संगीतबिनाको जीवन पनि चल्छ जस्तो ।

तपाईंका कस्ता सिर्जना आउँदै छन् श्रोता/दर्शकमाझ ?
म सबै खालका सिर्जना गर्ने भएको हुनाले विभिन्न भाषाभाषीको सिर्जना, लोक, आधुनिक, राष्ट्रिय सबै खालका सिर्जनाको काम भइरहेको छ र आउने तयारीमा पनि छन् ।

गीतहरूको रोयल्टी पाउने भन्ने कुराहरू के भइरहेको छ ?
पाउनेले पाइराखेका छन् । यसलाई सुधार्न चाहिँ जरुरी छ । संघमा आफ्नो मान्छे बनाएर र खराब व्यक्तिलाई रोयल्टीमा ल्याएर रोयल्टी बाँड्ने अनि सही स्रष्टालाई खबर नगर्ने भएकाले यसलाई फिल्टर गर्न जरुरी छ । सबै स्रष्टा एक भएर आफ्नो अधिकार लिनुपर्छ भन्छु म । धेरैको दबाबपछि अहिले रोयल्टी बाँड्ने कुरा छ । के कति छ थाहा छैन । हामी आफू स्रष्टा पनि चनाखो हुन जरुरी छ । हाम्रो सिर्जनामा अर्कोले ‘तर’ मारिरहँदा तपाईंहरू किन चुप लागेर बस्नुभएको छ, उठ्नुहोस् आफ्नो अधिकार र आफ्नो सिर्जनाको उचित कदरका लागि भन्न चाहन्छु म ।

यहाँले हिन्दी भाषाको गीत बनाउनुभयो, प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
हो मैले चारवटा जति हिन्दी गीतमा संगीत भर्ने काम गरेको छु । धेरै राम्रो प्रतिक्रिया आइरहेको छ । मैले हिन्दी गीतमात्र होइन, भोजपुरी, मैथिली, थारुलगायतका गीतमा संगीत गरिरहेको छु ।

अन्त्यमा ?
गीतसंगीत र मेरा आफ्ना विषयका साथै समसामयिक विषयमा यहाँसँग हिँड्दा हिँड्दै भलाकुसारीको यो संयोग गज्जबको नै जुर्‍यो मेरा लागि । यसका लागि विशेष आभार प्रकट गर्दछु ।