‘दृश्य र अनुभूतिलाई चमत्कारपूर्ण ढङ्गमा अभिव्यक्त गरिनुपर्दछ भन्ने मान्यता राख्छु’

विसं २०७८ असोजमा रत्न पुस्तक भण्डारले डा. दामोदर पुडासैनी ‘किशोर’ को नियात्रासङ्ग्रह- ‘ग्रीष्मको नीलो बतास’ प्रकाशनमा ल्याएपछि त्यो निकै चर्चामा आयो । अझ मदन पुरस्कार गुठीले विसं. २०७८ को श्रेष्ठ सूचीमा समावेश गरेपछि त्यो पुस्तकको चर्चा बेस्सरी हुन थालेको छ । त्यसो त डा. पुडासैनीमात्र यस्ता लेखक हुनुहुन्छ जसले अहिलेसम्म मदन पुरस्कारको श्रेष्ठ सूचीमा दुईपटक सूचीकृत हुने सफलता हासिल गरिसक्नुभएको छ । यसअघि विसं. २०७२ सालमा पनि उहाँको ‘सिमानाको रङ्ग : सिमानाको तरङ्ग’ नामक नियात्रा कृति श्रेष्ठ सूचीमा परिसकेको थियो । डा. पुडासैनीको नियात्राकारितामा आविष्कार तत्वको गुण रहेको, नियात्रा लेखन परम्परालाई परिवर्तन गरेर नवीन ढङ्गले अभिव्यक्ति दिएको, उहाँको नियात्राका कारण आमपाठकमा बेग्लै सौन्दर्यबोध र चेतनाको स्तर माथि उठेका कारण ‘ग्रीष्मको नीलो बतास’ ले यो वर्षको मदन पुरस्कार पाउँछ भन्ने पनि पाठकवृत्तमा चर्चा हुन थालेको छ । कविता, नियात्रा र दर्शन विधाका सत्र पुस्तकहरू प्रकाशित गरिसक्नुभएको र नेपाल सरकारको सहसचिव/नायब महालेखापरीक्षक र त्रिभुवन विश्वविद्यालयका आर्थिक व्यवस्थापन विज्ञका रूपमा काम गरेर स्वदेश तथा विदेशको स्थितिलाई मिहिन ढङ्गले बुझ्नुभएका कारण पनि डा. पुडासैनीको सिर्जनात्मक लेखनी स्तर उच्च रहेको पाइन्छ । डा. पुडासैनी लेखापरीक्षण विषयमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ । सबैसँग मिलनसार, सधैँ हँसिलो रसिलो र सधैँ सिर्जनशील कार्यमा तल्लीन रहेको पाइने डा. दामोदर पुडासैनी ‘किशोर’ सँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

नेपाली नियात्रा लेखनीमा डा. दामोदर पुडासैनी ‘किशोर’ को उपस्थितिले कोशेढुङ्गाको काम गरेको छ भन्ने आमधारणा छ । तपाईंको नियात्रा लेखन साँच्चै नियात्रा लेखन परम्पराभन्दा भिन्न छ । नियात्रालाई ओजनदार बनाउन के-के कुरामा ध्यान दिनुपर्दछ ?
नियात्रा होस् अथवा अरू विधाको सिर्जना गर्दा नौलो विषयको छनोट र नवीन शैलीको लेखनी आवश्यक पर्दछ । पाठकको रुचि जहिले पनि नवीनतामा आकर्षित हुन्छ । कृतिबाट मनोरञ्जन, ज्ञान, जीवन र जगत् बुझ्न सजिलो होस् भन्ने अपेक्षा पनि पाठकले गरेको हुन्छ । म ती कुराहरूलाई पर्याप्त ध्यान दिन्छु र लेख्छु । सकेसम्म कम मान्छे पुगेको ठाउँमा, आवतजावत गर्न कठिन ठाउँमा, आममान्छेले थाहा पाएको भन्दा फरक संस्कार र संस्कृति रहेको ठाउँमा भ्रमण गर्ने, त्यहाँको गहिरो अध्ययन गर्ने र स्थानीय आवाहन, बोलीचाली, भाषा, खाना र रीतिरिवाजको स्वाद आउने ढङ्गले लेख्ने मेरो बानी छ । यही कारणले होला आमपाठकका लागि मेरा सिर्जनाहरू प्रिय बनेका ।

तपाईंका जे-जति नियात्रासङ्ग्रहहरू प्रकाशित भए ती सबैले पाठकको मन जितेका छन् । तपाईंको २०७० सालमा प्रकाशित ‘नमेटिएका चित्रहरू’ नियात्रासङ्ग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कार, २०१५ पाउन सफल भयो । त्यही पुस्तकले ‘उत्तम शान्ति पुरस्कार’ पनि पाउन सफल भयो । हुम्लामा बसेर तपाईंले लेख्नुभएको ‘मायालु हुम्ला’ त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममै समावेश छ । विसं २०७२ सालमा प्रकाशित तपाईंको ‘सिमानाका रङ्ग : सिमानाका तरङ्ग’ विसं २०७२ सालको मदन पुरस्कारको श्रेष्ठ सूचीमा पनि परेको थियो । अहिले विसं २०७८ सालमा प्रकाशित ‘ग्रीष्मको नीलो बतास’ मदन पुरस्कार २०७८ को श्रेष्ठ सूचीमा छनोट हुन सफल भएको छ । यसरी तपाईंका सबैजसो नियात्राहरूले कुनै न कुनै पुरस्कार पाउन सफल हुनुको कारण के हो जस्तो लाग्दछ ?
कतिपय कुरा त मैले माथि भनिसकेँ । मुख्यतः म नवीन र कठोर स्थानको भ्रमण गर्न रुचाउँछु । भ्रमण गरेको स्थान र जीवनलाई मिहिनरूपमा अध्ययन गरेर त्यो दृश्य र अनुभूतिलाई चमत्कारपूर्ण ढङ्गमा अभिव्यक्त गरिनुपर्दछ भन्ने मेरो मान्यता छ र त्यसैअनुरूप म सिर्जना गर्न पनि रुचाउँछु । अनकन्टारदेखि भौगोलिक र सामाजिकरूपमा फरक विशेषता भएका स्थानमा भ्रमण गरेर त्यसको अनुभूतिको बेग्लै शब्दचित्र तयार गरेका कारणले पनि होला मेरा कृतिहरू आमपाठकको प्रिय बनेका र कुनै न कुनै पुरस्कार प्राप्त गरेको । मदन पुरस्कार २०७८ को सूचीमा ‘ग्रीष्मको नीलो बतास’ छनोट भएको कारण पनि यही हो जस्तो लाग्दछ ।

माथि भनेझैँ तपाईंको विसं २०७२ सालमा प्रकाशित ‘सिमानाको रङ्ग : सिमानाको तरङ्ग’ नियात्रासङ्ग्रह मदन पुरस्कार सूचीमा छनोट भएर पनि पुरस्कृत भएन । अहिले २०७८ को मदन पुरस्कार सूचीमा तपाईंको ‘ग्रीष्मको नीलो बतास’ पनि श्रेष्ठ सूचीमा परेको छ । यसपटक मदन पुरस्कार पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
यस वर्ष ‘ग्रीष्मको नीलो बतास’ ले निश्चितरूपमा मदन पुरस्कार पाउँछ भन्नेमा म आशावादी छु ।

‘ग्रीष्मको नीलो बतास’ ले यस वर्ष मदन पुरस्कार पाउनैपर्ने कारणहरू के-के हुन् जस्तो लाग्छ तपाईंलाई ?
होे तपाईंले भन्नुभएझैँ विसं २०७२ सालमा मेरो पुस्तक ‘सिमानाको रङ्ग : सिमानाको तरङ्ग’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेर पनि पुरस्कृत हुन सकेन । तर, ‘ग्रीष्मको नीलो बतास’ ले भने मदन पुरस्कार पाउँछ भन्नेमा म विश्वस्त छु । त्यसका केही कारण छन् । पहिलो ग्रीष्मको नीलो बतासमा मैले नियात्रा लेखनमा नवीन प्रयोग गरेको छु । यो नियात्रामात्र नभई काव्य, कथा, उपन्यास र निबन्धको सटिक सम्मिश्रण पनि हो । यसमा दृश्य र अनुभूति टड्कारोरूपमा शब्दचित्रमा प्रकट गर्ने प्रयास गरेको छु । यसको भूमिकामा डा. तारानाथ शर्माले भन्नुभएको पनि छ, ‘यसले मेरो हृदयमा बेग्लै झङ्कार फैलायो । पुडासैनीको ग्रीष्मको नीलो बतास लेखनी र विषय दुवै दृष्टिले अत्यन्त सबल र सफलरूपमा आएको पाएको छु ।’ दोस्रो, यो पुस्तक प्रकाशित भएपछि आमपाठक, समालोचक र अध्येताहरूबाट निकै राम्रो प्रतिक्रिया प्रकाशित भइरहेछन् । तेस्रो, मदन पुरस्कारको श्रेष्ठ सूचीमा दुईपटक पर्न सफल मेरै कृतिहरूमात्र हुन् जस्तो मलाई लाग्दछ । चौथो, नेपाली साहित्यको श्रीवृद्धिका लागि मेरो लेखनीको अवधि पचास वर्ष नाघिसकेको छ । यति लामो अवधिको सिर्जनकर्मका साथ प्रकाशित ‘ग्रीष्मको नीलो बतास’ ले यसपालि भने पक्कै मदन पुरस्कार पाउँछ भन्नेमा म विश्वस्त छु ।

तपाईंका अहिलेसम्म कवितासङ्ग्रह दश, नियात्रासङ्ग्रह छ र दर्शनसङ्ग्रह एक गरी सत्र थान पुस्तकहरू प्रकाशित भइसकेका छन् । आमसमालोचक तथा पाठकहरू डा. दामोदर पुडासैनी ‘किशोर’ को लेखनीमा जीवन दर्शनको प्रखरता, काव्यात्मक प्रचुरता, पाठकलाई नवीनतामा डो¥याउने क्षमता र पाठकको चेतना स्तरलाई माथि उठाउने सामथ्र्य भएकाले उनका कृतिहरू बढी स्तरीय र पठनीय भएका हुन् भन्ने धारणा अघि सार्दछन् । साँच्चै, तपाईं कुनै पनि कृति तयार गर्दा के-के कुरामा विचार पुर्‍याउनुहुन्छ ?
कुनैै पनि कृति तयार गर्दा मैले छनोट गरेको विषयको म गहिरो अध्ययन र अनुसन्धान गर्दछु । आवश्यकताअनुसार सम्बन्धित स्थलको भ्रमण गर्दछु र त्यहाँको जनजीवन र भूगोललाई अत्यन्त जिज्ञासु र निष्पक्ष ढङ्गले छाम्छु र त्यसबाट सिर्जित अनुभूतिको तीव्र वेगलाई परम्परागतभन्दा फरक ढङ्गले अभिव्यक्ति दिन्छु । यिनै कारणहरूले कृति फलदायी र रुचिकर बन्छ भन्ने मलाई लाग्दछ ।

तपाईं सधैँ हँसिलो, रसिलो र उत्साही देखिनुहुन्छ । यसको कारण के होला ?
प्रकृतिको निश्चित प्रक्रिया पूरा भएपछि म यो संसारमा जन्मेको हुँ । प्रकृतिकै निश्चित विधिहरू पूरा भएपछि मेरो यो शरीर संसारमै बिलाउँछ । जन्म र मृत्युसम्मको यो जीवन अवधि म र यो संसार दुवैका लागि महत्वपूर्ण छ । योभन्दा अघिल्लो मेरो जीवन थिएन र मेरो मृत्युपछि मेरो अर्को जीवन हुनेछैन । मेरो मृत्युपछि केही मान्छेको मानसपटलमा सम्झनाका रूपमा मात्र रहन्छु म । प्रकृतिलाई परिवर्तन गरेर मानव उपयोगी बनाउन मेरो भूमिका महत्वपूर्ण हुन्छ । यो सारा प्रकृतिका अजस्र स्रोतहरूलाई उपभोग गरेर रमाउनु जीवनको महान् लक्ष्य हो । त्यसै भएर पनि यो प्रकृतिको विचित्र सौन्दर्यसँग रमाउँदै संसारका सबै मान्छेहरूलाई हँसिलो, रसिलो र उमङ्गित बनाउनु मेरो कर्तव्य पनि हो । एकपटक पाएको यो जिन्दगीको एक क्षणमात्र रिस, द्वेष, आलस्य र बेकामी बनेर नबस्ने र क्षण-क्षणमा उपलब्ध स्रोतसाधनलाई रसिलो, हँसिलो र उमङ्गित ढङ्गले उपयोग गर्नुपर्छ भन्ने मान्यताका कारण म सधैँ हँसिलो, रसिलो र उत्साही हुन्छु । अनुहारमा अँध्यारो निम्त्याएर सधैँ केही नगरी चिडचिडाहटमा डुब्नु जत्तिको बेकारको जिन्दगी अरू के नै हुन सक्ला र ? जाँगर, काम, उत्साह र उज्यालो यी चारलाई सधैँ जीवनगति बनाउनुपर्छ भन्नेमा छु म ।

जीवन निस्सार हो भन्ने एकथरी छन् । अर्काथरी जीवन अँध्यारोमा हिँडिरहेछ भन्दछन् । तेस्रो किसिमका मान्छेहरू जीवनलाई ठुलो प्राप्ति हो भन्दछन् । तपाईंको विचारमा जीवन के हो ?
मैले अघिल्लो प्रश्नको जवाफमा यसको उत्तर दिइसकेको छु । वास्तवमा जीवन प्रकृतिबाट पाएको ठुलो प्राप्ति हो । जीवन छ र त संसार छ । जीवन छ र यो संसारको सौन्दर्य र उपलब्धिलाई उपभोग गर्न पाइएको छ । जीवन नभए संसार हुनुको पनि कुनै अर्थ छैन ।

बालक उमेरका के-कस्ता यादहरू मिठोरूपमा आइरहन्छन् ?
सधैँ हरिलो, भरिलो, सधैँ अन्नबाला झुलिरहेको जितपुरफेदीका खेतबारीमा हिँडेर रमाउँदाको मिठो याद आइरहन्छ । जितपुरफेदीदेखि धर्मस्थलीसम्म विद्यालय आवतजावत गर्दा पैदल हिँड्दा पनि पुस्तक पढ्दै हिँडेका क्षणहरूको मिठो याद आउँछ । घरमा नेसनल पानासोनिकको पुरानो रेडियो थियो । त्यो रेडियोमा रेडियो नेपालको शङ्खध्वनिदेखि शङ्खध्वनिसम्मका आवाजमा रमाएको, त्यसमा प्रसार हुने प्रायः सबै गीतहरू कण्ठ पारेको, अल इन्डिया रेडियो, रेडियो खर्साङ, रेडियो मास्को र सिलोन रेडियोबाट प्रसार हुने समाचारहरू सुनेको मिठो याद आइरहन्छ । त्यसबेला समाचारमा आइरहने इन्दिरा गान्धी, मेनाहिम बेगिन, वाल्ड हायम, जिम्मी कार्टर, साइरस भान्स, माशिर अराफात, मिखाइल गोर्भाचेभ, कोराजोना अक्विनो, हेनरी किसिन्जर र पुस्तकमा पढिने माओत्सेतुङ, महात्मा गान्धी, अल्वर्ट आइन्स्टाइन, चाल्र्स डार्विन, सिग्मन्ड फ्रायड र माक्र्सहरू सम्झनामा आइरहन्छन् ।

तपाईंलाई सबैभन्दा धेरै मनपर्ने सम्पत्ति के हो ?
मेरो शरीर मैले असाध्यै माया गर्ने मेरो सम्पत्ति हो ।

जिन्दगीमा कुनै पुस्तक पढ्न पाइन भन्ने लागेको छ ?
संसारमा प्रकाशित भएका सबै पुस्तक कसैले पनि पढिसक्दैन । कुनै एउटा पुस्तकमा मात्र विश्वको सबै ज्ञान सङ्ग्रहित हुन सक्दैन । त्यसै भएर पनि जिन्दगीमा त्यस्तो कुनै पुस्तक पढ्न पाइन भन्ने लागेको छैन ।

यदि तपाईंले प्रकृतिबाट असाध्यै ठुलो शक्ति अथवा सुपर पावर पाउनुभयो भने के गर्नुहुन्थ्यो होला ?
योे संसारमा धेरै कुरा रहस्यमय छन् । यदि प्रकृतिबाट असाध्यै ठुलो शक्ति र सुपर पावर पाएँ भने संसारमा भएका र हुने सबै घटना र वस्तुहरूलाई यथार्थरूपमा नियाल्थेँ र भ्रमबाट मुक्त बन्थेँ ।

तपाईंले जीवन र जगत्का बारेमा धेरै अध्ययन गर्नुभयो, धेरै लेख्नुभयो पनि । अहिले आएर जीवन र जगत्का बारेमा के कुरामा खुसी र के कुरामा दुःख लाग्छ ?
संसार हुनु र संसारमा मानिस हुनु जत्तिको खुसी अरू केही लाग्दैन मलाई । यी दुईमध्ये एक नहुने हो भने अर्कोको के अर्थ रहन्थ्यो र ? मान्छेसँग मात्र प्रकृतिलाई बदलेर आपूm अनुकूल बनाउने कला छ । मान्छेले औजार बनायो, बनाइरहेछ । भाषाको निर्माण गर्‍यो । यो जत्तिको ठुलो उपलब्धि के नै छ र ? त्यसमा खुसी छ मलाई । तर, केही मान्छेले प्रकृतिका विरुद्ध आफ्नो बुद्धि प्रयोग गरिरहेछन् । संसारबिनाको मान्छे कहाँ कल्पना गर्न सकिन्छ र ? प्रकृतिलाई बदल्ने, परिमार्जन गर्ने र रूप परिवर्तन गर्ने काम त महत्वपूर्ण हो । तर, प्रकृति नष्ट गर्छु भन्नेहरू देख्दा भने एक किसिमको औडाहा हुन्छ ।

जीवनमा पहिलोपटक कसको मृत्युमा निकै रुनुभयो ?
सानो उमेर थियो, त्यस्तै पाँच वर्षको । घरमा एउटा चिनियाँ बिरालो थियो, निख्खर सेतो । प्रायः हामी बच्चाहरूसँग लुटपुटिइरहन्थ्यो । सँगै खान्थ्यो । कुन सड्को सिरकबाट घुस्रेर सँगै सुत्थ्यो पनि । म बिउँझिँदा खोकिलामै टाँसिइरहेको हुन्थ्यो ऊ । जाडोको बिहान थियो । ऊ मेरो ओछ्यानमा थिएन । खोजेँ घरभित्र कहीँ भेटिएन । साँझपख शरीर क्षतविक्षत अवस्थामा बारीको पाटामा मृत भेटियो उसलाई । बुबाले भन्नुभयो- चिलले ठुँगेर मारेको हुनुपर्छ उसलाई । छिमेकी दाइले गाडिदिनुभयो खाल्टामा । मर्ने भनेको सबै सकिने रहेछ भन्ने बुझेँ, त्यो देखेपछि म रोएँ बेस्सरी । निकै दिनसम्म रोइरहेँ ।

यो सारा संसार हुनु तर मान्छे नहुनु अथवा मान्छे हुनु यो सारा संसार नहुनु जस्तो परिस्थिति आयो भने के होला ?
संसार छ तर मान्छे छैन, यो अवस्थामा कसले बुझ्छ संसारको महत्व ? कसले पारख गर्छ सांसारिक सौन्दर्यको ? संसार हुनुको खासै महत्व बुझ्दैन कसैले । मान्छे छ तर संसार छैन भने कहाँ भेट्छ मान्छेले टेक्ने धर्ती, कहाँ हेर्छ उसले कतै पनि ? कहाँ भेट्छ उसले जीवनगति ?

अन्त्यमा, तपाईंको कुन आफ्नै बानी मन पर्दैन ?
मान्छे भेट्नेबित्तिकै विश्वास गर्छु । विश्वास गरेका सबैले स्वार्थरहित ढङ्गले काम नगर्ने रहेछन् । बाउबाजेबाट पाएको र आपूmले कमाएको सबै सम्पत्ति मेरै मुठीभित्र सधैँ रहनुपर्छ भन्ठान्छु । सम्पत्ति सधैँ आफ्नो मुठीमा बसिरहन सक्दोरहेनछ । म भइनँ भने कसरी चल्छ होला र सारा संसार भन्ने लाग्छ । तर, म हुनु र नहुनुमा खासै फरक मान्दोरहेनछ संसारले । यस्तो विश्वास र लोभ गर्ने बानी अहिले मलाई मन पर्न छोडेको छ ।