स्मृतिमा बीपी कोइराला

✍️ जयप्रकाशप्रसाद गुप्ता

आफ्ना केही साथीहरूका साथ परशुनारायण चौधरी चार/पाँच दिनअघि मात्र पञ्चायत पस्नुभएको थियो । उहाँले आफ्नो वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ राख्नुभएको थियो । यसका हस्ताक्षरकर्तामा यसअघि पञ्चायत पसेका केही मानिसहरू पनि थिए । परशुनारायण चौधरीको पञ्चायत पलायनको बडो ठूलो चर्चा थियो । आजको जस्तो सामाजिक सञ्जाल र मिडियाको विशाल संख्या त थिएन । तर, सरकारी सञ्चारमाध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्राथमिकता दिइराखे ।

जनमत संग्रहताकाको प्रचारका क्रममा काठमाडौंको टुँडिखेलको आमसभामा बीपी कोइरालाले मुलुकमा बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नुभएको थियो । त्यस सभाको मञ्चमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि रहनुभएको थियो ।

अप्रत्याशितरूपमा बीपीको यो भनाइ सुनेर कालो चस्मा लाउनुभएका गणेशमानजी मुसुक्क हाँसेको र किसुनजीले मञ्चको सिमेन्टेड भुइँमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिएँ । यो विषय उहाँहरूका बीचमा सुविचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन । यद्यपि बीपीको ठूलो विश्वास परशुनारायणका लागि मुखरित भएको थियो । बीपीको विश्वासमा रहेका यस्तो मानिस सुटुक्क पञ्चायत पसेको अवस्था थियो । यसर्थ बीपीको रोजाइका बारेमा पनि प्रश्न उठेको थियो ।

डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वरप्रसाद सिंह, बखानसिंह गुरुङ, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु चौधरीलगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी–यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए ।

परशुनारायणजीको पलायनका सम्बन्धमा बीपीको प्रतिक्रिया पनि जोसिलो र आलोचनात्मक थिएन । ‘नेपाली जनताले जुन कारणले परशुनारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन,’ यति थियो बीपीको प्रतिक्रिया । बिबिसीलाई बीपीले यतिमात्र भन्नुभयो । एमालेबाट वामदेव निस्किँदा ‘पिलो निचोरियो’ भनेर उबेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझैँ, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेरबहादुर देउवाजीले शेखर कोइरालाको विचारलाई इन्कार गरी सेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन क्यार !

कांग्रेसभित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्र-भित्र पञ्चायतसँग कुरा मिलाएर बीपीले परशुनारायणलाई पठाएका हुन् कि ? यस्तो आशंका गर्दै लेखेका थिए । तर, गम्भीर चर्चा के थियो भने बीपीको चयन प्रायशः गलत हुने गरेको छ । बीपीले साह्रै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन ।

बीपीको पार्थिव शरीरसँगै लेखक
डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वरप्रसाद सिंह, बखानसिंह गुरुङ, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु चौधरीलगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी-यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । प्रदीप गिरी कहिल्यै पञ्चायत पस्नुभएन तर विसं २०३०/०३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना गर्नुहुन्थ्यो । जबकि हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुन्धुकारी देखिएका थिए । यस्ता अनेकौँ प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि सहकर्मीको रोजाइमा बीपीमा बढी त्रुटि छ, यस्तो चर्चा खुब हुने गथ्र्याे ।

बीपी सन् १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनुहुँदा परशुनारायण र गिरिजाबाबु दुवैजनालाई पटना–काठमाडौंको हवाईजहाजमै उहाँले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनुभएको थियो । राष्ट्रिय मेलमिलापको नीतिका साथ लामो भारत प्रवासपछि विसं २०३३ सालमा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पन्थी, खुमबहादुर खड्काहरू काठमाडौं हवाई अड्डाबाटै गिरफ्तार गरिनुभएको थियो । केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान रिहा गर्ने सदासयता देखाउनुभएको थियो ।

उपचारपश्चात् बीपी पटना हुँदै नेपाल फर्किनुभयो र पुनः थुनामा राखिनुभयो । यसअघि पटनामा नेपाली कांग्रेसको सम्मेलन भएको थियो जहाँ बीपीले किसुनजीलाई पार्टीको कार्यबाहक सभापति बनाउनुभयो । यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट त्यस सम्मेलनमा सहभागी भएको थिएँ । यही बेला बीपीले शानेवानीको विमानमै बसी परशुजी र गिरिजाबाबुलाई महामन्त्री नियुक्त गरिएको एक सानो विज्ञप्ति कुनै सहयात्रीलाई दिनुभयो जो पछि सबैले थाहा पाए । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । फेरि लेखौँला । यसरी एकै पटक दुईजना महामन्त्री भएको सायद गिरिजाबाबुलाई त्यतिसारो मन परेको थिएन क्यार !

त्यस साँझ चाबहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशुजीको पलायनपछि शेख साहेबले बीपीका प्रति दह्रै भरोसा जनाउनुभएको थियो । बीपीले विशेष नेताहरूलाई भोजनमा बोलाउनुभएको थियो । खानाको अन्त्यमा बीपीले रुचिपूर्वक खिर खाँदै गर्दा चक्र बास्तोलाले कुरा उठाइहाल्नुभयो । यो कुरा फेरि गिरिजाबाबुको पनि रुचिको कुरा भएको थियो । त्यसैले बीपीले यसको जवाफ नपन्छाउनुहोस् भनेर गिरिजाबाबुले चक्रजीतिर उन्मुख हुँदै जिज्ञासा गर्नुभयो- के भन्नुभयो अरे चक्रजी ?

आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ । हुन त नेपालमात्र होइन, सबैतिर यही अवस्था छ । बडेमानका विश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ ।

बीपी, गिरिजाबाबु, सुशीलदा, शेख इद्रिस, वीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत र म पनि सबै चक्रजीका प्रति उन्मुख भयौँ । चक्रजी बीपीसँग सदैव निर्भिक रहनुहुन्थ्यो । गिरिजाबाबु सदैव थिचिएको ! चक्रजीले भन्नुभयो, ‘होइन सान्दाजु, परशुनारायणलाई त तपाईंले निकै पत्याउनुभएको थियो । उनले धोका दिए । तपाईंलाई शंका थिएन ? के पहिलेदेखि नै उनीप्रति तपाईंको विश्वास अडिग थियो र ?’

बीपीले चक्रजीलाई भन्दा पनि गिरिजाबाबुतर्फ मुखातिव हुँदै सोध्नुभयो, ‘गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट सुरु हुन्छ कि आशंकाबाट ?’ गिरिजाबाबुले संकोचका साथ भन्नुभयो, ‘म त लामो समयसम्म मानिसको परख गर्छु । सुरुमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु ।’ बीपीले सोध्नुभयो, ‘ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लीला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन् ?’

बीपीले थप्नुभयो ‘सोच्दै गर्नू । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहाँ हुन्छ र ? यो सर्वकालिक हुँदैन । मानिसको सोचलाई तात्कालिक परिस्थितिले निर्धारित गर्दछ । तात्कालिक परिस्थितिलाई भने उसको बाध्यता, प्रतिकूलतालाई बेहोर्ने क्षमता, लोभ र निःस्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोहीसँगको सम्बन्ध भने सुरुका दिनको विश्वास वा आशंकाका आधारमा सदैव निर्धारित भइरहँदैन । सबैले विस्तारै खिर सकेका थिए । मन मिठो भएको थियो तर यस संवादले भने सबैलाई, खासगरी बीपीबाहेक हामी सबैलाई उद्वेलित पारेको थियो ।

म त्यसबेला चाबहिलको बीपी निवासमै बस्थेँ । मेरो उबेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन । तर, बीपीले जे जवाफ दिनुभयो मेरा लागि आज पनि प्रश्नरहित नै छ । हो त, कोहीसँगको सम्बन्ध भने सुरुका दिनको विश्वास वा आशंकाका आधारमा सदैव निर्धारित भइरहँदैन । को कहाँ रहन्छ, को कहाँ पुग्छ तर ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ । आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ । हुन त नेपालमात्र होइन, सबैतिर यही अवस्था छ । बडेमानका विश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ । कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसँग त्यस नेताको सम्बन्ध विश्वासबाट सुरु हुन्छ कि आशंकाबाट ?

बीपीको आदर्श त मेरो मनमा छ तर मैले पनि मलाई पहिचान दिएको नेपाली कांग्रेसलाई छोडँे, अझ गिरिजाबाबुलाई छोडेँ । म स्वयंसँग पनि यसको जवाफ छैन कि म विश्वासयोग्य थिएँ कि नेताले मलाई पत्याएको बखत उनी धोकामा परे, म आशंकायोग्य थिएँ । जे होस्, यो मेरो इमानदार स्वीकारोक्ति हो कि साथ रहुन्जेल पूरै इमानदार थिएँ, भरोसायोग्य थिएँ । आज बीपीलाई सम्झिँदै छु । थोरै भेटेँ तर भरपूर सम्झना छ । जीवनका केही थोरै काल उहाँको वरिपरि बित्यो । त्यसमा म गर्व गर्दछु । बीपी स्मृति दिवसमा उहाँलाई हार्दिक श्रद्धाञ्जलि छ ।

  • जेपी गुप्ताको वालबाट (गुप्ता पूर्वमन्त्री हुनुहुन्छ ।)