व्रत-उपवास विचार

✍️ डा. नारायणप्रसाद निरौल

भौतिक शरीर आत्मिक शक्तिबाट चल्ने गर्दछ । शरीरमा अनन्त अदृष्ट शक्तिको प्रवाहले नै जीवन चल्ने गर्दछ । पाञ्चभौतिक शरीरमा अनेक प्रकारका शक्तिका आवश्यकता हुने गर्दछ । जसको प्राप्तिका लागि हामी अनेकौं उपाय अवलम्बन गर्ने गर्दछौं । यसमध्येको एक विधि व्रत हो । ‘वृञ् वरणे’ धातुमा ‘अतच्’ प्रत्यय लागेर व्रत शब्दको निर्माण हुन्छ (शब्दकल्पद्रुम) । जसको अर्थ उपवासादि पुण्यकर्म भन्ने हुन्छ ।

‘केचित्स्वकर्तव्यविषयो नियतः संकल्पो व्रतमिति’ (व्रतराज, पृ.२) अर्थात् कुनै कर्तव्य विशेषका निम्ति संकल्पपूर्वक गरिने कार्य नै व्रत हो भनी व्रतराजमा परिभाषा गरिएको छ । पूजा आदिको कर्म विशेष नै व्रत हो भनी धर्मसिन्धुमा बताइएको छ : ‘पूजाद्यात्कमः कर्मविशेषो व्रतम् ।’ (धर्मसिन्धु) यसैगरी प्रातःकालीन आहार नखाई स्नानपूर्वक शुद्ध भई भगवद् भक्तिमा लाग्ने कार्यलाई निर्णयसिन्धुले व्रत भनेको छ । विशेष विधि र नियमपूर्व आफ्नो अभीष्ट सिद्धिका निम्ति संकल्पपूर्वक गरिने कार्य विशेष नै व्रत हो ।

व्रतलाई फलिभूत बनाउनका निमित्त अपनाउनुपर्ने आचरण नियम विशेषलाई उपवास भनिएको छ । उपवास व्रतको साधन हो । अर्थात् भनौँ उपवासमा रही व्रतलाई परिपूर्णता दिइन्छ । व्रत र उपवास एक अर्काका परिपूरक हुन् ।

उपवासको अर्थ सबै दोषबाट मुक्त भएर सद्गुणको आश्रय लिनु हो । पापबाट निवृत्त भएर सद्गुणका साथ निवास गर्नुलाई उपवास भनिएको छ । उपवासमा कुनै पनि कुराको भोग हुँदैन । कुनै पाप कर्म पनि रहँदैन भनी कात्यायनले परिभाष गरेका छन् : ‘उपावृत्तस्य पापेभ्यो यस्तु वासो गुणैः सह । उपवास स विज्ञेयः सर्वभोग विवर्जितः।।’ (व्रतराज पृ. ९, कात्यायन वचन) । सबैप्रति दया, सहन भाव, अनिन्दा, पवित्रता, उदारता, मांगलिक कार्य र अनुचित इच्छाको त्याग नै गुणको आश्रय हो (व्रतराज, पृष्ठ ९ विष्णु धर्मोत्तर पुराणमा गौतम ऋषि वचन) ।

यसरी व्रतलाई फलिभूत बनाउनका निमित्त अपनाउनुपर्ने आचरण नियम विशेषलाई उपवास भनिएको छ । उपवास व्रतको साधन हो । अर्थात् भनौँ उपवासमा रही व्रतलाई परिपूर्णता दिइन्छ । व्रत र उपवास एक अर्काका परिपूरक हुन् । व्रत पनि नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका हुन्छन् । नित्य व्रतअन्तर्गत एकादशीव्रत, नैमित्तिक अन्तर्गत चान्द्रायण आदि व्रत पर्दछन् भने काम्यअन्तर्गत विशेष वरको कामना गरी तिथि, बार विशेषमा गरिने व्रत पर्दछन् ।

गुरु-शुक्र अस्त, बाल्य, वृद्ध भएका बेला र मलमासमा व्रत आरम्भ एवं उद्यापन निषेध गरिएको छ । ‘अस्तगे च गुरौ शुक्रे बाले वृद्धे मलिम्लुचे । उद्यापनमुपारम्भं व्रतानां नैव कारयेत ।।’ (व्रतराज, पृ.२) यसैगरी व्रत आरम्भका निम्ति तिथि उदित भएको हुनपर्दछ भनी हेमाद्रिमा बताइएको छ : ‘उदयस्था तिथिर्या हि न भवेदिनमध्यभाक् । सा खण्डा न व्रतानां स्यादारम्भश्च समापनम् ।।’ (व्रतराज, पृ.३ हेमाद्रिको वचन) । यसैगरी सोम, बुध, बिही र शुक्रबार व्रत आरम्भका लागि शुभ मानिएको छ । व्यतीपात, वैधृति, वज्र योग, अमावास्या, संक्रान्तिका दिन व्रत आरम्भ एवं समापन गर्नु हुँदैन (व्रतराज, पृ.३ हेमाद्रिको वचन) ।

कामना अनुसार व्रतका विधान पनि भिन्न-भिन्न हुने भएकाले व्रतका निम्ति उपयुक्त समय ज्योतिर्विद्को सल्लामा निर्धारण गर्नुपर्दछ । क्षय भएको तिथिका दिन व्रत आरम्भ गर्नुहुँदैन । व्रत धारण गर्ने व्यक्ति आफ्नो वर्णाश्रम आचार नियमको परिपालना गर्ने, शुद्ध चित्त भएको हुनु आवश्यक छ । यसैगरी सत्य बोल्ने, लोभ नगर्ने सबैलाई समान व्यवहार गर्ने पनि हुनुपर्दछ । अन्यथा व्रत विफल हुने स्कन्द पुराणको वचन छ : ‘निजवर्णाश्रमाचारनिरतः शुद्धमानसः । अलुब्धः सत्यवादी च सर्वभूतहिते रतः ।। व्रतेष्वधिकृतो राजन्नन्यथा विफलश्रमः ।।’ (स्कन्दपुुराणको वचन, व्रतराज पृ ५) ।

प्रातः स्नान पूर्वक सन्ध्योपासना गरी सूर्यलाई अघ्र्य दान गरेर विशेष संकल्पपूर्वक व्रतको आरम्भ गर्नुपर्दछ । यसरी व्रत आरम्भ गर्दा उत्तर मुख हुनुपर्ने पनि विधान पाइन्छ । (व्रतराज, पृ. ७) । दीप कलश गणेशजीको आहृवन पूजन पूर्वक व्रतलिने देवताको पनि विशेष पूजा गरेर व्रतारम्भ गर्न सकिन्छ । ‘अभुक्त्वा प्रातराहारं स्नात्वाचम्य समाहितः । सूर्यादिदेवताभ्यश्च निवेद्य व्रतमाचरेत् ।। क्षमा सत्यं दया दानं शौचमिन्द्रियनिग्रहः । देवपूजाग्निहवनं सन्तोषः स्तेयवर्जनम् । सर्वव्रतेष्वयं धर्मः सामान्यो दशधास्मृतः ।।’ (निर्णयसिन्धु पृ. १७) अर्थात् विहान खाना नखाई, स्नान र आचमन गरेर एकाग्र मनले सूर्यादि देवतामा व्रत गर्ने कुरा निवेदन गर्नुपर्दछ ।

व्रतका समयमा क्षमा, सत्यवचन, दया, दान, शौच, इन्द्रियसंयम, देवपूजा, होम, सन्तोषका साथै चोरी पनि गर्नु हुँदैन भनिएको छ । यी दशवटा व्रतका सामान्य नियम हुन् । यसैगरी व्रतको आरम्भदेखि समापनसम्म खण्डित पनि गर्नु हुँदैन । व्रत धारणा गरेर त्यसको नियम परिपालना पूर्णतः गर्नुपर्दछ । अन्यथा व्रतको फल प्राप्त हुँदैन । यदि कथं कदचित् यस्तो परिपालनामा अनजानमै त्रुटि भए प्रायश्चित गर्नुपर्दछ (व्रतराज, पृ.९) । पान खानु, मैथुन गर्नु दिनमा सुत्ने जस्ता कार्यले उपवासलाई भंग गर्दछन् (व्रतराज, पृ.१०, देवलस्मृतिको वचन) । यसैगरी बारम्बार दिनमा सुत्न, मैथुन गर्न, पान र मासु खान व्रतका दिन निषेध गरिएको छ : ‘असकृज्जलपानं च दिवास्वापं च मैथुनम् । तम्बूलचर्वणं मासं वर्जयेद्व्रतवासरे ।।’ (व्रतराज, पृ.१०, विष्णुधर्मोत्तर पुराणको वचन) ।

उपवासमा अन्न पनि निषेध गरिएको छ । (व्रतराज पृ.११) शुद्ध पवित्र फलाहार गरी व्रत बस्न सकिन्छ । जौको सातु उपवासमा उपयोग गर्न सकिन्छ । यसैगरी शाली धानको चामल, गहुँ, जल, दूध आदि वस्तुको उपयोग व्रतमा उत्तम मानिएको छ : ‘व्रीहिषष्टिकमुद्गाश्च कलायाः सलिलं पयः । श्यामाश्चैव नीवारा गोधूमाद्या व्रते हिताः ।।’ (अग्निपुराण) यसैगरी फल, कन्दमूल, घ्यू, दही, महलाई पनि व्रतका निम्ति शुद्ध मानिएको छ । उपवासमा पनि महिलाहरूले शृंगार र दतिवन गर्नु हुन्छ ।

व्रत बसेको समयमा रजस्वला भए उपबास बस्नु हुन्छ तर आफैँले पूजा भने गर्नु हुँदैन भनी मनुस्मृतिमा बताइएको छ : ‘प्रारब्धदीर्घतपसां नारीणां यद्रजो भवेत् । न तत्रापि व्रतस्य स्यादुपरोधः कदाचन ।।’ (मनुसमृति) यसैगरी उक्त व्रत सम्बद्ध पूजा अरूद्वारा गराउनु हुन्छ भनी मत्स्य पुराणमा उल्लेख पाइन्छ : ‘अन्तरा तु रजोयोगे पूजामन्येन कारयेत् । उपवासत्रयं कुर्यान्नात्र कार्या विचारणा ।।’ (मत्स्यपुराण) आरम्भ गरिएको व्रत कुनै कारणले छुट्यो भने गोदान गरेर पुनः व्रत धारण गर्नुपर्दछ । ‘समारम्भे व्रते पश्चाद् व्रतभङ्गो भवेद्यदि । गोदानं च ततः कृत्वा पुनव्र्रतमतश्चरेत् ।।’ (कृत्यशिरोमणि) ।

जीवनमा सर्वकल्याण चाहनेले शिवजीको, मंगल चाहनेले गणेशजीको, दाम्पत्य सुखका निम्ति लक्ष्मीनारायण भगवान्को, शक्ति प्राप्तिका निम्ति भगवती दुर्गा देवीको व्रत धारण गर्नुपर्दछ । कामना अनुसार भिन्न-भिन्न देवी देवताको व्रध धारण गर्न सकिन्छ । व्रतका निम्ति उपवास एक अभिन्न अंग हो । व्रतको पूर्णताका निम्ति उपवासको आवश्यकता हुन्छ । संकल्प पूर्वक गरिएको व्रतको विशेष फल बताइएको छ ।

हरेक दिन कुनै न कुनै देवताको व्रत पर्ने गर्दछ । अभीष्ट कामना सिद्धिका निम्ति कुन देवताको व्रत धारण गर्ने सो अनुसार व्रत आरम्भ गर्ने तिथि मिति निर्धारण हुने गर्दछन् । सूर्य भगवान्को आइतबार व्रत धारण गर्न सकिन्छ । यसैगरी सूर्यको व्रतका निम्ति रविसप्तमी अझ उत्तम मानिन्छ । यसैगरी सोमबार शिवजीको व्रत धारण गर्न सकिन्छ । मंगलबार गणेश एवं हानुमानको व्रतोपवास शुभ रहने गर्दछ । यसैगरी बुधबार विष्णु भगवान्को, बिहीबार दुर्गा देवीको शुक्रबार इन्द्रायणी भगवतीको, शनिबार भैरव एवं शिवजीको व्रतका निम्ति उत्तम मानिएको छ । यसैगरी मंगलबार चतुर्थी तिथि परेका दिन गणेशजीको व्रत उपासना शुभ रहने गर्दछ ।

देवीको उपासनाका निम्ति चैत्र शुक्ल नवरात्र उत्तम समय हो । नागदेवताको उपासनाका निम्ति पञ्चमी तिथि शुभ मानिन्छ । कुमार कार्तिकेयको उपासना षष्ठी तिथिमा हुने गर्दछ भने एकादशीमा भगवान् विष्णुको उपासना शुभ रहन्छ । श्रावण शिवजीको प्रिय महिना हो ।

देवीको उपासनाका निम्ति चैत्र शुक्ल नवरात्र उत्तम समय हो । नागदेवताको उपासनाका निम्ति पञ्चमी तिथि शुभ मानिन्छ । कुमार कार्तिकेयको उपासना षष्ठी तिथिमा हुने गर्दछ भने एकादशीमा भगवान् विष्णुको उपासना शुभ रहन्छ । श्रावण शिवजीको प्रिय महिना हो । यसैगरी पर्व विशेषका पनि व्रत हुने गर्दछन् । जस्तै रामनवमीमा भगवान् श्रीरामको, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण भगवान्को, शिवरात्रिमा शिवजीको, व्रधारण गर्न सकिन्छ । यसरी व्रत धारण गरेपछि यसको उद्यापन पनि अनिवार्य गर्नुपर्दछ । उद्यापन भनेको व्रतको समापन हो । व्रत उद्यापनले व्रतलाई पूर्णता दिन्छ । उद्यापनमा अग्निस्थापना विधिद्वारा हवन, तद् देवताको विशेष हवन पूर्णहुतिका साथै दानादि कार्य हुने गर्दछ ।

हामी शक्तिका उपासक हौँ । जुन अदृष्ट हुन्छ । अध्यात्मको साधनाबाट शक्ति प्राप्त हुन्छ । यसैगरी आध्ध्यत्मिक शक्ति प्राप्त गर्ने विधि व्रत उपासना हुन् । शक्तिआर्जनले नै हाम्रा मनोकामना पूर्ण हुने गर्दछन् । व्रतलाई परिपूर्ण गर्न उपवास र उपासना आवश्यक हुन्छन् । उपवास साधन हो भने व्रत साध्य हो । उपासना ईश्वर प्रतिको प्रार्थना हो । जसले यो लोकको भुक्तिका साथै पारलौकिक मुक्ति पनि प्रदान गर्ने कुरा धर्मशास्त्रमा वर्णन पाइन्छ । आत्मिक शक्तिको उदय गरी अभीष्ट सिद्धिका निम्ति व्रत-उपवार बस्ने गरिन्छ ।