कृषिमा आधारित उद्योगहरुको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताउनु भयो । अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०/६० वर्ष अगाडी हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडी होइन पछाडी गएको देखिनु ठूलो चुनौती हो । त्यसकारण हामीले हामीसँग भएको जलको सहि सदुपयोग गर्ने, पर्यटनको विकासको निम्ति हामीले आवश्यक सबै पूर्वाधारको विकास गर्ने कुरा वा जडिबुटी र खनिजको विकास गर्ने कुरा त छँदैछ । तर रणनीतिक रुपमा, दिर्घकालिन नेपाल र नेपालीको हीत हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ । हाम्रो निम्ति आवश्यक छ । म तपाई सबै साथीहरुको यतापट्टी विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । र तपाईहरु यसमा चिन्तन, मनन गर्नुहोस् ।’

उहाँले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताउनु भयो । अध्यक्ष दाहालले धन, सम्पती कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पती आर्जन गर्न युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताउनु भयो ।

 

देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छः अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज यहाँ शिलान्यास गर्नुहुँदै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।” भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणले अहिले रु १६ अर्ब नाफा गरेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक रु १० करोडदेखि रु १२ करोडसम्म बिजुली बेचिरहेको उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले परियोजनाका कारण नगरवासीलाई गुणस्तरीय सेवा दिन सहज हुने बताउनुभयो । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । ठेक्काको रकम रु दुई अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ ।

भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा बिद्युत भूमिगत गर्न लागिएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस

चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौं : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताउनु भएको छ ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताउनु भयो ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उहाँले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताउनु भयो ।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उहाँले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गर्नुभयो ।

पार्टीभित्रैका नेताहरू मिलाउनै सकस : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैभन्दा ठूलो चुनौती नेताहरूलाई मिलाउनमा भएको बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु ।’ प्रचण्डले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा आफूहरूले ५० भन्दा बढी स्थान गुमाउनुपरेको जिकिर गर्नुभयो । आफूलाई सबैभन्दा ठूलो चुनौती नेताहरू मिलाउनमा भएको भन्दै उहाँले भन्नुभयो, ‘नेताहरू मात्र मिलाउन सक्ने हो र एकढिक्का भएर यो पार्टीलाई नेतृत्वमा स्थापित गर्ने भन्ने हो भने जनतामा दुःख छैन ।’

तराई मधेशमा हजारौँ पार्टी प्रवेश गरिरहँदा आफ्नै पार्टीका नेताहरू तँछाडमछाड गरेर बसेको उहाँको आरोप थियो । उहाँले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

जनतामा माओवादीप्रति आशा र भरोसा नटुटेको तर केही नेताहरूमा पार्टी नेतृत्वप्रतिको विश्वास धर्मराएको अध्यक्ष प्रचण्डको भनाइ थियो । प्रचण्डले संविधान रक्षाका लागि बनेको सत्ता गठबन्धनलाई अघि बढाएर मुलुकको परिवर्तनलाई थप विकसित गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

अध्यक्षमा पुन
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसअघि प्रतिष्ठानको अध्यक्षमा गोरखाका हितराज पाण्डे हुनुहुन्थ्यो ।

प्रतिष्ठानको उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर-१ का प्रतिनिसिधसभा सदस्य एवं माओवादी पोलिटब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन हुनुभएको छ ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत (नेकपा माओवादी)का उपाध्यक्ष हुुनुहुन्थ्यो । उहाँको ६१ वर्षको उमेरमा २०७१ भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर-३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री हुनुभएको थियो । बोगटीको नाममा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।