एमाले बैतडीले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरुको टुङ्गो लगायो

-डम्बर बोहरा
बैतडी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि दामोदर भण्डारीलाई उम्मेदवार बनाउने सहमती भएको हो । भण्डारी वर्तमान प्रतिनिधी सभा सदस्य पनि हुनु हो ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष समेत रहनुभएको छ । गएको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका भण्डारीले ३९ हजार ५ सय २४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका नरबहादुर २८ हजार २ सय ९१ मत ल्याउनु भएको थियो । उहाँ दोश्रो संविधान सभाको निर्वाचनमा पनि विजयी हुनु भएको थियो ।
प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभा लागि पनि उम्मेदवारको टुङ्गो लगाएको छ । क्षेत्र नं (क) बाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाल र क्षेत्र नं (ख)बाट लिलाधर भट्टलाई उम्मेदवार बनाउने सहमती भएको छ । लिलाधर भट्ट वर्तमान प्रदेश सभा सदस्य समेत हुनु हो । उहाँले २०७४ निर्वाचनमा २० हजार ३ सय ३७ मत प्राप्त गरेर विजयी हुनु भएको थियो । उहाँका प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २ सय ४७ मत ल्याउनु भएको थियो ।

तीनै जनाको नाम प्रदेश तथा केन्द्रमा सिफारिश गर्ने सहमती भएको नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । सर्बसहमतीमा उम्मेदवारको नाम सिफारिस गरिएको हुनाले संघबाट उहाँहरुको नै नाम आउने उपसचिव भण्डारीले बताउनु भयो । बिहिबार साँझ बसेको बैठकबाट बैतडीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुको टुङ्गो लगाएको हो । एमालेले २२ गते भित्र जिल्ला र क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाउन निर्देशन दिएको छ ।

अवैध संरचना हटाउने महानगरको अभियानमै छु: सुनीता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुँनीता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिनुभएको छ ।

पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृतविपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उहाँको भनाइ छ ।

यस विषयमा उपमेयर सुनीता डंगोलले जारी गरेको अपिल

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो ।

म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु । तर, केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ ।

पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन । यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।

यस्ता छन् एमाले केन्द्रिय कमिटी बैठकका निर्णयहरु…..

काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ ।

शनिबार सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने निर्णय गरेको हो । सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।

उहाँका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ । एमालेले उम्मेदवार छनौटको मापदण्ड पनि तय गरेको छ । पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनु भयो । एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले भन्नुभयो, ‘आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस प्रक्रिया र उम्मेदवारहरुको छनौंटको मापदण्ड देहाय बमोजिम हुनेछ ।

जिल्ला सम्बन्धित क्षेत्रको क्षेत्रीय कमिटीले सम्बन्धित क्षेत्रको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने, प्रदेशसभा निर्वाचनको उम्मेदवार पनि सोहीअनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गर्ने । गरिएको सिफारिसमा सम्बन्धित कमिटीको अन्य राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्ने । सिफारिसमाथिको अन्तिम निर्णय केन्द्रले गर्ने । प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका, कम्तिमा एक जना महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्ने । स्मरणीय छ सिफारिस, सिफारिस मात्रै हो । अन्तिम निर्णय होइन । निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न मिल्दैन । समानुपातिकका लागि बन्दी सूचिको उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुुलन, समावेशीता र अवसरको न्यायोजित वितरणलाई समेत ध्यानमा राखि सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने । उक्त सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्तिम कुनै राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्ने । स्मरणीय छ–केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिक तहको निर्णयमा पुनर्विचार गर्न सक्छ । उम्मेदवार सिफारिस गर्ने अन्तिम मिति २०७९ भदौं २२ गते हुनेछ । तसर्थ सम्बन्धित कमिर्टीहरुले सोही अनुसार सिफारिस प्रक्रिया आरम्भ गरिसक्नु पर्नेछ । उम्मेदवारको छनौंट मापदण्डः पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ । समानुपातिक मत भनेको व्यक्तिको लोकप्रियताबाट प्राप्त हुने मत हो । यसमा सिंगो पार्टी पंक्तिको योगदान रहेको हुन्छ । समानुपातिक मत सामूहिक कमाई हो । तसर्थ, समानुपातिकतर्फको बन्दसूचि तयार गर्दा सबै मिलेर कमाउने र दामासायीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिनु पर्दछ । दामासायी वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण हो । त्यसैले समानुपातिकको कुनै पनि निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एक चोटी अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकहरुलाई आम रुपमा दोहो-याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणाली अपनाउनुपर्छ । स्थानीय तह वा अन्य कुनै पनि तहका बहालवाला जनप्रतिनिधिलाई राजीनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार सिफारिस आम रुपमा गर्नु हुन्न । यहाँ पनि अवसरको न्यायोचित वितरणको पक्ष आकर्षित हुन्छ । पछिल्लो पटक भएको कुनै पनि निर्वाचनमा पराजित उम्मेदवारहरु कसैलाई पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनु उपयुक्त हुन्न । तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखेर अन्य पार्टीबाट प्रवेश गराइएकाको हकमा विशेष निर्णय लिन उपयुक्त हुन्छ । प्रत्यक्ष निर्वाचित हुने क्षेत्रमा कतिपटक उम्मेदवार बन्नेभन्ने तर्फ व्यवहारिक हुन्न । त्यहाँ पार्टीको जनाधार मात्रै होइन । निर्वाचन दाउपेच, आवश्यक्ता र नेतृत्वको पक्षलाई पनि ख्याल गरिन्छ । जित्ने सम्भावना बढि र संसदीय भूमिका प्रभावकारी भएकाहरुलाई नै उम्मेदवार बनाईन्छ । यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो । त्यसैले पार्टीले नेता, कार्यकर्ता, आम समर्थक, शुभचिन्तकहरुमा रहेको जन अनुमोदित हुन प्रतिस्पर्धामा सामेल हुने चाहनालाई स्वभाविक मान्दछ । र, प्रोत्साहित पनि गर्नु पर्दछ । तर केहीमा मात्रै रहेको म मात्रै जित्छु, मै मात्रै योग्य छु भन्ने कुरा अहिलेको चुनौतिपूर्ण समयमा उपयुक्त होइन । तसर्थ, हामी सबैले म भन्दा लोकप्रिय कमरेड को हो भनेर खोजी गर्न आवश्यक छ । निर्वाचन आधारित कमिटी संचालन र योजना । आसन्न निर्वाचनलाई ध्यानमा राखि युवा केन्द्रित निर्वाचन परिचालन कमिटी बुथ कमिटी गठन गर्ने । यस कमिटीमा खासगरी अनेरास्ववियू, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघ, जिफन्ट, भूपू संनिक संघ, प्रहरी संगठनका युवाहरु रहेको १५ देखि २५ जनासम्मको कमिटी संचालन निर्माण गर्ने । स्थान र सक्रियता हेरी अन्य जनसंगठनका प्रतिनिधिहरुलाई पनि यसमा सामेल गर्ने । पार्टी केन्द्रले विशेष पार्टीको परिभाषित काम तोकेका बाहेक विभागीय र जनसंगठनको जिम्मेवारीमा रहेका कमरेडहरु सम्बन्धित भूगोलकै निर्वाचन परिचालनमा केन्द्रित रहने । पार्टीलाई बहुमतमा पु¥याउन आवश्यक मत वृद्धिका लागि अव हरेक पार्टी सदस्यले नयाँ २ भोट थप्ने, ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने ।

स्थानीय तह निर्वाचनको छानवीन कार्यदलले विभिन्न व्यक्तिहरुको बारेमा परेको उजुरी र यसमाथिको छानवीन कार्य दलको कामको बारेमा संयोजक उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकलाई जानकारी गराउनु भयो । कार्यदलको काम नसकेसम्म काम जारी रहने कुरा जानकारी गराउन चाहन्छु । दोहोरिएका सदस्यको व्यवस्थापन ।

अहिले संगठन विभागले सदस्यहरुको विवरण अध्यावधिक गरिरहेको छ । यसक्रममा करिव ५२ हजार ५ सय ५० जना सदस्यहरुको नामा दोहोरिएको भेटिएको छ । यसलाई व्यवस्थित नगर्दा दोहोरिएका सदस्यहरुमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम गर्ने र बाँकी सदस्यहरुलाई विशेष नम्बर दिने ।

एमालेले निर्वाचन परिचालनमा युवाहरुलाई समेटने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ । अनेरास्ववियू, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघका आवद्ध युवाहरुलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको एमालेले जनाएको छ । बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनु भयो ।

गुरुङका अनुसार बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानवीन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो । त्यसैगरी पार्टीको केन्द्रिय अनुशासन आयोग, केन्द्रिय सल्लाहकार परिषद, लेखा आयोगले पनि बैठकमा आ–आफ्नो कामको प्रगतिविवरण बैठकमा प्रस्तुत गरेको थियो ।

एमाले केन्द्रीय कमिटीको निर्णय : समानुपातिकबाट सांसद भैसकेकालाई नदोहोर्याउने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिक रुपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरुपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो।

बैठकको पहिलो निर्णयमा पार्टी अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नौ वटा अलग अलग समूहले छलफल गरेको र उक्त छलफलबाट प्राप्त उपयुक्त सुझावलाई अध्यक्षले मनन् र प्रस्तुत गरि पारित गरेको छ ।

दोस्रो निर्णयमा केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय अनुशन्धान आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगको अध्यक्षले आ–आफ्नो आयोगको काम र अपेक्षाको बारेमा जानकारी दिनुभयो । बैठकले उक्त जानकारी ग्रहण गरेको छ ।

यस्तै, आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बारेमा उम्मेदवार मापदण्ड र सिफारिससम्बन्धी व्यवस्था तय गरेको छ । जिल्ला समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गर्ने, एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यही रितमा प्रदेशसभा सदस्य उम्मेदवारको पनि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । निर्वाचनका लागि उम्मेद्वारहरुको सिफारिस प्रक्रिया २२ भदौभित्र टुङ्ग्याउने निर्णय पनि भएको छ । बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेद्वार सिफारिस प्रक्रियाको काम सक्ने निर्णय पनि गरेको एक नेताले बताए । बैठकमा अध्यक्ष केपी ओलीले २० भदौभित्र उम्मेदवारसिफारिस सकेर अन्तिम छनौट गर्ने प्रस्ताव गर्नुभएको थियो ।

हाल समानुपातिबाट सांसद रहेका पार्टी नेतालाई दो-याउन नहुने निर्णय पनि गरेको छ । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणनली लागु गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । यस्तै, स्थानीय तह वा कुनै पनि तहका वहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा सहभागी गर्नु नहुने र यहाँ पनि अवसरको न्यायोचित वितरण आर्कषित हुने बैठकले निर्णय गरेको छ ।

पछिल्लो पटकको कुनै पनि तहको निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई पनि अबको निर्वाचनमा उम्मेदवार बनाइनु नहुने उहाँले बताउनु भयो । तर, जनाधार भएका र अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूका हकमा भने यो निर्णय उपयुक्न नहुन सक्छ । तर, प्रत्यक्षतर्फ भने यो निर्णय लागु नहुनसक्छ ।

बैठकले एक पार्टी सदस्य बराबर दुई मतदाता थप्ने योजनासहित सबै टोल टोलमा भेला गर्ने र हरेक घरमा एक सदस्य विस्तार अभियानसहित चुनावी अभियान चलाउने निर्णय पनि गरेको छ । स्थानीय तहमा प्राप्त ३४ प्रतिशतलाई ५० प्रतिशत पुर्याएर बहुमत ल्याउनेगरी एमालेले मजत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ ।

सरकारविरुद्ध नेकपा एमालेले आज बृहत् जनप्रदर्शन गर्दै, महँगी र भ्रष्टाचार मुख्य एजेण्डा, सहभागी हुन सर्वसाधारणलाई आहृवान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको र चौतर्फी भ्रष्टाचार बढेको भन्दै एमालेले विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा एमालेका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महँगीविरुद्ध साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको थियो । जनप्रदर्शनमा उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पार्टीका कमिटी, जनसंगठन परिचालन हुने जनाइएको छ । राजधानी काठमाडौंको वसन्तपुरबाट सुरु हुने जनप्रदर्शन ¥यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने एमालेले जनाएको छ । र्‍यालीले सहरका विभिन्न ठाउँको परिक्रमा गर्ने बताइएको छ । एमालेले बृहत् जनप्रदर्शनमा आम-सर्वसाधारणलाईसमेत सहभागिताका लागि आह्वान गरेको छ । यसअघि पनि एमालेका जनवर्गीय संगठनहरूले मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै आएका थिए ।

सरकारका गलत काम कारबाहीविरुद्ध खरो रूपमा उत्रिन अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका गलत काम कारबाहीविरुद्ध खरो रूपमा उत्रिन निर्देशन दिनुभएको छ । पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको पार्टी केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार जनविरोधी रहेको, जनताका विरुद्धमा गएर काम गरिरहेको र सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै गलत कामका विरुद्धमा डटेर लाग्न निर्देशन दिनुभएको हो । सबै विभागहरूलाई विषय केन्द्रित भएर सक्रिय हुन निर्देशन दिँदै अध्यक्ष ओलीले बैठकमा भन्नुभयो, ‘विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्नुस् । सरकारका गलत कामकारबाहीविरुद्ध खरो रूपमा उत्रनुस् ।’

अध्यक्ष ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न पनि निर्देशन दिनुभएको छ । समन्वय नगरी आफ्नै ढंगले चले परिणाम नआउने बताउँदै ओलीले भन्नुभयो, ‘कतिपय विभागबीच समन्वय गरेर काम गर्नुपर्ने हुन्छन् । ती काम समन्वय गरेर मात्रै गर्न तथा आ-आफ्ना विभागले गर्नुपर्ने कामको कार्ययोजनासहित तीव्र गति बढाउनुस् ।’

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सरकारले प्रतिपक्ष दलसँग सल्लाह नगरेको गुनासो
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि विषयमा सल्लाह नगर्ने र प्रमुख प्रतिपक्षले सोधेको प्रश्नको उत्तर नै नदिने गरेको गुनासो गर्नुभएको छ । नेपाल निजामती कर्मचारी संगठनले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिकता विधेयक, निजामती ऐन, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव जस्ता विषयमा सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि छलफल नगरेको गुनासो गर्दै भन्नुभयो, ‘फुल हाउसले महाभियोग समितिलाई काम नदिई सदन स्थगित भएकाले प्रधानन्यायाधीशजी झुण्डेका झुण्डै हुनुहुन्छ निलम्बन । अर्को एकजना मित्र कार्यवाहक हुनुहुन्छ कति गम्भीर कुरा हो यो ? प्रधानन्यायाधीशमाथि छानबिन गर्न संसद्ले समिति बनाए पनि समितिलाई काम दिइएको छैन । प्रमुख प्रतिपक्ष के गरेर बसेको छ ? भनेर प्रश्न उठ्ने गरे पनि चुप लागेर भने बसेका छैनौँ ।’

एमाले पार्टी कार्यालयमा खीर पार्टी
साउन १५ को अवसर पारेर नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । साउन १५ मा खीर खाने दिनको परम्परा कायम राख्नको लागि कार्यक्रम आयोजना गरिएको एमाले संस्कृति विभागका प्रमुख रघुजी पन्तले जानकारी दिनुभयो । नेकपा एमालेको साहित्य कला तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका नेताहरू र कला, साहित्य क्षेत्रका स्रष्टाको उपस्थिति थियो ।

राखीमा राजनीति भएको टिप्पणी
पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई जनै पूर्णिमाको दिन राखी बाँधिदिएको तर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको टिप्पणी गर्नुभयो । चाडपर्वमा पनि राजनीति हुन थालेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘थाहा पाउनुभयो होला–इन्टरनेसनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो । जेहोस् राखीले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध, दसैँले सम्पूर्ण नातागोताको सम्बन्ध । छठजस्ता चाडहरू, तिजजस्ता चाडहरू, गौराजस्ता पर्वहरू यस्ता पर्वहरूले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउँछ ।’ गत वर्ष जनै पूर्णिमाको दिन कांग्रेस नेतृ आरजू राणा देउवाले भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर राखी बाँधिदिनु भएको थियो । त्यसयता चौथाइवालेको निमन्त्रणामा आरजू देउवाले पटक–पटक भारतको भ्रमण गरिसक्नु भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, संस्कृतिविद् जगमान गुरुङ, कलाकार किरण मानन्धरलगायत उपस्थित रहनुभएको थियो । नेपाली समाजमा असार १५ मा दही चिउरा, साउन १५ मा खीर तथा जनै पूर्णिमामा क्वाँटी खाने चलन छ । झरीको बेला मरमसला प्रयोग गरेर बनाइएको खीरले शरीरमा चिसो लाग्न नदिने विश्वास गरिन्छ ।

सत्तारूढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : पौडेल
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री विष्णु पौडेलले सत्तारूढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताउनुभएको छ । यो गठबन्धनलाई मुलुकको चिन्ताभन्दा पनि सत्ता कसरी जोगाउने ? भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उहाँले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताउनुभयो । मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । ‘सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महँगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ’, उहाँले भन्नुभयो, ‘तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।’ उहाँले मुलुकलाई सही दिशानिर्देश गर्ने र ठिक ढंगले नेतृत्व गर्ने पार्टी एमालेबाहेक अरू नभएको दाबी पनि गर्नुभयो । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेथितिले पनि एमालेबाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि बताउनुभयो ।