मधेश पहाड सबैतिर डेंगु, लुम्बिनीमा तीन जनाको मृत्यु, २७०८ मा संक्रमण

-चन्द्रकान्त खनाल

बुटवल । रूपन्देहीमा पछिल्लो दुई तीन महिनायता डेंगुको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। सङ्क्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै सङ्ख्यामा बढिरहेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहने बताउनु भयो।

लुम्बिनीमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएको र २ हजार ७ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताउनु भयो। उहाँले अझै २ महिना सचेत रहन आग्रह गर्नु भयो ।

अहिले संक्रमणको दर केही घटे पनि डेंगुको प्रकोप रहने भएकाले डेंगु रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु नै हो । मन्त्रालयले महामारी रोग नियन्त्रणको लागि केही रकम विनियोजन गरेको छ र स्वास्थ्य कार्यालयबाट खर्च हुँदै आएको डा। देवकोटाले बताउनु भयो। डा. देवकोटाले लुम्बिनीमा डेंगुका बिरामीका लागि उपचार गर्ने अस्पतालमा बेड अभाव नरहेको बताउनुभयो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेशमा यो वर्ष अहिलेसम्म २ हजार ७०८ जना डेंगु संक्रमित रहेको बताउनु भयो। दाङमा १ हजार १८०, रूपन्देहीमा ७०० , अर्घाखाँची १३८ , गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४ , कपिलवस्तुमा ४९ ,बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ , प्यूठानमा ३६ जना सङ्क्रमित रहेको बताउनु भयो।

अहिले दैनिक रुपमा ४० जना नयाँ संक्रमित थपिदै गएको र १३ जना प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको बताउनु भयो। प्रवक्ता पौडेलले पछिल्लो दिनमा सङ्क्रमितको संख्या घट्दै गएको बताउनु भयो । उहाँले पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको वताउनु भयो।

मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूषको त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिलाको र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको प्रवक्ता डा. पौडेलले बताउनु भयो।

डेंगु संक्रमितसम्बन्धी सरकारले दिएको तथ्याङ्क अधुरो छ किनकी यसमा सरकारी अस्पतालको तथ्याङ्क मात्र समावेश छ । निजी क्लिनिकमा उपचार गर्नेहरूको तथ्याङ्क पाउन नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले खोज र नष्ट अभियान पालिकाहरूमा चलाएको बताउनु भयो । उनले रूपन्देहीमा ७ सय डेंगुबाट संक्रमित रहेको बताउनु भयो । उहाँका अनुसार बुटबल उपमहानगर, तिलोत्तमा, देबदह, सैनामैना, सिदार्थनगर, तथा अन्य गाउँपालिकामा खोज नष्ट अभियान चलाएको बताउनु भयो। उहाँले बुटबलका केही बढी डेंगु देखिएका ठाउँमा स्प्रेसमेत गरिएको बताउनु भयो। पानी परिरहेकोले लामखुट्टेको वृद्धि हुने मौसम अझैपनि बाँकी रहेको उहाँले बताउनु भयो।

प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले डेंगु रोग नियन्त्रणमा सबै नागरिकको दायित्व रहेको बताउँदै उपचारमा औषधीको कमी आउन नदिने बताउनु भयो । डेंगु नियन्त्रणको लागि सामुदायिक स्तरमा नै खोज र नष्ट गर्नेसँगै जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो।

चिकित्सक के भन्छन्

लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन चिकित्सक नन्दु पाठकले असार महिनादेखि नै अस्पतालमा संक्रमित आउने गरेको बताउनु भयो। साउन र भदौको दोश्रो साता पछिका दिनमा संक्रमित थपिएको बताउनु भयो। डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो। उहाँले यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो। यसभन्दा बाहेक पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने, राती र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउने-झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने गर्नु पर्ने डा पाठकले बताउनु भयो।

सरकारीमा निःशुल्क परिक्षण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी अस्पताललाई डेँगुको किट उपलब्ध गराउने स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले सरकारी स्वास्थ्य संस्थामा किट सरकारले उपलब्ध गराउने बताउनु भयो । प्रदेशका सबै सरकारी अस्पतालमा यो निशुल्क परिक्षण हुने शाहले बताउनु भयो। बुटबलमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाले १५ सय रुपैयाँसम्म डेंगु परिक्षण गरेको शुल्क लिएको बताईएको छ। भेक्टर कन्ट्रोल निरीक्षक शाहका अनुसार डेंगु परिक्षणको किट किन्न कम्पनी अनुसार मूल्य पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई कसैले उजुरी गरेको छैन तर निजी क्लिनिकले १५ सयदेखि २ हजार सम्म लिएको भन्ने हल्ला छ।

नेपालमा सुरुमा २००५ मा प्रारम्भिक केसहरू पत्ता लागेको थियो त्यसपछि २००६ र २०१० मा पनि छिटपुट प्रकोप देखा परेको सरकारको तत्याकमा उल्लेख गरिएको छ। सुरुमा रिपोर्ट गरिएका धेरैजसो केसहरू छिमेकी देश भारतको यात्रा इतिहास भएका छन्, तर नेपालमा २०१२मा १८३ जनामा पुष्टि डेंगु पुष्टि भएको सरकारको तथ्याङ्क रहेको छ।

डेंगु ज्वरोका लक्षण

– ज्वरो आउने

– बेस्सरी टाउको दुख्ने

– आँखाको गेडी दुख्ने

– शरीरमा डाबरहरू आउने

– अरुचि हुने

– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने

– पेट तथा आन्द्रामा गडबडी हुने

केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

लमजुङमा दुई महिनामै १० जनामा डेंगु संक्रमण

लमजुङ । लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेंगु संक्रमित देखिएका छन् ।

गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो ।

डेंगुबाट बेंसीसहर नगरपालिकाका ४ जना, राइनास र सुन्दरबजार नगरपालिकाका २/२ जना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण देखिएको छ । यसमा ७ महिना, १ वर्ष र ५ वर्षकादेखि ६० वर्षसम्मका छन् । ५ पुरुष र ५ महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेंगु देखिएको हो ।

हेटौँडामा डेङ्गु फैलँदै, ७५० भन्दा बढी सङ्क्रमित

-प्रकाश दाहाल

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुर गढी, थाहा नगरपालिकालगायतका क्षेत्रमा डेङ्गु देखिएको हो। बुधबारसम्म मकवानपुर जिल्लामा सात सय ५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ। रोग पहिचान हुने बित्तिकै उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्।

केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ मा बढी डेङ्गु रोगका बिरामी फेला परेका छन्।

हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगरको १ देखि १९ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने, सरसफाइ गर्ने कार्य गरिरहेको मेयर मिना लामाले बताउनुभयो। यसका लागि आवश्यक स्वास्थ्यकर्मीलाई १० खटाइएको छ भने डेङ्गु परीक्षणका आवश्यक कीट पनि अस्पताललाई उपमहानगरपालिकाले उपलब्ध गराएको छ। डेङ्गुको परीक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो।

डेङ्गुको परीक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी हेटौंडा ४ मा २८८ जना डेङ्गुबाट सङ्क्रमित भएका छन्। हेटौंडा १ मा, ४९ जना, हेटौंडा २ मा ५१ जना, हेटौंडा ३ मा १७ जना, हेटौंडा ५ मा ८९ जना, हेटौंडा ६ मा ११ जना, हेटौंडा ७ मा ६ जना, हेटौंडा ८ मा ३८ जना, हेटौंडा ९ मा ३९ जना सङ्क्रमित भएका छन्। यसैगरी हेटौंडा १० मा ६१ जना, हेटौंडा ११ मा २७ जना, हेटौंडा १२ मा १४ जना, हेटौंडा १३ र १६ मा ४/४ जना, हेटौंडा १४, १७ र १९ मा ५र५ जना, हेटौंडा १५ मा ३ जना, हेटौंडा १८ मा १ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर प्रवक्ता लक्ष्मण घिमिरेले जानकारी दिनुभयो। यस्तै मनहरी गाउँपालिकामा ५ जना, मकवानपुर गढी गाउँ पालिकामा ४ जना, थाहा नगरपालिकामा १ जना र अन्य २९ जना गरि बुधबारसम्म ७५७ जना सङ्क्रमित भएका छन्।

सन् २००६ मा नेपालमा पहिलो पटक डेङ्गु फैलिएको थियो। बाँके जिल्लाबाट सुरु भएको डेंगु रूपन्देही, चितवन, नवलपरासी, दाङ, कपिलवस्तु लगायतका ९ जिल्लामा फैलिएको थियो।

यो रोग मुख्य त लामखुट्टेको टोकाईबाटै सर्ने गर्छ। एडिस प्रजातिको लामखट्टेबाट यो रोग सर्ने स्वास्थ्यकर्मीको भनाई छ। जापानिज इन्सेफ्‌लाइटिस गराउने लामखुट्टेले कसैलाई टोक्यो भने त्यो मरिहाल्छ, तर, डेङ्गु सार्ने एउटै लामखुट्टेले धेरै मानिसमा सार्न सक्छ। पानीको स्रोत ढाकेर नराखिने भएका कारण लामखुट्टे बढ्ने वातावरण बनिरहेको छ। अहिले सामान्य डेङ्गु र गम्भीर डेङ्गु भनेर विभाजन गरिएको छ। गम्भीर भनेको नाक, कानबाट रगत बग्ने हुन्छ। कोषबाट बाहिर निस्किएर शरीरका विभिन्न अङ्गमा पानी भरिएर अन्तत शरीर सुनिएर मान्छेको मृत्यु नै हुन्छ। रोगबाट बच्न मुख्यत सरसफाइ हुनुपर्छ र लामखुट्टेको टोकाईबाट बच्ने र लामखुट्टे नियन्त्रण तथा प्रजननको रोकथाम गर्नुपर्ने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भोला चौलागाइँले बताउनुभयो। यस्तै मकवानपुरमा जापानिज इन्सेफ्‌लाइटिस सङ्क्रमणबाट मकवानपुरमा ३ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका-७ का दुई जना र हेटौँडा उपमहानगरपालिका-३ बसामाडीमा एक जनाको ३ दिन अगाडि मृत्यु भएको हो।

साउन र भदौमा १२ जना जापानिज इन्सेफ्‌लाइटिस शंकास्पद बिरामी फेला परेका थिए। जसमध्ये ४ जनामा जापानिज इन्सेफ्‌लाइटिस देखापरेको थियो। जापानिज इन्सेफ्‌लाइटिस पोजेटिभ देखिएका ४ जनामध्ये ३ जनाको मृत्यु भएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो।

यो रोग फैलाउने लामखुट्टे माध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिन्हहरू भएका हुन्छन्। तीनले प्रायः घाम ढल्किएपछि र अँध्यारो भएपछि टोक्ने उनले बताए। विशेष गरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको स्वास्थ्यकर्मीको भनाई छ।

साउन, भदौ र असोजमा जापानिज इन्सेफ्‌लाइटिस बढी देखिने भएकोले यो समयमा अझ सजग हुन जरुरी रहेको छ। यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरेपनि केहीको गम्भीर अवस्था सृजना भइ दिमागलाई नै असर गरी मृत्यु हुने गरेको छ। यस रोग लाग्दा धेरै जसोलाई ज्वरो, झाडा पखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी देखिन्छन्।

यस रोगका खतराका लक्षणहरू छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ। खोपको प्रयोगबाट जापानिज इन्सेफ्‌लाइटिसको रोकथाम हुन्छ।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

धादिङमा डेंगुका विरामी बढे, संक्रमितको संख्या ११४ पुग्यो

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङसहित ७५ जिल्लामा डेंगु संक्रमण बढेको छ । पछिल्लो समय धादिङमा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको हो । जिल्ला अस्पताल धादिङको भाद्र १६ गते सम्मको तथ्यांक हेर्ने हो भने जिल्लामा ११४ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको १४ गतेसम्म ५२ जना गरी ११४ जनामा डेँगु देखिएको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.मधुकर दाहालले जानकारी दिनुभयो । संक्रमण बढ्दै गएपछि धादिङबासी त्रसित बनेका छन् । अहिले संक्रमितहरुको धादिङ अस्पतलामा उपचार भईरहेको छ । यसअघि डेंगु रोगको संक्रमणकै कारण धादिङ अस्पतालमा उपचारत ज्वालामुखी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो ।

७७ जिल्ला मध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा धेरै ललितपुर र काठमाडौमा डेंगु फैलिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेंगु भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौमा ८ सय ८८ जना रहेका छन् ।

डेंगुको संक्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि संक्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । डेंगुको सङ्क्रमण फैलिइरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ । अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । समुदायमा डेंगु फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।

लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरुले बताएका छन् । डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् ।

डेंगुबाट कसरी बच्ने ?

डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । तसर्थ लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन जरुरी हुन्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

बागलुङमा बर्सेनि देखिँदै छ डेङ्गु

बाग्लुङ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ ।

उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उहाँले बताउनुभयो । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ ।

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

“धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर-घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्छ । “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

वर्षात्‌काे बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि सङ्क्रमण बढेको छ । अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्‌जन्य रोग बढेको देखिएको डा पोखरेलले बताउनुभयो । रासस

दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्।

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिनुभयो।

उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन्।

बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिनुभयो। एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन्।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ। झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन्।