स्वास्थ्य र शिक्षाको सुधारविना विकास तथा समृद्धि असम्भव

✍️ प्रा. देवीभक्त ढकाल
नेपाली राजनीतिले आजका मितिसम्म देशको विकास र समृद्धिका विषयमा कोरा भाषण गर्ने कामबाहेक भाषणलाई व्यवहारमा अनुवाद गर्ने काम फुट्टी गरेको छैन । जसजसले भाषणमा विकास, समृद्धि र परिवर्तनको लालसा देखाए तिनीहरूका आश्वासन अपवादबाहेक सबै झुटको पुलिन्दा हुन् भन्ने कुरा जनताको खस्कँदो जीवनस्तर, चुलिएको वैदेशिक ऋण र उर्लँदो व्यापार घाटाले प्रमाणित ग¥यो । भाषणले मात्रै विकास र समृद्धि व्यवहारमा अनुवाद हुँदैन भन्ने कुरा नेपाली जनतालाई घाम झैँ छर्लंग छ ।

विकास र समृद्धि व्यवहारमा अनुवाद नहुँदासम्म विकासको र समृद्धिको अनुभूति जनताले गर्ने कुरै हुँदैन । यथार्थ विषय के हो भने विकास र समृद्धिका आधारभूत विषयमा हामी इमानदारीका साथ प्रवेश नै गरेका छैनौँ । विकासलाई हामीले अहिलेसम्म फगत भाषणको र प्रोपोगण्डाको विषय बनाएका छौँ । विकास जनताका लागि भनियो तर नेताहरूले विकासलाई आफ्नै जीवनस्तर परिवर्तन र समृद्धिमा केन्द्रीकृत गरे । जनताले नेताहरूको आर्थिक र पदीय विकास र आश्वासनको जालझेलमा नै चित्त बुझाउनु परेको छ । भाषणले विकास र समृद्धि आउँदैन भन्ने जान्दाजान्दै पनि भाषणे विकासलाई ताली ठोक्ने काम पालित र पोषित पार्टीका सीमित झोले कार्यकर्ताबाट जनतालाई धोका भएको छ । विकास ताली र गालीले आउने भए नेपाल अहिलेसम्म विश्वको धनी देशको श्रेणीमा पुगेको हुन्थ्यो ।

हाम्रो राजनीतिले भाषणमा विकास र समृद्धि भन्दै विनाशलाई पृष्ठपोषण ग¥यो । देशको नकारात्मक आर्थिक सूचकांकहरू त्यसका प्रमाण हुन् । विकासको गलत परिभाषा र व्याख्या गर्ने राजनीतिका हस्तीहरू अहिले जनताको अविश्वासको घेरामा छन् । विश्वास गुमाएकाबाट जनविश्वासमा आधारित विकासका आधारभूत संरचना कसरी बन्ने ? आधारभूत संरचनाविना विकासको कुरा गर्नु भनेको बालुवाले मात्रै पर्खाल लगाउने कोसिस गर्नुजस्तै निरर्थक काम हो ।

गुणस्तरीय स्वास्थ्य सुविधा र शिक्षाको अवसरको वितरण नै असमान रहेको अवस्थामा विकास, समृद्धि र समानताको उच्चारणमै षड्यन्त्र लुकेको छ । देशभर समान प्रकारका, समान गुणस्तरका अस्पतालहरू र स्कुलहरूको समान पहुँचको वातावरणबाट मात्रै समानतामा आधारित विकास तथा समृद्धिको प्रारूप तयार हुन्छ ।

सर्वप्रथम विकासको फल समानुपातिक वितरण गर्ने कानुनी र भौतिक एवं प्राविधिक संरचनाविना सामाजिक न्यायमा आधारित विकास र समृद्धि आफैँमा असम्भव परिकल्पना र चिन्तन भन्नुपर्छ । परिवर्तित सन्दर्भलाई बुझ्ने, जान्ने, प्रयोग गर्ने जनशक्ति उत्पादन नहुँदासम्म पनि सबै पूर्वाधार निरर्थक हुन्छन् भन्ने विषयले विकासमा जनशक्तिको भूमिका प्रष्ट हुन्छ । समानुपातिक विकास र समृद्धिको पूर्वाधार नै छैन । विकास र समृद्धिको बहार ल्याउँछौँ भन्ने भाषण जनता ठग्ने सूत्र हो । विकासको पूर्वाधार भनेको सबै क्षेत्रमा बसोवास गर्ने सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सुविधा र गुणस्तरीय शिक्षाको अवसर नै पूर्वशर्त हो ।

गुणस्तरीय स्वास्थ्य सुविधा र शिक्षाको अवसरको वितरण नै असमान रहेको अवस्थामा विकास, समृद्धि र समानताको उच्चारणमै षड्यन्त्र लुकेको छ । देशभर समान प्रकारका, समान गुणस्तरका अस्पताल र स्कुलहरूको समान पहुँचको वातावरणबाट मात्रै समानतामा आधारित विकास र समृद्धिको प्रारूप तयार हुन्छ । त्यसका लागि कानुनी र भौतिक संरचनाको साझा पहुँच निर्माण, व्यवस्थापन र सञ्चालनबाट प्रारम्भ गर्नुपर्छ । पहाड मधेस, तराईलगायत भूभागमा समान प्रकृतिको स्वास्थ्य सुविधा र समान गुणस्तरको शिक्षा सुविधालाई स्थापित गर्ने संकल्प र परिकल्पना विना भाषणको समृद्धि र विकास जनता अलमल्याउने खेती हो ।

अहिलेसम्म समानताको दुहाई दिँदै असमानताको जग निर्माण गरेको विषय जगजाहेर छ । हिजो समानताको दुहाई दिएर जनतालाई आन्दोलनमा संगठित गर्नेमध्येका टाउके नेताहरूले समानताका नाममा आफूमात्रै सम्पन्न बनेर उल्टै असमानताको ठूलो पर्खाल निर्माण गरे । तिनै असमानताका प्रतीकहरू फेरि निर्लज्जताका साथ स्वघोषित सर्वहारा बनेका छन् । जसले समानताका नाममा जनतालाई संगठित ग¥यो । आन्दोलनमा जनतालाई होम्यो । उसले आफ्नोमात्रै आर्थिक समृद्धि ग¥यो भने अब राजनीतिका प्रतिजनताको अविश्वास कति बढेको होला ?

अहिले नेतृत्वमा हुनेहरूप्रति आमजनताको अविश्वास चुलिनुको कारण नै उनीहरूको परिवारवाद प्रतिको निष्ठा र झुकाव हो । वर्तमानमा चुलिएको अविश्वास नै यिनीहरूलाई किनारा लगाउने हतियार बन्नुपर्छ । तर, दुर्भाग्य अझै यिनीहरूलाई विस्थापित गर्न जनता ऐक्यबद्ध हुने परिस्थिति बनेको छैन । जनता अत्यन्तै क्रुद्ध छन् तर त्यो असन्तुष्टिलाई नेतृत्व गर्ने इमानदार नेतृत्वको अभाव हुँदा आन्दोलनले आकार लिन सकेको छैन । यिनीहरूको कुशासन र भ्रष्टाचार चुलिए जस्तै यिनीहरूप्रति जनताको असन्तुष्टि चुलिएको छ । विकास वास्तवमा राज्यका जिम्मेवारीमा रहनेहरूको संकल्प, इच्छाशक्ति र मन मस्तिष्कबाट गर्ने प्रतिबद्धता हो ।

विकासको गन्तव्यलाई पहिल्याउने काम नहुँदासम्म भाषणले मात्रै विकास र समृद्धि व्यवहारमा अनुवाद हुँदैन । व्यवहारमा अनुवाद नहुने भाषणे विकासले नेपालीहरूको जीवनमा परिवर्तनको दियो बाल्दैन । परिवर्तनको दियो बाल्न गर्ने वास्तविक काम र व्यवहार नहँुदा भाषणको विकास अहिलेसम्म भाषणमा मात्रै सीमित भएकाले नेपालीहरूको जीवनमा सकारात्मक अन्तर आएको छैन । त्यसैले आजसम्मको विकाससम्बन्धी भाषणे विकासको फललाई आमजनतामा समानुपातिक वितरण गर्ने संरचना नै छैन ।

विकासको भुलभुलैया र आश्वासनको जालोमा नेपालीलाई अलमल्ल पारेर अहिलेसम्म सबै पार्टीका नेताहरूले सत्ताको सुखभोग गर्ने र सत्ता र शक्तिलाई दुरुपयोग गर्नेबाहेक विकास र समृद्धिको विषयमा सकारात्मक प्रयासको सुरुवात नै गरेका छैनन् । इमानदारीपूर्वक भन्ने हो भने हाम्रो विकासको यात्रा काशी जाने कुतीको बाटोतिर लाग्यो । विकासको गन्तव्य नै निर्धारण नभएको हावादारी यात्राले हामीलाई गन्तव्यमा कहिल्यै पुर्‍याउँदैन भन्ने तीतो अनुभव सुरक्षित छ ।

विकासको चरणमा प्रवेश गर्ने बाटो अहिलेसम्म निर्धारणसम्म नगरिकन सत्तामा हुने दलहरूले चरम अविश्वासको खेती गरे । जनतको विश्वास नै गुमाएका नेताहरूबाट विकासको हावादारी भाषणले उनीहरूप्रति जनताको अविश्वास चुलिएको छ । राजनीतिमा झुटको खेती गर्नेहरूले जनताको विश्वास नै गुमाएका छन् । अहिलेसम्म सबै पार्टीका सबै नेताहरूले जुन अनुपातमा झुटको खेती गरेर नाजायज व्यक्तिगत फाइदा लिएका छन् त्यहीँ अनुपातमा उनीहरूप्रति जनताको अविश्वास चुलिएको छ ।

विश्वास गुमाएका नेताहरूले पालैपालो सत्ता भोग गरेका कारण समग्र राजनीति जनताको अविश्वासको कठघरामा छ । विकास र समृद्धिको वास्तविक अभियान भनेको अहिलेको सन्दर्भमा नेपाली राजनीतिले गुमेको जनताको विश्वासलाई पुनःस्थापित गर्ने चरणमा प्रवेश गर्नुपर्छ । नेपाली राजनीतिले सर्वप्रथम जनताको विश्वास जित्न सक्नुपर्छ । विकास र समृद्धिको नाममा विनियोजन भएको रकमलाई दुरुपयोग गरेर व्यक्तिगत सम्पन्नताको अभिवृद्धि गरेका कारण अहिले जनताको विश्वासलाई जित्न सक्ने सफल नेता कुनै पार्टीमा छैनन् ।

अब विकास र समृद्धिको भाषणबाट जनतालाई अलमल्याउने होइन । सर्वप्रथम विकास र समृद्धिको पूर्वाधार भनेकै सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सुविधा र गुणस्तरीय शिक्षाको समान अवसरको ग्यारेन्टी हो । के अहिलेको सरकारले गुणस्तरीय स्वास्थ्य सुविधा, गुणस्तरीय शिक्षालाई सबै नागरिकहरूको समान पहुँचको विषय बनाउन सक्छ ? अहिलेको गुणस्तरीय शिक्षा भनेको नैतिकवान र चरित्रवान, सदाचारी नागरिक उत्पादन गर्ने शिक्षा भन्ने अर्थमा बुझ्नुपर्छ । विकासको पूर्वाधार भनेको शिक्षा हो ।

शिक्षित नागरिकलाई स्वस्थ्य राख्ने जिम्मेवारी स्वास्थ क्षेत्रको हुने भएकोले विकासको प्रारम्भिक चरणमा यी दुवै क्षेत्रलाई आमजनताको पहुँचमा पुर्‍याउँदा यसले विकास र समृद्धिको ढोका क्रमशः खुल्दै जान्छ । शिक्षित नागरिकहरू नै भ्रष्टाचारी किन बने ? शिक्षित नागरिक किन भ्रष्ट भए यसबारे अध्ययन, अनुसन्धानको नितान्त खाँचो देखियो । संस्कृत शिक्षालाई विस्थापित गरेर मेकालेको योजनामा बनेको शिक्षा प्रणालीले नैतिकवान, चरित्रवान, सदाचारी नागरिक उत्पादन हुन नसक्दा अहिले भ्रष्टाचार, बलत्कार, छलछाम, धोखाधडी जस्ता धेरै विकार र विकृति समाजमा एकाएक उत्पत्ति भए ।

हाम्रो शिक्षाको लक्ष्य विदेशीहरूका लागि आवश्यक जनशक्ति आपूर्ति गर्ने हो कि आफ्नो साधनस्रोतहरूको उच्चतम प्रयोग र उपभोग गर्ने नैतिकवान तथा चरित्रवान, सदाचारीले देशभक्त जनशक्ति उत्पादन गर्ने हो ? यसबारे स्पष्ट राष्ट्रिय नीति बन्नुपर्छ ।

समाजलाई शुद्धीकरण गर्ने काम नैतिक र चारित्रिक शिक्षको प्रबन्धनविना सम्भव छैन । अहिलेको शिक्षाले मानिसलाई स्वार्थी, धनलोलुप र भ्रष्टाचारी बनायो । यस सम्बन्धमा चाणक्यद्वारा प्रतिपादित धनको गतिका सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक हुन्छ । चाणक्यका अनुसार धनका भोग, दान र नाश तीनवटा गति हुन्छन् । धनको पहिलो गति हो आफ्नो न्यूनतम् आवश्यकतालाई पूरा गर्ने अर्थात् भोग गर्ने । आवश्यकता पूरा भएपछि सञ्चित धनलाई उदारतापूर्वक दान गर्ने । यसरी भोग र दानपछि रहने बाँकी धन सबै मृत्युपछि आफ्ना लागि नाश हुन्छ ।

आफ्नै सन्ततिले उपभोग गर्दा आफ्ना लागि नाश हुने विषयलाई जिम्मेवारीमा हुने मानिसले भित्रैबाट बुझ्यो भने उसले अब किन भ्रष्टाचार गर्छ ? धनको सीमाका विषयमा ज्ञान नहुँदा पनि मानिसहरू धनबाट तृप्त नहुने अवस्था र परिस्थिति पनि भ्रष्टाचारका लागि जिम्मेवार भएको विषयमा हाम्रो शिक्षाले शिक्षित र दीक्षित गर्न सकेन । भ्रष्ट नागरिक उत्पादन गर्ने हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तनविना कानुन र नियमले मात्रै भ्रष्टाचार नियन्त्रण गर्ने काम अहिलेको परिस्थितिमा असम्भव देखियो ।

त्यसैले सुधारको बाटो कुन अख्तियार गर्ने भन्ने विषयमा अध्ययन, अनुसन्धान, बहस, छलफल, अन्तक्र्रिया घनिभूत हुन जरुरी छ । तर हामीले भ्रष्टाचारलाई रोक्न कानुन, नियम, अदालत र भ्रष्टाचार निवारण आयोगलाई जिम्मा दिँदा भ्रष्टाचारको घेरा, आयतनमात्रा आदि सबैमा नाटकीय वृद्धि किन भयो ? यो बिन्दुबाट सुधारको प्रारम्भ हुन जरुरी छ । त्यो जरुरतलाई पूरा गर्ने विधि नै गुणस्तरीय स्वास्थ सुविधा र गुणस्तरीय शिक्षाको सुविधालाई कसरी सबै नागरिकको पहुँचमा पुर्‍याउने भन्ने विषय अहिले विकास र समृद्धिभन्दा पनि महत्वपूर्ण छ ।
हाम्रो शिक्षाको लक्ष्य विदेशीहरूका लागि आवश्यक जनशक्ति आपूर्ति गर्ने हो कि आफ्नो साधन र स्रोतहरूको उच्चतम प्रयोग र उपभोग गर्ने नैतिकवान र चरित्रवान, सदाचारी र देशभक्त जनशक्ति उत्पादन गर्न हा ? यसबारे स्पष्ट राष्ट्रिय नीति बन्नुपर्छ । देशको भूगोल, प्रकृति, वनस्पति, हावापानी आदिबाट देशले अधिकतम लाभ कसरी लिनसक्छ भन्ने नागरिक उत्पादन गर्ने कि युरोप, अमेरिका र अष्ट्रेलियामा बसाइँसराइ गरेर विदेशीहरूको गुलाम बन्ने नागरिक उत्पादन गर्ने ? अब यसबारे स्पष्ट हुँदै तदअनुकूलको जनशक्ति उत्पादनको इमानदार खाकामै देश र जनताको उज्ज्वल भविष्य निर्भर गर्दछ ।

हामी लगानी गर्ने लगानीको लाभ अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कतार जस्ता विकसित देशहरूले उपभोग गर्ने ? हामीले शिक्षामा, स्वास्थमा र सामाजिक हितमा गरेको लगानी सबै विदेशीहरूको जनशक्ति आपूर्तिमा भएपछि हाम्रो गरिबी, व्यापार घाटा, वैदेशिक ऋण नचुलिए कस्को चुलिन्छ ? हाम्रो प्राकृतिक सम्पदालाई उच्चतम उपयोग र परिचालन गर्ने क्षमतावान जनशक्ति विदेश निर्यात गर्ने कामलाई बन्द नगर्दासम्म आफ्नो लगानीको लाभ देशले लिन सक्दैन । आफ्नै लगानीको लाभ लिने वातावरणसम्म तयार नगर्ने राजनीतिक नेतृत्वले विकास र समृद्धिको उच्चारणसम्म गर्ने नैतिक धरातल गुमाएको छ । सर्वप्रथम आफ्नो जनशक्ति आफ्नै विकासमा परिचालित हुने योजनाको खाकाविनाको विकास र समृद्धिका हावादारी भाषणले देश समृद्ध होइन टाट पल्टन्छ ।