मेरो अतित मेरो अनुभव : मन्त्रीको प्रस्ताव नस्वीकारी अध्यापनमै

✍️ रमेशप्रसाद गौतम
सन् २००२ मा आइभिपी प्रोग्रामअन्तर्गत अमेरिकी सरकारको निमन्त्रणामा नेपालस्थित अमेरिकी दूतावासले मलगायत केही साथीहरूलाई नागरिक शिक्षाको शैक्षिक भ्रमणमा अमेरिका पठायो । त्यहाँका विभिन्न सरकारी कार्यालय, संघसंस्था र शिक्षण संस्थाहरूको अवलोकन गरी फर्किने क्रममै थियौँ । हामी विभिन्न अमेरिकी राज्यहरू हुँदै न्युयोर्क आउँदा नेपालमा तत्कालीन निर्वाचित नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएको समाचार सुन्यौँ ।

यस सम्बन्धमा हाम्रो गु्रपमा निकै चर्चा चलेको थियो । प्रायः हाम्रा भ्रमण दलका साथीहरूले त्यतिबेला दमननाथ ढुंगानालाई प्रधानमन्त्री बनाएको भए ज्ञानेन्द्र टिक्ने सम्भावना हुन्थ्यो । दमननाथको सुझबुझले सबै कांग्रेसलगायत अन्य दलहरूलाई समेटेर लान सक्ने सम्भावना हुन्थ्यो । अब प्रधानमन्त्री लोकेन्द्रबहादुर आफू र राजाको पनि टिकाउ सम्भावना क्षीण भएको हामीले त्यहीँबाट आँकलन गरेका थियौँ ।
हाम्रो भ्रमण कार्यक्रम सकी हामी नेपाल फर्कनेतर्फ लाग्यौँ । मलगाायत अन्य साथीहरूसमेत रामनवमीको दिन काठमाडौं उत्रियौँ । हाम्रो भ्रमण हामी सबैले सुखद अनुभूति गर्‍यौँ । घरमा आई आराम गरी पारिवारिक कुराकानी भइरहेको थियो । टेलिफोनको घण्टी बज्यो । मैले उठाएँ, दमन दाइले गर्नुभएको रहेछ । उहाँले भ्रमणका बारे कुरा गर्नुभयो । अनि भन्नुभयो- रमेशजी तपाईका लागि एउटा अवसर आएको छ । लोकेन्द्रबहादुर चन्द अहिले प्रधानमन्त्री हुनुभएको छ, उहाँले एक्कासी फोन गरेर एउटा क्लिन ननकन्ट्रोभर्सल व्यक्ति तपाईका तर्फबाट कोही छ भने म मन्त्री बनाउँछु भन्नुभएको छ ।

सुरुमा म आउँदा पद्मोदयमा करिब १५० जना विद्यार्थी थिए होलान् । म आएकै वर्षभित्र ५०० जना पुगे । अर्को वर्ष ७०० । क्रमैसँग थपिँदै १२०० सम्म विद्यार्थी पुगे । एसएलसीको नतिजा म पुग्दाको वर्ष ३५ प्रतिशत थियो । २०५२ सालदेखि शतप्रतिशत परीक्षाफल आयो ।

मैले यो क्र्याइटेरिया तपाईलाई मिल्यो भनेर नाम दिन लागेको थिएँ तर तपाईंको मनसाय नबुझी भन्न राम्रो ठानिनँ । तपाईं आइपुग्नुभयो जवाफ दिनुहोस् भन्नुभयो । यस विषयमा पारिवारिक सल्लाह गरेर दाइलाई भोलि खबर गर्छु भनेँ तर मेरी कान्छी छोरी पूजा नेपालमै थिई, अरू दुवै अमेरिका पढ्दै थिए । मेरी कान्छी छोरीले विरोध गरी र दिदीहरूलाई पनि खबर गरी । सबैले तत्कालीन अवस्थामा मन्त्रीपद खानु ठीक छैन भने । यता श्रीमतीजी पनि छोरीहरूकै पक्षमा लागिन् । अनि दमन दाइप्रति आभार व्यक्त गर्दै पारिवारिक असन्तुष्टिका कारण मेरो पुरानो पद्मोदय प्रवेशका बेलाको वाचाले गर्दा त्यो पद खान असमर्थ भएँ दाइ भनेर सुनाएँ ।

मलाई पनि यिनका मातहतमा तपाईंलाई मन्त्री बनाउने चाहना त होइन तर पनि १५ वर्ष मसँगै काम गरेको इमानदार पनि भनिरहेको कुनै सुविधा र उन्नति गराउन नसकेकै अवस्थामा यो ठूलै पदको अफर आएकाले पछि हामी छँदै छौँ अहिले केही समयका लागि मन्त्री भएर के फरक पर्ला र भनेर मात्र मेरो मनसाय हो भन्नुभयो । उहाँको मनसायको सदासयता हमेसा रहिरहनेछ । अहिलेलाई म विद्यालय छाड्दिनँ भनेँ । उहाँ पनि मेरो पदप्रतिको लोलुपता नभएको देखेर खुसी नै हुनुभयो र मलाई धन्यवाद दिनुभयो ।

केही महिनापछिको कुरा हो । बेलुकी ९ बजेतिर गिरिजा बाबुको फोन आयो साथै अर्जुन दाइ पनि सँगै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, मेरो प्रतिनिधिका रूपमा सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल आफूले रोजेको मन्त्रालय लिएर मेरा निर्देशनमा काम गर्नुहोस् भन्नुभएको थियो । साथै अर्जुन दाइले पनि यस कुरामा थपेर पार्टीले लोकेन्द्रबहादुर हटेर सूर्यबहादुरजीको मन्त्रिमण्डल गठन भएमा नेपाली कांग्रेसले उक्त मन्त्रिमण्डलमा सहभागी हुने आश्वासन दिनुभएको तर पछि पार्टी सहभागी नहुने भएपछि गिरिजा बाबुको प्रतिनिधिका रूपमा तपाईलाई आग्रह गरिएको हो भन्नुभयो ।

तर, यसअगाडि दमन दाइले भन्दा पनि मैले अस्वीकार गरेको बेहोरा जानकारी गराएँ । पारिवारिक अनिच्छामा ठूलो पद स्वीकार्न मैले राम्रो ठानिनँ । मप्रति उहाँहरूले देखाउनुभएको माया र सद्भावप्रति आभारी भने रहिरहनेछु । मैले पद्मोदय माविमा २०४८ साल माघ १ गतेदेखि २०६६ साल फागुनसम्म प्रधानाध्यापक भई काम गरेँ । म प्रधानाध्यापक भएर आएको दोस्रो हप्तामै व्यवस्थापन समितिको अध्यक्षका रूपमा तत्कालीन सभामुख दमननाथ ढुंगाना बन्नुभयो । सदस्यमा अर्जुननरसिंह केसी पनि रहनुभयो । अरू बौद्धिक व्यक्तिहरू थपिँदै जानुभयो । पद्मोदयमा यस किसिमका विशाल व्यक्तित्वहरूप्रति सबै आकर्षित हुन थाले ।

पछाडि व्यवस्थापन समितिका सदस्यका रूपमा डा. त्रैलोक्यनाथ उप्रेती, प्रा. डा. सुरेशराज शर्मा, प्रा. सरस्वती रिमाल, श्रीभक्त श्रेष्ठ, अञ्जु तण्डुकार, विष्णुराज कुसुम आदि रहँदै आउनुभयो । सुरुमा म आउँदा पद्मोदयमा करिब १५० जना विद्यार्थी थिए होलान् । म आएकै वर्षभित्र ५०० जना पुगे, अर्को वर्ष ७०० । क्रमैसँग थपिँदै १२०० सम्म विद्यार्थी पुगे । एसएलसीको नतिजा म पुग्दाको वर्ष ३५ प्रतिशत थियो, अर्को वर्ष ६५ प्रतिशत, अर्को वर्ष ८५ प्रतिशत पुग्दै २०५२ सालदेखि शतप्रतिशत परीक्षाफल आयो ।

२०५२ सालमा विद्यालयको स्वर्ण महोत्सव आयो । यसमा भव्यतासाथ मनाउने निर्णय व्यवस्थापन समितिका अध्यक्ष दमननाथ ढुंगानाको अध्यक्षतामा बसेको बैठकले गर्‍यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमननाथ ढुंगानाको पहलमा पद्मोदय पूर्वविद्यार्थी संघको पनि गठन भयो । पूर्वविद्यार्थी संघको पहिलो अध्यक्ष कमल थापा बने । यस्तै अन्य क्रियाशील हुनेमा रामलाल श्रेष्ठ, टीकाजंग थापा, हेमन्त खरेल, घननाथ ओझा, शंकर अर्याल आदि हुनुहुन्थ्यो ।

शिक्षामा राजनीति गर्ने काम गलत हो । अझ हामीकहाँ शिक्षा दलीयकरण भइरहेको छ । विद्यालय र क्याम्पसमा दलका झण्डा बोक्नेका ताँती छन् । शिक्षक र विद्यार्थीलाई राजनीतिक चेत दिने काम शिक्षाको नै हो । त्यही शिक्षा लंगडो बनिरहेको छ ।

विद्यालयको स्वर्ण जयन्ती भव्यरूपमा मनाउने र सो अवसरमा राजा वीरेन्द्रलाई आमन्त्रण गर्ने निर्णय गरियो । कार्यक्रमलाई सुव्यवस्थित बनाउन विभिन्न चरणमा छलफल, अन्तरक्रिया गरियो । पूर्वविद्यार्थी संघसमेत राखी संयुक्त बैठक पनि गरियो । शिक्षक, विद्यार्थी, अभिभावकसमेतको सहयोग र सद्भावमा २०५२ साल फागुन २९ गते विद्यालय प्रांगणमा तत्कालीन राजारानी र मन्त्रीहरूको समुपस्थितिमा स्वर्ण जयन्ती मूल कार्यक्रम सम्पन्न गरी राजारानीलाई विद्यालयको समीक्षालय, पुस्तकालय अवलोकन गराउने काम भयो ।

विद्यालयका प्रअ र अध्यक्षका साथमा अन्य पदाधिकारी शिक्षक साथीहरूको उपस्थितिमा राजारानीले जिज्ञासापूर्वक बालबालिकाले बनाएका चित्रहरू पूर्वव्यावसायिक सामानहरूका बारेमा थुप्रै प्रश्न गर्नुभयो । धेरै जसो जवाफ म दिन्थेँ, बीच–बीचमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमननाथ ढुंगानाले बहुत शालीनतापूर्वक प्रभावकारी ढंगले विद्यालयको प्रगति समीक्षा प्रस्तुत गर्नुभयो । राजारानीको चेहेरा प्रसन्न देखिन्थ्यो । राजाबाट मलाई सोधनी भयो । पद्मोदयले एसएलसी शतप्रतिशत पास गरेको रहेछ । अनि विद्यार्थीको भर्ना थेग्न सजिलो छ त ? मैले जवाफ दिएँ- सरकार बस्ने ठाउँ पुगेसम्म भर्ना लिन्छौँ ।

ठाउँ नभएपछि सोही बेहोरा अवगत गराएर अभिभावकलाई सम्झाएर पठाउँछौँ । तपाईलाई आफ्नो स्कुलले शतप्रतिशत नतिजा ल्याउँदा गौरव लाग्छ होला नि भनी सोधनी भयो । मैले जवाफमा- सरकार हामी त परीक्षामुखी बनेका छौँ, नौ कक्षा पुगेकालाई कमजोर विषयमा अतिरिक्त कक्षा चलाउने, बेला-बेलामा लिखित टेस्ट परीक्षा लिने गरेका छौँ । १० कक्षामा पुगेपछि हरेक महिना, हप्तामा समेत परीक्षा लिने अनि विद्यार्थी केही न केही मेहनत गर्छन् । एसएलसी परीक्षामा पास भइहाल्छन् भनेँ अनि राजा हाँस्नुभयो । गुणस्तरीय शिक्षा यसरी हुँदैन सरकार भनेँ अनि सरकारबाट जवाफ आएन ।

बीचमा पूर्वसभामुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमननाथ ढुंगानाले तुलनात्मकरूपमा यहाँका विद्यार्थी प्रतिभावान नै छन्, स्तरीय शिक्षा नभएको भन्न मिल्दैन भन्नुभयो । राजाले मुन्टो हल्लाउँदै ध्यानपूर्वक सुनिरहनुभयो । सबै कार्यक्रम सकिएपछि राजाले सोध्नुभयो– तपाईंलाई मैले केही गर्नुपर्छ ? मेरो जवाफमा सरकारहरू सवारी भयो, यो नै हाम्रा लागि गौरवको विषय हो भनेँ । त्यसपछि अन्त्यमा मेरातर्फबाट तपाईंलाई धन्यवाद छ र अन्य सहयोगी साथीहरूलाई पनि मेरो धन्यवाद छ भनी सुनाइदिनु भनेर उहाँहरू फर्कनुभयो ।
२०४६ सालको आन्दोलनपछि २०५२ सालमा नै पहिलोपल्ट विद्यालय प्रांगणमा खुल्लारूपमा राजारानीको उपस्थितिमा भव्य समारोहबीच अभिवादन र अभिनन्दनसमेतको कार्यक्रम भएको हो । राजारानीलाई अभिनन्दन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गर्नु राम्रो भन्ने धेरैको सल्लाह भए तापनि विद्यालयमा प्रधानाध्यापकको नै ठूलो भूमिका र जिम्मेवारी भएकाले यो अवसर रमेशजीलाई दिनुपर्छ भनेर दमनदाइले मलाई नै सो अवसर दिनुभयो ।

कार्यक्रमपछि विभिन्न कोणबाट राम्रा नराम्रा प्रतिक्रियाहरू आए । धेरै मानिसले शालीन र भद्र राजा वीरेन्द्र भएकाले उहाँलाई भव्य स्वागत र अभिनन्दन गर्नु उचित कुरा हो भने, केहीले अनावश्यक खर्च हो भने तर धेरै ठाउँबाट बधाई र शुभकामना पायौँ । यो पद्मोदयका लागि गौरवकै विषय बन्यो । यसपछिका दिनमा झन् हौसला र उत्प्रेरणा जाग्दै गयो । विद्यार्थी संख्या थपिँदै जानु एसएलसीको नतिजा संख्यात्मकरूपले वृद्धि हँुदै गर्दा झन् सन्तोष थपिँदै आयो । शिक्षक, अभिभावक र विद्यार्थीसमेत उत्साही र गौरवान्वित हुँदै आए । त्यसबेलाको स्वतस्फूर्त टिममा देखिएको जाँगर र जोशले देखाइरहेको थियो ।

पद्मोदयले विद्यार्थीभित्र भएको उत्सुकतालाई तिखार्न र पल्लवित गराउने प्रक्रियालाई निरन्तरता दिई नै रहृयो । शिक्षाले मान्छेलाई सही वा गलतबीचको फरक छुट्याउन मद्दत गर्नुका साथै विवेकलाई उजागर पनि गरिदिन्छ । विद्यालयमा सिकेका कुरा उपयोग गराउन अनि उत्पादनशील र उद्यमशील बन्न भूमिका निर्वाह गर्दै आई नै रहृयो । मैले यसपूर्व सीताराम हाईस्कुल, जनप्रभात रात्रि प्रौढ, परोपकार मावि, दरबार हाईस्कुलमा र कीर्तिपुर मावि अनि जिल्ला शिक्षा अधिकारी भई विभिन्न जिल्लामा करिब १३ वर्ष काम गरेको अनुभव बटुलेर पद्मोदयमा आएको थिएँ ।

मेरो यो लामो अनुभवमा मैले विद्यार्थी, अभिभावक शिक्षक, कर्मचारी, जनप्रतिनिधि आदिलाई नजिकबाट भोगेको छु । शिक्षक, विद्यार्थी, जनप्रतिनिधि आदि कसैले पनि शिक्षा सुधारका मुद्दाभन्दा निहित स्वार्थका कुरामा नै जोड दिने गर्दै आएको पाएँ । अझै नागरिक समाज र बौद्धिक क्षेत्रका प्राध्यापक वा शिक्षकको बौद्धिक विकास अनि शिक्षाको गुणस्तर वृद्धिका निम्ति कमै आवाज उठेका छन् । समाजलाई गति अनि दिशा दिने शिक्षा नै भएकाले पहिलो प्राथमिकता शिक्षाले नै पाउनुपर्दछ ।

शिक्षाबाट हरऊर्जा प्राप्त हुन्छ भने राजनीतिले दिशा दिन्छ । यस अर्थमा शिक्षा र राजनीतिको सुमधुर सम्बन्ध हुनु जरुरी छ । पौराणिक महाभारतकालदेखिका घटना छन् वा प्लेटोका युगका कुरा हुन् वा आइन्स्टाइन युगका घटना किन नहुन् त्यहाँ शिक्षा र राजनीतिले नै निर्णायक भूमिका खेल्दै आएका छन् । यसर्थ राजनीतिलाई पन्छाएर शिक्षा एकांकीरूपमा अघि बढ्छ भन्ने कुरा ठीक नहोला तर शिक्षण संस्थालाई हाम्रा वर्तमानका नेताहरूले बनाउन खोजेझैँ क्रीडास्थल भने हुन दिनुहँुदैन । अहिले शिक्षाले पनि राजनीतिलाई डो¥याउन नसकेको अवस्था हो भने राजनीतिले शिक्षालाई दिशा दिन नसकेको अवस्था पनि हो । हाम्रो शिक्षालाई समाज र राजनीतिसँग अझै जोड्न सकिएको छैन ।
शिक्षामा राजनीति गर्ने काम गलत हो । अझ हामीकहाँ शिक्षा दलीयकरण भइरहेको छ । विद्यालय र क्याम्पसमा दलका झण्डा बोक्नेका ताँती छन् । शिक्षक र विद्यार्थीलाई राजनीतिक चेत दिने काम शिक्षाको नै हो । त्यही शिक्षा लंगडो बनिरहेको छ । यस अर्थमा हामी शिक्षक बढी चनाखो हुनुपर्छ भन्ने आमधारणा राखेर नै काम गर्दै जानुपर्छ । हामी आफ्नो पेशाप्रति प्रतिबद्ध र विद्यार्थीप्रति दत्तचित्त हुनुपर्छ । शिक्षामा राजनीति कदापि गर्नुहुँदैन । बरु शिक्षाको राजनीति गर्ने हो, जसले गर्दा शिक्षालाई समाज अनि राजनीतिसँग जोड्ने गर्दछ । यस्तै सोच र विचार राख्दै पद्मोदयको शैक्षिक उन्नयनमा बल पुर्‍याउँदै १९ वर्ष बित्यो ।

६० वर्षे उमेरको हदले २०६६ साल फागुन १५ गतेपछि मेरो निवृत्त जीवन आरम्भ भयो । त्यसपछि विद्यालयले व्यवस्थापन समितिले विद्यालयको सल्लाहकार बस्न आग्रह गरे तापनि बेतनधारी भएर बस्न चाहिनँ । काठमाडौं शिक्षा क्याम्पसमा र काठमाडौं बहुमुखी क्याम्पसमा पढाउने कार्यलाई भने २०७२ सालसम्म निरन्तरता नै दिएँ । पछि अमेरिका जानुपर्ने परिस्थिति आएपछि कम्तीमा ६ महिना अनुपस्थित हुँदा विद्यार्थीको पठनपाठन कार्यमा बाधा पुग्ने देखेर अन्य शिक्षक राख्न आग्रह गरेँ ।

दुवै क्याम्पसमा जान छाडेँ । तथापि आरम्भकालदेखि नै संलग्न क्याम्पसहरू भएकाले नजाँदाखेरि पनि क्याम्पससँगको सम्बन्ध बढाउने वातावरण मिलाएर आई नै रहने आग्रह भने क्याम्पसहरूले गरिनै रहेका छन् । तर, मेरा छोरीहरू सबै विदेशतर्फ भएकाले बेला-बेलामा भेट्न गइरहने हुनाले पढाइमा बाधा पुग्ने देखेर अहिले ती क्याम्पसहरूमा नियमित पढाउन जाने गरेको छैन ।