स्पेनमा तातो हावाका कारण कम्तीमा ५१० जनाको मृत्यु, जनजीवन कष्टकर

म्याड्रिड । स्पेनमा केही समय यतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले देशको तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसको ज्यान जाने क्रम रोकिएको छैन ।

देशमा जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

बेलायतमा राष्ट्रिय संकट घोषणा
यता बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । अत्याधिक गर्मीका कारण ज्यानकै जोखिम बढ्न सक्ने भन्दै केही विद्यालय बन्द गरिएका छन् भने कतिपय अस्पतालले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । रेल वे, शपिङमल र रेष्टुराँहरूमा भीड नगर्न भनिएको छ ।

सडकमा अलकत्र पग्लेकाले बालुवा छर्न थालिएको भए पनि चालकहरूलाई ध्यान पुर्‍याएर सवारी चलाउन सुझाव दिइएको छ । युके स्वास्थ्य सुरक्षा एजेन्सीले अत्यधिक तापक्रमका कारण बिरामी पर्ने र ज्यानै जाने खतरा रहेको भन्दै आफूलाई चुस्त र तन्दुरुस्त राख्न भनेको छ । प्रधानमन्त्रीको कार्यालयले उच्च तापक्रमका कारण जारी गरिएको राष्ट्रिय संकटलाई अन्य संकटकालकै रूपमा लागू गरिने बताएको छ ।

युरोपको तापमानमा नयाँ कीर्तिमान
गत सातादेखि बढेको अत्याधिक तापक्रमले सिंगो युरोप अस्तव्यस्त भएको छ । जंगलहरूमा लागेको आगो निभाउन मुस्किल भइरहेको छ । साथै आगलागी बस्तीमा सल्किने भएकाले हजारौं मानिसलाई सुरक्षित स्थानतिर सार्ने क्रमसमेत जारी रहेको छ । पश्चिम युरोपका देशहरू अत्यधिक गर्मीको मारमा परेका छन् । केही दिनयता दैनिक रूपमा बढिरहेको तापक्रमका कारण जनजीवन अस्तव्यस्त बन्न थालेको छ । उत्तरी स्पेनमा सोमबार ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । फ्रान्स, पोर्चुगल, स्पेन र ग्रिसमा जंगलमा लागिरहेको डढेलोले हजारौं मानिस विस्थापित भएका छन् । डढेलोका कारण ३० हजारभन्दा बढी मानिस घर छोड्न बाध्य भएको र तीमध्ये कतिपयलाई स्थानान्तरण गरिएको जनाइएको छ ।

स्पेनमा ४३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिँदा फ्रान्सको तापक्रम ४२ डिग्री पुगेको छ । फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिस विस्थापित भएका छन् । फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस आफ्नो थातथलो छोडेर भागेका छन् ।

फ्रान्सको पर्यटकिय गिरोन्डे क्षेत्रमा रहेका पर्यटकहरू गर्मीको मारमा परेका छन् । गिरोन्डे आसपासको जंगलमा लागेको डढेलोको ताप शहरसम्म पुग्दा जनजीवन प्रभावित भएको हो । उता नेदरल्याण्ड्समा अहिलेसम्मकै सबैभन्दा गर्मी महसुस गरिएको छ । त्यहाँको तापक्रम ३३ दशमलव ६ डिग्री पुगेको छ । आगामी दिनमा ३९ डिग्रीसम्म तापमान पुग्ने मौसमविद्हरूले बताएका छन् । यी बाहेक बेल्जियम, जर्मनी र इटलीमा पनि तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्दा जनजीवन अस्तव्यस्त बनेको छ । एजेन्सी ।