भारतवर्ष र यसको चौसीमा

✍️ प्रा.डा.कुलप्रसाद कोइराला

भौगोलिक आकारप्रकारका दृष्टिले भारतका तुलनामा नेपाल धेरै सानो छ । जुन बेला भारतवर्ष भन्ने नामकरण भयो त्यो बेलाको भूखण्डमा राजनीतिक सीमा निर्धारण गरिएको थिएन । त्यो बेला प्राकृतिक उहापोहले जस्तो निर्माण गरिदियो त्यसैमा शक्तिशाली राजाले कहिले शासन गर्ने र कहिले गुमाएर खण्डित हुनेजस्ता कुरा ऋक्संहिताका कतिपय मन्त्रले देखाउँदा रहेछन् । यस भूखण्डको सीमांकनका संकेत ऋक्संहितामा केही उपलब्ध छन् भने केही पछिल्ला श्रुति र स्मृतिबाट ग्रहण गर्नुपर्ने अवस्था रहेको देखिन्छ ।

समाजशास्त्र, संस्कृति पढाउने केही नवसिकारु प्राध्यापक समेत अल्मलिएका कुरा बेलाबखत चियाका टेबुलमा बस्दा मैले पाएको हुनाले वैदिक साहित्यको अध्ययनका क्रममा म अलिकति यतापट्टि पनि दृष्टिदिन पुगेको हुँ । जसलाई संस्कृत वाङ्मयमा ‘भारतवर्ष’ भनेको भेटिन्छ । स्वाभाविक रूपमा हाम्रा मनमा यो भारतवर्षको सीमा कस्तो थियो ? कहाँदेखि कहाँसम्म तोकिएको होला । कुन पुस्तकमा कसरी भेट्ने खोज्ने भन्ने जिज्ञासा पैदा हुन्छ । हामी संकल्प पढ्दा पनि ‘…भारतवर्षे, भरतखण्डे, आर्यावर्तान्तर्गतैक नेपाल देशे’ भनेर श्राद्ध, रुद्री, सत्यनारायणको पूजा लाउँदा होस् या श्रावणी उपाकर्म गर्दा होस् हामी यसरी नै संकल्प गर्दछौं । संस्कृत नजान्नेका लागि होहो पाडरीपाडरी त हुने नै भयो । अब म यसै सम्बन्धमा केही छलफल गर्न चाहन्छु ।

भारतवर्ष विषयका सम्बन्धमा प्राचीन वाङ्मयको अनुशीलन गर्दा यसको पूर्वी र पश्चिमी सीमा आजका तुलनामा अधिक विशाल रहेको देखिन्छ । भारतवर्षको पूर्वीसीमा चीनसागर थियो । यसअन्तर्गत ब्रहृमदेश जसलाई आज हामी बर्मा या रंगुन या श्यामदेश भनेर पनि बुझ्ने गर्दछौँ । यसको पश्चिमी सीमा चाहिँ लालसागर (भूमध्यसागर) सम्म फैलेको थियो ।

यस सीमाभित्र अहिलेको पाकिस्तान, विलोचिस्तान, ईरान, मेसोपोटामिया र अरब देश पनि सम्मिलित थिए भन्ने देखिन्छ । यस विषयका प्रमाण धेरै भेटिए पनि पहिले यसको दक्षिण कन्याकुमारी र उत्तरमा हिमालयपर्वतमाला सीमा थिए भन्ने देखिन्छ । आज पनि यसमा खास परिवर्तन आएको छैन तापनि राजनीतिक दृष्टिले नेपाल र भारत दुईवटा सार्वभौमसत्ता सम्पन्न देश रहेका छन् । धर्म र संस्कृतिका दृष्टिले यो सीमा आजसम्मै अकाट्य रहेको देखिन्छ । अब म पश्चिम सीमाका सम्बन्धमा मनुको प्रमाण अघि सार्दछु :
आसमुद्रात्तु वै पूर्वादासमुद्रात्तु पश्चिमात् ।
तयोरेवान्तरं गिर्योरार्यावर्तं विदुर्बुधाः ।।
अर्थात् हिमाल र बिन्ध्याचलका बीचमा पूर्वी समुद्रभन्दा पश्चिम, पश्चिमीसमुद्रसम्म भारतवर्ष हो । भारतवर्षान्तर्गत आर्यावर्तको सीमा निर्देश यही नै हो । पूर्वी समुद्र र पश्चिमी समुद्रभन्दा धेरै मान्छे बंगालको खाडीका सम्बन्धमा भ्रममा पर्ने गर्दारहेछन् । यहाँ अरब सागर तथा बंगालको खाडी यो श्लोकले संकेत गरेको मान्न मिल्दैन । किनभने भौगोलिक नक्सा सामुन्ने राखेर बिन्ध्याचल र हिमालका बीचभागबाट पूर्व-पश्चिम सिधा रेखा खिच्दा तिनै दुई सागर दुई सीमामा रहेको देखिनेछ र अरब सागर तथा बंगालको खाडी दक्षिणतिर बाहिरिएर रहन्छन् ।

यसका सीमामा पर्दैनन् । विमलचरण लाहा भन्ने एकजना विद्वान्ले १२ वर्ष लाएर गरेका खोजले यसलाई प्रमाणित गरेको छ । मनुका पालाको भारतवर्ष यस्तो रहेछ । हिमाल भन्नाले नेपाल पनि यसैअन्तर्गत आउनेगर्दथ्यो भन्ने कुरामा भ्रम नलिऊँ । पतञ्जलिले बनाएको वैयाकरण महाभाष्यमामा पनि भारतवर्षको निर्देश गरेका छन् ।
प्रागादर्शात् प्रत्यक् कालकवनात् दक्षिणेन हिमवन्तमुत्तरेण पारियात्रम् ।
अर्थात् आदर्शभन्दा पूर्व, कालकवनभन्दा पश्चिम, हिमालयबाट दक्षिण, पारियात्रभन्दा उत्तर भारतवर्ष कहलिन्छ । यसमा भनिएको आदर्श भनेको भूमध्यसागरभन्दा उत्तरतिर रहेको तारस पर्वतलाई भनेको हो । यसलाई कोही सिनाइ पर्वत पनि भन्दा रहेछन् । जे भए पनि आदर्श पर्वतका नामबाट यसैलाई बुझिन्छ । यो आदर्श पर्वत पश्चिम समुद्र या यहुदी नामको यवन देशका समीपमा पर्दछ । केही विद्वान् महाभाष्यको यो आदर्श शब्दको सिन्धु नदीका दक्षिणमा रहेको सुलेमान पर्वतलाई पनि लिन्छन् ।

तर, यो किन ठीक छैन भने भारतवर्षको पश्चिम सीमाबाट परतिर जुन यवनदेशको र समुद्रको निर्देश गरिएको छ त्यो शब्दलाई यवन देशले र आदर्श पर्वत शब्दले नै बाधित गरिदिन्छन् । भाषावैज्ञानिक दृष्टिले पनि तारस र आदर्श सजिलो गरी आक्षरसाम्न भएका छन् । यसैगरी मत्स्यपुराणले भारतवर्षभन्दा पूर्वतिर किरात र पश्चिममा यवन छन् भनेर बताएको पाइन्छ :
योजनानां सहस्रं वै द्वीपोऽयं दक्षिणोत्तरः ।
आयतस्तु कुमारीतो गङ्गायाः प्रबहावधिः ।।
द्वीपोहृयुपनिविष्टोऽयंम्लेच्छैरन्तेषु सर्वशः ।
यवनाश्च किराताश्च तस्यान्ते पूर्वपश्चिमे ।।२।।
यसरी नै मार्कण्डेय पुराणमा पनि यसै प्रकारले सीमा निर्धारण गरेको भेटिन्छ । पुराणमा प्रयुक्त ‘यवन’ शब्दबाट मुसलमान जाति ग्रहण गर्न मिल्दैन । किनभने यो जाति त हजरत मुहम्मदको मत स्वीकार्ने भएको हुनाले उत्पन्न भएको जाति हो जसको जन्म नै ईस्वीको १४औं शताब्दी मानिन्छ । अब यिनको उल्लेख पुराणमा कसरी सम्भव हुन्छ ? पुराणमा त यवनदेशबाट यवनदेश नै ग्रहण गर्नैपर्छ अन्यथा सारा शास्त्रीय तानावाना चुँडिन्छन् । यवन देश पनि केबल युनान या ग्रीसको मात्रै नाम होइन भूमध्यसागरका नजिकमा रहेका सबै देशहरू जहाँ यहुदी जातिको निवास थियो यहुदीया र कोण्डिया आदिलाई यवनदेश शब्दबाट ग्रहण गरिन्छ ।

यसका पनि अनेकौं प्रमाण पुराणादिमा भेटिन्छन् । यहाँसम्म पनि आर्यावर्त या भारतवर्ष फैलेको थियो भन्ने देखिन्छ ‘योजननां सहस्रं वै द्वीपोऽयं दक्षिणोत्तरम् । पूर्वे किराता यस्यान्ते पश्चिमे यवनास्तथा’ भनेर मार्कन्डेय पुराणले तोकेको देखिन्छ । पूर्वमा भनिएको किरातका सम्बन्धमा पनि इतिहासविद्को भनाइअनुसार चीनसागरभन्दा पूर्ववर्ती देशका नै निवासी जाति थिए भन्ने संकेत पाइन्छ । पद्यमपुराण र मत्स्य पुराणमा त पृथ्वीलाई चार दले कमलका रूपमा चित्रण गरिएको भेटिन्छ :
पद्मं नाभ्युद्भवं चैकं समुत्पादितवांस्ततः ।
सहस्र वर्णं विरजं भाष्कराभं हिरण्मयम ।।
पद्मे हिरण्मये तस्मिन्नसृजद् भूरिवर्चसम् ।
स्रष्टानां सर्वलोकानां ब्रहृमाणं सर्वतोमुखम् ।।
तच्च पद्मं पुराभूतं पृथ्वीरूपमुत्तमम् ।
यत्पद्मं सा रसादेवी पृथ्वी परिकथ्यते ।।
एवं नारायणास्यार्थे मही पुष्करसम्भवा ।
प्रादुर्भावोऽप्ययं तस्मान्नाम्ना पुष्करसंज्ञितः (पद्मपुराण सृष्टि खण्ड, अ ४०)।
अर्थात् भगवान्ले नाभिबाट एउटा कमल उत्पन्न गराए जो हजारौं वर्ण (रङ/थरी) को थियो । त्यो स्वर्णमय पद्ममा रज (पुष्पपराग) थिएन । शुद्ध थियो त्यसको आभा सूर्य समान चम्किलो थियो, त्यसमा महातेजस्वी ब्रहृमाण्ड निर्माता चारैतिर मुख भएका ब्रहृमालाई उत्पन्न गरे । त्यही पद्म पछि आएर पृथ्वीका रूपमा परिणत भयो । यसैलाई रसवती पृथ्वी पनि भनियो । यसै सम्बन्धमा मार्कण्डेय पुराण भन्छ ‘तदेतत्पार्थिवं पद्मं चतुष्पत्रं मयोदितम् । भद्राश्वभारताद्यानि पत्राण्यस्य चतुर्दिशाम्’ । त्यो जुन पृथ्वीपद्म छ जसलाई मैले चतुष्पत्र बताएको थिएँ त्यसका भद्राश्व, भारत आदि चार पत्र छन् ।

यहाँ कुरो चार गरे पनि दुईवटाको मात्रै निर्देश देखिन्छ संस्कृत श्लोकमा । ब्रहृमपुराणमा चाहिँ चारैवटा पत्र या भागको निर्देश यसरी गरेको भेटिन्छ- ‘भारताः केतुमालश्च भद्राश्वाः कुरवस्तथा । पत्राणि लोकपद्मस्य मर्यादा शैलबाहृयतः’ । यहाँ भारत, केतुमाल, भद्राश्व र कुरु ती चारलाई पृथ्वीका चारदल (महादेश) त्यो बेला सिंगो पृथ्वी यिनै चारमहादेशमा विभाजित थियो । यहाँ कुरु शब्दबाट उत्तर कुरु नै ग्राहृय छ । यी चारै भूखण्ड परिमाणीय दृष्टिले बराबर थिए जो भूगोल खगोलका कल्पित ९०-९० अंशमा विभाजित थिए । यसको प्रमाणका निमित्त सूर्यसिद्धान्तको भूगोलाध्याय हेरौँ :
भूवृत्तपादे पूर्वस्यां नवकोटीति विश्रुता ।
भद्राश्ववर्षे नगरी स्वर्णप्रकारतोरणा ।।
याम्यायां भारते वर्षे लंकातद्वन्महापुरी ।
पश्चिमे केतुमालाख्ये रोमकाख्या प्रकीर्तिता ।।
भूवृत्तपादविवरास्ताश्चान्योन्य प्रतिष्ठिताः ।
तासामुपरिगो याति विषुवस्थो दिवाकरः।।
न तासु विषुवच्छाया नाक्षस्योन्नतिरिष्यते ।
भूगोलका दृष्टिले लंका र सुमेरुलाई छुँदै जुन रेखा जान्छ त्यसलाई भारतवर्षको मध्यरेखा भनिएको छ । त्यसभन्दा पूर्वमा रहेको ४५ अंश र पश्चिमको ४५ अंशबाट व्याप्त जुन भूखण्ड छ त्यही नै भारतवर्ष हो भन्ने यस सिद्धान्तले सिद्ध गरेको देखिन्छ । भारतवर्षभन्दा ९० अंश पूर्वमा भद्राश्ववर्ष रहेको छ भने यो भन्दा ९० अंश उत्तरमा उत्तर कुरु रहेको कुरो गरिएको छ । उत्तरकुरुभन्दा ९० अंश पर नै केतुमालवर्ष आउँछ । यसरी भूपद्मका चारवटै पत्रको वर्णन गरिएको हामीले देख्यौँ । भारतवर्षको मध्यरेखा उज्जयिनीमा मानिएको छ । यो २३ । ९ उत्तर अक्षंसमा रहेको छ ।

पश्चिमा भूगोलविद्हरू ग्रिनविच नामक मध्यरेखाबाट देशान्तरको गणना गर्दछन् । यो उज्जयिनीभन्दा माथिबाट गएको भारतीय मध्यरेखा पश्चिमा विद्वानका अनुसार ग्रिनविच मध्यरेखामा ७५ । ४३ अंश अन्तर रहेको हुन्छ । यसरी भूमध्यरेखामुनि स्थित उज्जयिनीबाट ४५ अंश पश्चिमसम्म भारतको पश्चिमी सीमा सिद्ध हुन्छ र त्यो भाग भूमध्यसागरसमीप नै रहेको पनि मानिन्छ । पुराणहरूमा भारतवर्षका ९ वटा उपमहाद्वीपको वर्णन भेटिन्छ –इन्द्रद्वीप, नागद्वीप, सौम्यद्वीप, गान्धर्वद्वीप, वारुणद्वीप, कशेरुमान्द्वीप, गभस्तिमानद्वीप, ताम्रपर्ण र सिंहलद्वीप, नेपाली समाजमा लाइने श्रीमद्भागवतमा र उपपुराणहरूमा पनि यस्ता उपमहाद्वीपको वर्णन पाइन्छ ।

आजका भूगोल बेत्ताले यिनका आधारमा खोजेर व्यख्या गरे भने खगोलभूगोलमा पूर्वको ज्ञान कति गहिरो या सतही के थियो भन्ने त पत्तो चल्ने थियो । त्यतातिर हाम्रा सम्बद्ध विषयविज्ञको प्रवेश नै देखिँदैन । ऋग्वेदमा इन्द्र र वरुणमध्ये कसलाई मान्ने भन्ने ठूलो वाक्युद्ध भएको छ । त्यस युद्धमा सिन्धुनदीलाई सीमा नदी बनाएर वरुणलाई प्रमुख मान्नेलाई सिन्धुनदीभन्दा पश्चिम र इन्द्रलाई प्रमुख मान्नेलाई सिन्धुनदीभन्दा पूर्वको भाग ब्रहृमाले दिएर झगडा केही समयका निमित्त शान्त गराए पनि आजको काश्मिरका निमित्त भारत र पाकिस्तान युक्रेन र रुस जस्तै लडिरहेका थिए भन्ने पनि ऋग्वेदको दसौं मण्डलको ऋचा ८६ देखि आरम्भ भएर अन्त्यसम्मै यो झगडा गएको संकेत पाइन्छ ।