गठबन्धनको माखेसाङ्लामा दलहरू

✍️ इन्द्रबहादुर बराल

भिन्नभिन्न राजनीतिक दर्शन भएका दलहरूसँको गठन्धनबाट बनेको सरकार आफैंमा एउटा असामान्य र अस्वाभाविक देखिन्छ । हिजो एउटा विशिष्ट परिस्थिति र परिवेशमा त्यस्ता अस्वाभाविक जस्तो लाग्ने गठबन्धनलाई स्वाभाविक वा परिस्थितीजन्य परिणाम भनेर माने पनि अब त्यस्तो परिस्थिति छैन । एकहदसम्म स्थानीय निर्वाचनलाई जनताले साथ दिए पनि अब गठबन्धनको औचित्य र आवश्यकता छैन । तथापि आगामी संघ र प्रदेशको चुनावमा अहिलेको गठबन्धनलाई निरन्तरता दिने कांग्र्रेस केन्द्रीय समितिको बैठकको निर्णयको माखेसाङ्लो बडो गजबको रहस्य बन्दै गएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावलाई हेर्दा गठबन्धन त्यति चुस्तदुरुस्त देखिएन । त्यस चुनावमा पनि गठबन्धनमा आबद्ध दलहरूका कार्यकर्ता र मतदाता त्यति उत्साहप्रद रूपले खटिएको अनुभव गर्न सकिएन । तसर्थ फरक स्कुलिङबाट आएका फरक पार्टीका कार्यकर्तामा असहजता भएको पाइयो । चुनावी सभा जुलुसमा नारा लगाउन त्यत्तिकै असहज महसुस गरेको सबैमा जगजाहेर छ । यस्तो परिस्थितिमा फेरि पनि आसन्न संघ र प्रदेशको चुनावमा गठबन्धन गरेर जानु माखेसाङ्लो बुझी नसक्नु छ ।

हिजोको गठबन्धनको आवश्यकता औचित्यपूर्ण थियो । तत्कालीन नेकपा (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र संविधानविरुद्धको कदमलाई रोक्नु थियो । त्यही भएर गठबन्धन आवश्यक थियो । अब पनि गठबन्धनको निरन्तरता केका लागि भन्ने जिज्ञासा उठ्नु स्वाभाविक छ ।

अहिले यही विषयमा गाउँ, शहर र बस्तीबस्तीमा बहस चलिरहेको छ केका लागि गठबन्धन ? यिनै र यस्तै प्रश्नको जवाफमा विशेष गरेर नेपाली कांग्रेसका कार्यकर्ता व्यग्र प्रतीक्षारत छन् । तर, त्यसको उत्तरभित्र सबै नेताहरूको आ–आफ्नै स्वार्थमा लिप्त भएको यसै पनि अनुमान गर्न सकिन्छ । अहिलेको चालु गठबन्धनभित्र धेरै प्रकारका चलखेल हुने सम्भावना प्रबल देखिन्छ, जसलाई माखेसाङ्लो भनिन्छ जुन बुझिनसक्नु छ । यसर्थ अब नेपाली कांग्रेसजस्तो पार्टीले सधैँ गठबन्धनको माखेसाङ्लोमा अल्झिनु त्यति उपयुक्त देखिँदैन । यसै कांग्रेसमा कार्यकर्ता व्यवस्थापन गर्न हम्मेहम्मे परेको अवस्थामा गठबन्धनले झन् जटिलता थपिने सम्भावना टड्कारो नदेखिने कुरै भएन ।

हिजोको गठबन्धनको आवश्यकता औचित्यपूर्ण थियो । तत्कालीन नेकपा (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र संविधानविरुद्धको कदमलाई रोक्नु थियो । त्यही भएर गठबन्धन आवश्यक थियो । अब पनि गठबन्धनको निरन्तरता केका लागि भन्ने जिज्ञासा उठ्नु स्वाभाविक छ । यस्ता जिज्ञासाको चित्तबुझ्दो जवाफ प्राप्त नभए आगामी दिनमा गठबन्धनले आशातीत उपलब्धि हासिल गर्न मुस्किल पर्छ । नेताहरूले भनेको कार्यकर्ताले मान्नै पर्छ भन्ने छैन । नेताहरूले एकातिर भन्ने कार्यकर्ताले अर्कोतिर चुनावी तालमेल गरे भने नौलो मानिने छैन । विचार मिल्छ न सिद्धान्त मिल्छ न कुनै आदर्श मिल्छ ।

त्यस्तासँग कहिलेसम्म र कसका स्वार्थमा चुनावी तालमेल गर्दै जाने ? यो गम्भीर प्रश्न गठबन्धनमा आबद्ध सबै दलका कार्यकर्तामा उब्जिएको हुनुपर्छ । बरू एउटा सहमति के गरेर जान सहज होला कि केही खास खास नेताहरूलाई जिताएर संसदमा ल्याऊँ । उदाहरणका लागि माओवादीका प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का माधव नेपाल आदिलाई संसदमा ल्याउनुको आवश्यकता र औचित्य पुष्टि गर्न सकिन्छ न कि अरूलाई । त्यसैले कांग्रेस लोकतन्त्र मूलधारको पार्टी सधैँ बैशाखीको सहारा लिन लालायित देखिनु लज्जास्पद विषय हो । प्रचण्ड-माधव आदिको मुख लुकाउन कांग्रेस तिनैसँग सती जानु स्वाभाविक देखिँदैन ।

नेपालको राजनीतिमा तत्कालीन अवस्थाबाट राजनीतिक निकासका लागि गठबन्धन आवश्यक देखिए पनि बाँकी कुरामा यसले (गठबन्धन) ले विकृतिमात्रै भित्र्याएको तथ्य छर्लंग छ । त्यसैले बरू कांग्र्रेस हार्न तयार हुनुपर्छ तर राजनीतिमा विकृति र विसंगति स्वीकार्न कोही मञ्जुर छैनन् । एउटा व्यत्तिको सनकमा असमयमै संसद विघटन गर्ने पाखण्डी र दम्भीलाई तह लगाउन गरिएको गठजोडको अब औचित्य छैन । कोलिसन सरकारका कारण उत्पन्न बाध्यात्मक परिणामको दोष सम्पूर्ण रूपले कांग्रेसमाथि मात्रै थुपरिएको छ ।

आज कांग्र्रेस तिनै कोलिसन सरकारको समयमा भएका विकृतिको काउछो पन्साउँदै हैरान छ । सरकार टिकाउन कहिले संसद लुकाउने, कहिले सांसद विदेश भ्रमणमा पठाउने अनि पजेरो संस्कृति भित्र्याउने जस्ता गलत कार्यको कार्यकर्ताले बचाउ कहिलेसम्म गर्ने ? यस्ता प्रश्नहरूको निरूपण नहुँदा कार्यकर्तालाई अप्ठ्येरो परिरहेको छ । अहिले पनि सरकार गठबन्धनकै छ । न्यूनतम साझा कार्यक्रमको आधारमा सरकार चल्ने र चलाउने हो भने सहयात्री दलहरू आ-आफ्नै डम्फु बजाउन लागेकाले सरकारले जनतालाई विश्वासमा राख्न धेरै कठिन भएको छ । यसैबीचमा यदि यो देउवा नेतृत्वको सरकारले चुनावलाई अनुकूल वातावरण बनाउने हो भने अबिलम्ब केही लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ । अरू धेरै गर्ने अवस्था नभए पनि कम्तीमा प्रशासनिक खर्च कटाएर मात्रै भए पनि जनतामा सकारात्मक सन्देश जाने निश्चित छ । मन्त्रीहरूले खाइपाई आएका सुविधा घटाउन सकिन्छ । कर्मचारीलाई दिएका गाडी आदि सुविधा औचित्य र आवश्यकता हेरेर खर्च कटौती गर्न सकिने अवस्था छ ।

यति सामान्य काम गर्न नसक्नु सरकारको असक्षमता हो । एउटा संयन्त्र बनाएर कहाँ–कहाँ अनुत्पादित खर्चहरू भएका छन् त्यसको छानविन गरी खर्च कम गराउन सकिने अवस्था छ । अब यो सरकारको ध्यान त्यतातिर अविलम्ब केन्द्रित गर्न ढिलाइ गर्नु हुँदैन । समय उपयुक्त छ तर त्यस अनुकूलको निर्णयमा आलटाल भए कार्यकर्ता अप्ठेरोमा पर्छन् । प्रशासनिक खर्च कटौती गर्दा देशको वर्तमान आर्थिक संकट टार्नलाई पनि मद्दत पुग्ने निश्चित छ । यतातिर सरकार र सरकार प्रमुखको ध्यान जान अत्यावश्यक छ । न कि केबल गठबन्धनको माखेसाङ्लोमा मात्रै जेलिएर बाटो बिराइयो भने कांग्रेस र गठबन्धनमा आबद्ध अन्यदलको अवस्था कमजोर हुने पक्का छन् ।

र्खरै सम्पन्न स्थानीय चुनावको परिदृष्यले अब नेपाली जनता दलहरूको घेराभित्रबाट बाहिर निस्कँदै छन् भन्ने सन्देश दिइसकेको अवस्था छ । त्यतिमात्रै होइन दलीय प्रणालीमाथि नै औला ठड्याइएको यस परिस्थितिलाई नियन्त्रणमा राख्न पार्टीहरूको अनुशासनका बन्धनहरू मक्किइसकेका हुनेछन् । यसर्थ समय बलवान् हुन्छ भन्ने तथ्य काठमाडौंमा बालेन साह, धरानमा हर्क साङपाङ र धनगढीमा गोपाल हमाल आदिको विजयले बताइसकेको छ । अब ती स्वतन्त्र व्यक्तिले दलहरूको संगठित शक्तिलाई चुनौती दिँदै जुन प्रकारले सफलता प्राप्त गरेर निसन्देह दियो, यस घटनालाई सामान्य मान्नु हँुदैन । निकट भविष्यमा हुने चुनावमा दलहरूका लागि फलामको चिउरा हुने संकेत देखिइसकेका छन् । यस्ता संकेतलाई गम्भीर रूपले समीक्षा गर्दै जानु पार्टीहरूका लागि उपयुक्त हुनेछ ।

गठबन्धनकै प्रसंगमा सत्तारूढ दलमध्येको प्रमुख घटक नेपाली कांग्रेसमा समीक्षा गरेको सुनियो । बाँकी अरू दलहरूले आसन्न संघ र प्रदेशको चुनावको सन्दर्भमा आफूहरूबीचमा बहस र छलफल भइरहेका छन् । नेपाली कांग्र्रेसले त अहिलेका सत्तासहयात्रीसँग गठबन्धन नै गरेर जाने निर्णय गरिसकेको छ । सिद्धान्ततः गठबन्धन कायमै गरेर जाने भनिए पनि शक्ति (सिट) बाँडफाँडको विषय त्यति सहज देखिँदैन । त्यतिमात्रै होइन कांग्र्रेससँगको सहकार्यभन्दा प्रचण्ड माधवलाई कम्युनिष्ट एकता नै रोजाइ नहोला भन्न पनि सकिँदैन । यदि त्यस्तो भइदियो भने कांग्रेसले निसन्देह चुनावमा एक्लै भिड्नुपर्ने हुन्छ । कांग्रेस एक्लै भिड्न त्यति सजिलो किन छैन भने भर्खरै सम्पन्न १४औं महाधिवेशनको अस्वस्थ्य प्रतिस्पर्धाको तिक्तता मेटिएकै छैन । त्यो महाधिवेशनको तिक्तताले आउने चुनावमा प्रतिशोधको भावना प्रकट हुने प्रबल सम्भावना हुन्छ । त्यस अवस्थामा पार्टीले असन्तुष्टिलाई व्यवस्थापन गर्न सक्ने देखिँदैन भने स्वयं केन्द्रीय सदस्यहरूका विचारहरू पनि आफू सुरक्षित नभए विद्रोह गर्ने धम्कीपूर्ण अभिव्यक्ति आफैंमा चुनौती भएर आउने संकेत पाइएको छ ।

डा. शेखर कोइराला र गगन थापा आसन्न संघीय चुनाव जित्न भावी प्रधानमन्त्रीको कार्ड फाल्न थालेका छन् । त्यसकारण अब भावी प्रधानमन्त्रीको कार्ड फालेर चुनाव लड्नेको कांग्रेसमा लर्कै लाग्ने सम्भावना बढी नै देखिनेछ ।

यसर्थ अहिले नेपाली कांग्रेसभित्र भावनात्मक एकता देखिँदैन । भावनात्मक एकताको अभावमा गठबन्धनको माखेसाङ्लोमा जेलिएर चुनाव जितिन्छ भन्नु दिवास्वपना मात्रै भयो भने नौलो नहोला । त्यसैले नेपाली कांग्रेसका लागि फरक विचार भएका दलहरूसँग माखेसाङ्ले सम्बन्ध कायम गरेर चुनावी मैदान जानुभन्दा एक्लै लड्नु उपयुक्त देखिन्छ । अब सधैँ कम्युनिष्टभित्रको अन्तरसंघर्षमा खेलेर आफ्ना मूल्य र मान्यता तिलाञ्जलि दिनु हुँदैन । केपी शर्मा ओलीको ज्याजदीका विरुद्ध गठबन्धन गरेर गए पनि अब गठबन्धनको औचित्य सकिएको छ । स्थानीय निर्वाचनसम्म पनि जेनतेन केही पालिका र वडामा जे भयो ठीक भयो तर अब त्यही बाटो लाग्नु कांग्रेसको लागि प्रतिउत्पादक हुन सक्छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सुरुमा गठबन्धनको परिणाम (स्थानीय चुनावको) बारेको छलफलले अब गठबन्धनमा नजाने हो कि जस्तो आवाज सुनिएको थियो । तर, त्यो आवाज पनि विस्तारै सेलाएर गएको अनुभव भयो । संस्थापान इतर समूह अन्ततः आफू सुरक्षित हुनमात्रै फरक मत राखेका रहेछन् । जब आफू सुरक्षित भएकोमा ढुक्क भए तब गठबन्धनमै लतारिए ।

डा.शेखर कोइराला र गगन थापा आसन्न संघीय चुनाव जित्न भावी प्रधानमन्त्रीको कार्ड फाल्न थालेका छन् । त्यसकारण अब भावी प्रधानमन्त्रीको कार्ड फालेर चुनाव लड्नेको कांग्रेसमा लर्कै लाग्ने सम्भावना बढी नै देखिनेछ । जे भए पनि नेपाली कांग्र्रेस गठबन्धनको माखेसाङ्लोबाट फुत्कने छाँट छैन । यस्तो गठबन्धनको माखेसाङ्लोको बुझिनसक्नु जालोबाट कांग्रेस कहिले मुक्त हुने हो यसै भन्न सकिने स्थिति छैन । एक प्रकारले कांग्रेस गठबन्धनमा गइसक्यो । त्यसैले अब यत्ति भनौं कि सिट बाँडफाँडमा आफ्नो एकल बहुमत आउने गरी टिकट लिने काम होस् र आफ्ना मूल्य र मान्यताको अगाडि घुँडा टेक्ने काम भएको देख्नु नपरोस् यही हुनुपर्छ कांग्रेसको चिन्ता र चासो । अन्त्यमा गठबन्धनको माखेसाङ्लो कांग्रेसका लागि फलदायी बनोस् ।