रिङ रेस्लिङको अन्तर्राष्ट्रिय तालिम हुने

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ सञ्चालनसम्बन्धी सम्झौता भएको छ । संघद्वारा सञ्चालित लैनचौरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष व्यावसायिक रिङ रेस्लिङ तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ । व्यावसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरूले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने संघले जनाएको छ ।

यो विशेष तालिम जम्मा ५० जनालाई निःशुल्क प्रदान गरिने समेत संघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली रिङ रेस्लरहरूको सहभागिता बढाउने उद्देश्यले तालिम सञ्चालन गरिनेछ । तालिममा रिङ रेस्लिङसँगै खेल मनोविज्ञान, आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ । छनोट भएका रेस्लरहरूलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउने संघले जनाएको छ ।