वरदान र अभिसापको रूपमा इन्टरनेट

✍️ के.बी. बस्नेत

औपचारिक रूपमा इन्टरनेटको सुरुवात सन् १९८३ जनवारी १ मा भएको मानिन्छ जुनबेला यसका प्रयोगकर्ता नगन्य मात्रामा थिए । सन् १९५५ मा विश्वका एक प्रतिशत जनसंख्यामा सीमित इन्टरनेट सेवा सन् २००० मा ६.८ प्रतिशत पुग्यो । सन् २०२१ जनवरी महिनासम्ममा विश्वको सरदर ५१.५ प्रतिशत जनसंख्यामा यसको पहुँच पुग्यो । आज इन्टरनेट प्रविधिको विकासको कारण सूचना तथा सञ्चार प्रविधिमा निकै परिवर्तन भएको छ । एनिथिङ एण्ड एभ्रिथिङ इन्टरनेटको अवधारणाको विकास भएको छ ।

वास्तवमा गुगल, बिकिपिडिया, युट्युब, ट्विटर, फेसबुक, स्टाटसपोष्ट, स्काइप, भाइबर कल र इन्स्ट्राग्राम जस्ता मानवउपयोगी एप्लिकेसन इन्टरनेटको विकासको कारण सम्भव भएको हो । जसबाट प्रत्येक दिन करोडौं व्यक्तिले फाइदा लिएका छन् । इन्टरनेटको विकासको कारण इ-एजुकेसन, दूरशिक्षा, इ-सपिङ, भर्चुअल अफिस, कागजविहीन कार्य, आर्टिफिसियल इन्टेलिजेन्स, भिडियो कन्फरेन्स, मिति थाहा पाउन, कुनै चीज वा वस्तु प्रयोग गर्ने तरिका जान्न, कुनै चीजको भिडियो प्रयोग गर्न, मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याब्लेट आदिको प्रयोग गर्न सहज भएको छ ।

यतिमात्र होइन, इन्टरनेटको विकासका कारण भाषा परिवर्तन गर्न, नयाँ भाषा तथा शब्दको विकास गर्न सघाउ पुगेको छ । दूरसञ्चारमा विकास भएको कारण क्यासलेस ट्रान्जेक्सन डिजिटल क्यास सम्भव भएको छ । वास्तवमा डिजिटल क्यास अवधारणाको विकास हुनुभनेको मुद्रा बनाउँदा वा कागतको नोट छाप्दा लाग्ने खर्च कटौती गर्नु हो । जसबाट राष्ट्रको धन तथा सम्पति बचत हुन्छ । मानवजीवनलाई सुखी बनाउन नवीन चीजहरूको आविष्कार भएको छ । यसै सन्दर्भमा इन्टरनेटको आविष्कारले मानवजीवनमा नयाँ आशाहरू पलाएका छन् ।
सन् २००५ मा विकसित मुलुकहरूमा ४४.९ प्रतिशत, विकासशील मुलुकहरूमा ९ प्रतिशत, अतिकम विकसित मुलकहरूमा ०.६ प्रतिशतसहित विश्वका औसित १८.९ प्रतिशत घरधुरीमा इन्टरनेट सेवा पुगेको थियो । सन् २०१० मा विकसित देशहरूमा ६६.३ प्रतिशत, विकासशील देशहरूमा १९.८ प्रतिशत र अतिकमविकसित मुलुकको ३४ प्रतिशत घरधुरीहरूमा इन्टरनेट सेवा पुगेको थियो । यसैगरी सन् २०२० मा विकसित मुलुकहरूमा ८७ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा ४६.७ प्रतिशत र अतिकमविकसित मुलुकमा अन्दाजी ११ प्रतिशत घरधुरीहरूमा इन्टरनेट सेवा पुग्ने अनुमान गरिएको थियो ।

सन् २००५ मा विश्वको इन्टरनेट डेन्सिटी १६.८ प्रतिशत थियो भने विकसित मुलुकहरूमा ५२.८ प्रतिशत, विकासोन्मुख मुलुकमा १८.१ प्रतिशत र अतिकमविकसित मुलुकमा १.४ प्रतिशत थियो । यसैगरी सन् २०२० मा विश्वको इन्टरनेट डेन्सिटी ५९.६ प्रतिशत पुग्यो भने विकसित मुलुकहरूमा ८६.६ प्रतिशत, विकासोन्मुख मुलुकमा ४७ प्रतिशत र अतिविकसित मुलुकमा १९.१ प्रतिशत पुग्यो । यी तथ्यांकहरूले विश्वमा इन्टरनेटको पहुँच बढिरहेको आभास हुन्छ ।

वस्तुतः इन्टरनेटको स्पिड जति बढी भयो त्यति काम गर्न सहज हुन्छ । साधारणतया यसको स्पिड किलोवाइट, मेगावाइट र टेरावाइट प्रतिसेकेण्डमा नापिन्छ । यसको गति विभिन्न देशमा फरक छ । उदाहरणका लागि यसको गति नेदरल्याण्डमा १७.३ एमविपिएस, स्विडेनमा १९.७ एमविपिएस, नर्वेमा २० एमविपिएस, जापानमा १८ एमविपिएस, स्विजरल्याण्डमा १८.४ एमविपिएस, दक्षिण कोरियामा २६.३ एमविपिएस छ भने नेपालमा र भारतमा ५ एमविपिएसभन्दा पनि कम छ । बढी इन्टरनेट स्पिड हुने देशहरूले बढी फाइदा लिए पनि इन्टरनेट पहुँच पुगेका सबै देशहरू केही मात्रामा भए पनि लाभान्वित छन् ।

आज इन्टरनेट प्रविधिको कारण सूचना तथा सञ्चार प्रविधिमा निकै विकास भएको छ । सन् २००५ मा विश्वमा इन्टरनेट धनत्व १६.८ प्रतिशत हुँदा विकसित मुलुकमा ५२.८ प्रतिशत, विकासोन्मुख मुलुकमा १८.१ प्रतिशत र अतिकमविकसित मुलुकहरूमा १.४ प्रतिशत छ । सन् २०२० मा विश्वमा इन्टरनेट धनत्व ५३.६ प्रतिशत पुग्दा विकसित मुलुकहरूमा ८६.६ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा ४७ प्रतिशत र अतिकमविकसित मुलुकहरूमा १९.१ प्रतिशत मात्र छ । हाल इन्टरनेटको धेरै विकास भए पनि यसको पहुँचमा लिंगीय विभेद छ । किनकि सन् २०१८ मा विश्वव्यापी रूपमा इन्टरनेट उपयोगमा महिलाहरूको पहुँच १२ प्रतिशतभन्दा कम थियो । जुन पुरुषहरूले उपभोग गर्नेभन्दा निकै नै कम मानिन्छ ।

सन् २०१९ मा विश्वको कूल जनसंख्यामध्ये ४.२५ अर्ब शहरमा र ३.५० अर्ब ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले इंगित गरेको छ । जब कि थ्रिजीको प्रयोग शहरी क्षेत्रमा ८९ प्रतिशत पुग्दा ग्रामीण क्षेत्रमा २९ प्रतिशत मात्र पुग्यो । सन् २००५ मा १.११ अर्ब व्यक्तिले इन्टरनेट प्रयोग गर्ने गरेकोमा सन् २०२० मा उक्त संख्या ४ अर्ब १३ करोड पुग्यो । जसमा विकसित मुलुकमा ३.०२ अर्ब, विकासोन्मुख मुलुकहरूमा १.११ अर्ब र अतिकम विकसित मुलुकहरूमा १९.०८ करोडमात्र प्रयोग गरेका थिए ।

एक अन्तर्राष्ट्रिय तथ्यांकअनुसार सन् २०२० सम्ममा ६६.४ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचबाट टाढा रेको देखिन्छ । जसमा अफ्रिकामा ७८ प्रतिशत, अरब क्षेत्रमा ४८.३ प्रतिशत, एशिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत, कमनवेल्थ इन्डिपेन्डेन्ट क्षेत्रमा २४.१ प्रतिशत, युरोपमा १८ प्रतिशत र दक्षिण अमेरिकामा २९.१ प्रतिशत मानिस इन्टरनेट सेवाबाट वञ्चित रहेको देखिन्छ । वर्तमान समयमा क्लाउड आफैंमा बिग डाटा मानिन्छ । तर यसको व्यवस्थापन, सञ्चालन, टिकाउपन र एक्सल्पोजन आफैं चिन्ताको विषय बनेको छ ।

क्लाउडको विज्ञहरूको भनाइ अनुसार यो फुकुसीको आणविक भट्टीसरह विष्फोटक रहेको छ । यसले डाटा सेक्युरिटी, क्लाउड सेक्युरिटी र साइबर सेक्युरिटी गर्न निकै चुनौतीपूर्ण भएको छ । यसैगरी भ्वाइस सेक्युरिटी, क्रेडिट कार्डबाट भुक्तानी, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ पासवर्ड संरक्षण, फेसबुकबाट हुनसक्ने स्काण्डल आदि चुनौतीपूर्ण बन्दै गएको छ । यथार्थतः कुनै पनि एप्लिकेसनको नाजायज प्रयोग रोक्न कठिन भएको छ । यसैले विगतमा सामाजिक सञ्जालको कारण रसियाको चुनाव प्रभावित भएको कुरा सर्वविदित छ । इन्टरनेटको स्पिडमा विश्वका सबै देशमा समानता छैन । विशेषतः विकासोन्मुख तथा अतिकमविकसित देशहरूमा उक्त स्पिड सन्तोषप्रद छैन । यसैले यी देशहरूमा उपभोक्ताहरूले इन्टरनेटबाट आजसम्म पनि ठोस फाइदा लिन सकेका छैनन् ।