पार्टीहरू अन्तरकलहमा, जनता रनभुल्लमा

फरक-फरक पार्टीहरू बीचको कलहलाई अस्वाभाविक मान्न सकिँदैन किनभने फरक पार्टीहरूका राजनीतिक एजेण्डा, सिद्धान्त, नीति र तिनले अवलम्बन गर्ने गरेका कार्य योजना नै फरक हुन्छन् । त्यसैले एकले अर्काको विरोध गर्नु, तिनका बीच मनमुटाव हुनु, तिनका सत्ताकेन्द्रित राजनीतिलाई प्राथमिकता दिनुलाई त्यति अनौठो मानिँदैन । त्यसमा पनि नेपाल जस्तो प्रजातन्त्रको त्यति धेरै लामो अभ्यास नभएको देशका लागि सत्ताको छिनाझपटीलाई राजनीतिक पार्टी, पार्टी कार्यकर्ता र जनताले समेत स्वाभाविक मान्ने गरेका छन् । तर, एउटै पार्टीभित्र पनि विभिन्न गुटउपगुट बनेर एकअर्काको विरोध गर्ने परम्परा नेपालमा निकै मौलाउँदै आएको छ । यसलाई भने स्वाभाविक मान्न सकिँदैन । हाल यस्तो प्रवृत्ति अझै बढेर गएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले तथा जनता समाजवादी पार्टी सबैमा यस प्रकारको अवस्था विद्यमान छ । नेकपा एमाले समाजवादी पार्टीमा समेत यो प्रवृत्ति देखिएको छ । एमाले समाजवादी अरूभन्दा नयाँ पार्टी भएका कारण यस्तो अन्तरकलह कम छ तर हालैको मन्त्रिमण्डल हेरफेरमा भित्रिएका र बाहिरिएकाबीच तिक्तता भने यस पार्टीमा पनि देखियो । मन्त्री पाउनकै लागि एमाले मूल पार्टी छोडेर मन्त्री बनेकाहरूलाई पद छोडेर अरूका लागि ठाउँ खाली गर्नु पर्दा यस्तो अवस्था आयो र रुवाबासीसमेत भएको देखियो । मन्त्री बन्न पालो पर्खेर बसेकाहरूको व्यग्रता र पद नछोड्नेहरूको सुस्तताका बीच यस्तो अवस्था आएको हो भन्न सामान्य जनतालाई गाह्रो परेन ।

नेकपा एमाले र माओवादी केन्द्रमा हाल त्यति अन्तरकलह छैन जस्तो देखिएको थियो तर भित्रभित्रै भुसको आगो जसरी कलह फैलिँदै गएको पाइयो । दुई महिना पहिले सम्पन्न स्थानीय निकायको निर्वाचनमा भएको अन्तर्घातको छानबिनका लागि यी दुवै पार्टीले समिति बनाएका छन् । यसबाट यी पार्टीभित्र पनि आन्तरिक वैमनष्यता चुलिँदै गएको रहेछ भनेर बाहिर सतहमै देखिन आएको छ । तुलनात्मक रूपमा अरू प्रजातान्त्रिक पार्टीमा भन्दा बढी अनुशासन यी पार्टीमा छ भनेर बुझ्ने गरिएकोमा यी पार्टीभित्रको यो प्रकरणले गर्दा यी पार्टीहरूमा पनि अब अनुशासन खस्किँदै गएको प्रमाणित हुन्छ । जसपाको हालको भाँडभैलो पार्टी विभाजनको अवस्थासम्मै पुगेको छ ।

यसरी पार्टी विभाजन हुने र फेरि जोडिन जाने क्रम प्रायः सबै पार्टीमै छ तर सबैभन्दा पछिल्लो घटना भने जनता समाजवादी पार्टीमा देखिन आएको हो । पार्टीहरूका यी सबै परिदृश्यले नेपालमा पार्टीहरू देश विकास र जनताका हितमा होइन स्वार्थपूर्तिका लागि मात्र खडा हुने गरेका छन् भन्ने देखिन्छ । हालसम्मकै तुलनात्मक रूपमा बढी विश्वसनीय र भरपर्दो पार्टीका रूपमा नेपाली कांंग्रेस रहँदै आएको छ, तर यस पार्टीमा आपसी गुटउपगुटको राजनीति मौलाइरहेकै छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस सत्ता साझेदार केही पार्टीहरूसँग गठबन्धन गरेर गएको हुँदा तुलानात्मक रूपमा सफल हुन सक्यो ।

यसबाट गठबन्धन विरोधीहरू पार्टी सभापति शेरबहादुर देउवाका विरोधी गुटका भएर पनि उहाँको प्रशंसामा उत्रिन थालेका थिए । फेरि हाल अचानक माहोल बिग्रन थालेको देखिएको छ । देउवाविरोधी गुट वा डा.शेखर कोइरालाको गुटले विभिन्न ठाउँमा भेला र जमघट गराएर सभापति देउवाको विरोध गर्न थालेको छ । सभापति गुटसँग उक्त समूहले ४० प्रतिशत स्थानको आरक्षण खोजेको छ । सभापति पनि उहाँहरूसँग सम्झौता गर्ने पक्षमा देखिनुभएको छैन र आपूmलाई यसरी नै जिस्क्याइरहने हो भने अर्कोपटक पनि आपूm सभापतिमा उठ्ने बताउनुभएको छ ।

यसबाट पार्टीमा मेलमिलापभन्दा विग्रहकै वातावरण झांंगिँदै गएको छ । पार्टीहरूबीचको यस्तो विग्रहको सोझो प्रभाव जनतामा पर्न जान्छ । जनता नेपाली राजनीतिको यस्तो गति देख्दा निराश बन्दै गएका छन् । आशा गरिएका पार्टीहरू नै यसरी आफैंमा तितरबितर भइदिँदा कोप्रति आशावादी हुने भन्ने अन्योलको सिर्जना भएको छ । आक्रोश र आरोप-प्रत्यारोपले न पार्टीहरू नै अग्रगतिमा जान सक्छन् न जनताका लागि नै कुनै काम हुनसक्छ । त्यसैले जनताका लागि राजनीति गर्ने भनेर दाबी गर्ने पार्टीहरूले आपसी कलहको बाटो छोडेर यसतर्फ सोच्नु आवश्यक छ ।