जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन

जुम्ला । जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएको छ ।

गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आंकलन गरेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘स्याउ निर्यातबाट जुम्लामा झन्डै ५० करोड बढी आम्दानी हुने भएको छ ।’ जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।

गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका-५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गर्नुभएकाे छ । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकाले रोजगारी खोज्न कालापहाड जानुपर्ने अवस्था नरहेको धिताल बताउँनुहुन्छ । ‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ। तर व्यवस्थापकीय कमजोरीले बजारीकरणमा समस्या देखिन्छ,’ उहाँले भन्नुभयाे ।

ग्रेडिङ लेवलिङ प्याकेजिङ जस्ता कुरामा सरकारी तवरबाट ध्यान पुर्‍याउन जरुरी रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँँदै पनि मूल्य पाउन सकेको छैन । कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।’

जुम्लामा चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जसबाट करिब ५० करोड आर्थिक भित्रिने आंकलन छ ।’ उहाँका अनुसार पालिकामध्ये सबैभन्दा बढी चार हजार मेट्रिक टन गुठिचौरमा फलेको छ ।

समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन बढेको हो । यस वर्षको स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमित्त प्रमुख अधिकारीले बताउँनुभयाे ।

जुम्ली काँचो स्याउ बजारमा, पहिचान गुम्ने खतरा

-विजय रावत

जुम्ला । जुम्लामा उत्पादित अर्गानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्व नहुँदै यहाँको स्याउ किसानसँग मिलेमतो गरी व्यापारीले बिक्रीवितरण गर्न थालेका छन् । भदौ १५ भन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ । त्यस्तै काठमाडौं, नेपालगञ्ज, दाङ, धनगढी विराटनगरलगायत जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको जनाइएको छ । आर्थिक समृद्धिसँगै जिल्लाको पहिचानसँग जोडिएको अर्गानिक स्याउको पहिचान गुम्नेसमेत खतरा बढेको कृषिविज्ञ बताउँछन् । जिल्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले भन्नुभयो, ‘साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सूचित गराइएको हो । पछि उपयुक्त मूल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिप्नु, बाहिर बजारमा पठाउनु जुम्ली स्याउको पहिचान गुम्ने संकेत हो ।’ साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको उहाँले जानकारी दिनुभयो ।

तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । दुवै स्थानीय तहले सूचना जारी गर्दै स्याउको पहिचान कायम राख्न, बजारको मागअनुसार पूर्ति गर्न, राम्रो मूल्य पाउनका लागि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्नसमेत सूचना गरिएको चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले बताउनुभयो ।

तातोपानीका कृषि शाखाका प्रमुख पदम नेपालीले पालिकामा व्यापारी, किसान र जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया गरी भदौ पहिलो साताबाट मात्रै स्याउ टिप्ने निर्णय गरेको जानकारी दिनुभयो । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउखेतीमा निर्भर छन् । बजारमा काँचो स्याउ पुग्दासमेत सम्बन्धित निकायले कुनै अनुगमनको पहलसमेत गरेका छैनन् ।