ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरेँः पूर्वमहानिरीक्षक खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गृनुभएकाे छ । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उहाँले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताउनुभयाे ।

आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उहाँले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताउनुभयाे ।

देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूलाई पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताउनुभयाे ।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उहाँले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताउनुभयाे । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उहाँले बताउनुभयाे ।

खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिनुभएकाे थियाे । जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको जसपाले आरोप लगाएको थियो ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही-१ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन् ।

मधेसमा पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भन्नुभएको थियो, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’

मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भन्नुभएको हो । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो ।

ठीक एक महिनापछि ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेसमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताउनु भएको थियो ।

ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले सत्य भएको पुष्टि गरिदिएको छ । किनभने केही स्थानीय तहको मतगणना बाँकी छँदै मधेस प्रदेशमा एमालेले दोस्रो दल बन्‍ने छनक देखाएको छ ।

यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो । निर्वाचन आयोगले अद्यावधिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा बढी दुई वटा स्थानीय तह जितेर २० वटा पुर्‍याएको छ । नौं वटा स्थानीय तहमा भने अग्रता छ । अग्रता भएकामा पनि जित भए मधेस प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ ।

जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ ।

सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकि, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो । प्रदेश संसद्‍मा एमाले फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीभन्दा सानो छ ।

तर, २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ । नेकपा (माओवादी केन्द्र)ले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यस पटक १० स्थानीय तह जितेको छ ।

माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ । मधेसमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ । अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टीे) पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन ।

यद्यपि, एमाले भने निर्वाचनबाट मधेसमा शक्तिशाली दलको रूपमा उदय भएको छ । कांग्रेसको प्रतिस्पर्धी दल बन्‍ने देखिएको छ ।

मधेसमा एमालेको चुनावी कमान्ड सम्हालेका पार्टी केन्द्रीय सचिव रघुवीर महासेठले एमाले शक्तिशाली पार्टीको रूपमा देखिनुमा मधेसी नागरिकको एमालेप्रति छुट्टै खालको आकर्षण रहेको बताउनु भयो ।

‘मधेसमा एमालेलाई शक्तिशाली दल हुनबाट कसैले रोक्न सक्दैन । जुन कुरा यो निर्वाचनले पुष्टि गरिदियो’, उहाँले भन्नुभयो, ‘मधेसी नागरिकको विश्‍वास एमालेमाथि छ । किनभने एमाले मधेसहित सिङ्‍गो देशको विकास गर्ने पार्टी हो ।’ उहाँले मधेसलाई एमालेमय बनाउन चाहेको बताउनु भएको छ ।