मिस्टी हेमफिलर वेभ अनि राष्ट्रवादी अनुहारहरू !

✍️ डा. नारायण चालिसे
मेरो अभियानमा सामेल हुन आइपुगेका छन् अमेरिकी नागरिक मिस्टी हेमफिलर वेभ । प्राइभेट मोरगेज गु्रपकी असिस्टेन्ट कर्मचारी बयालीस वर्षे मिस्टी ज्यादै फरासिली र ट्यालेन्ट कर्मचारी रहिछिन् । यहाँ महिला वा पुरुषलाई सँगै जोडेर हेर्ने चलन कम रहेछ । उनी पनि आपूm र आफ्ना बच्चाहरूको कुरा गर्छिन्, लोग्नेलाई आपूmसँग जोड्दिनन् । भन्छिन्- महिनाको चार हजार जति कमाउँछु, चारजना सन्तान छन् । घरको किस्ता, गाडीको किस्ता, केटाकेटीको खर्च, अरू आकस्मिक खर्चहरू चलाउँदा मलाई पनि ठिक्क छ । खास पैसा जम्मा गर्न सक्दिनँ । गणेश तिमी पनि आफ्नो इन्कमले राम्ररी सपोर्ट गर्ने गरी मात्र लोन लेऊ, घर किन ।

उनी कम्पनीकी कर्मचारी हुन् जसरी पनि कस्टमरलाई लोनका निम्ति कन्भिन्स गर्दिनन् । बरु उचित सल्लाह दिन्छिन् तिमीले सक्नेजति मात्र ऋण लेऊ । मेरो विचारमा महँगोमा ठूलो घर लिएर चर्को किस्ता बुझाउनुभन्दा कम मूल्यको घर लेऊ, आरामले बस । त्यसैगरी आफ्नो अनुभव र आयस्तरको वास्तविकता बताएर ग्राहकलाई पनि ज्यादै उपयोगी सल्लाहमात्र दिने बरु उसको सामथ्र्यलाई पहिचान गरेर ऋण लिन वा नलिन उचित सल्लाह दिएर पठाउने मिस्टी आफ्नै बहिनीजस्तो लाग्यो । दश बजेको अप्वाइन्टमेन्टका निम्ति ठीक दश बजे आफ्नो कार्यकक्षमा आइन्, शिष्टाचारपूर्वक चियाकफी सोधिन् । हामीले कफीको इच्छा गरेपछि आफैंले कफी बनाएर दिइन् र हिँड्ने बेलामा हामीले कफी पिएका कपहरू पनि विनम्रतापूर्वक आफैंले उठाएर लगिन् ।

भाइ गणेशको साथमा व्यावहारिक सल्लाहका निम्ति साथी गएको मलाई परिचय मागिन् र भनिन्- मेरो पनि एकजना भिनाजु हुनुहुन्छ र ठट्टैठट्टामा मलाई भन्न भ्याइन्- तपाईं आफ्नो उमेरभन्दा कमजस्तो देखिनुहुन्छ । यसरी स्वास्थ्यमा ख्याल गर्नुभएकोमा तपाईंलाई धन्यवाद छ । मैले बुझेँ हामीले ज्यादै नसुहाउने शैलीले नेपालमा भन्ने गर्छौं मुस्कानसहितको सेवा । त्यो कुरा मिस्टीको व्यवहारबाट साँच्चै चरितार्थ हुन्थ्यो । त्यसैले त अमेरिकीहरूले यत्रो उन्नति गरेका रहेछन् । यहाँका जे जति अफिसमा म पस्ने मौका पाएँ संयोग नै भनौँ धेरै ठाउँमा मैले महिला कर्मचारीलाई भेटेँ र ती सबै ज्यादै हँसिला, फुर्तिला र सहयोगी स्वभावका पाएँ ।

अमेरिकीहरूको राम्रो व्यवहार देखेर मलाई आफ्नो देशका अड्डाहरूमा काम गर्न र गराउन जाँदाको दृश्य अगाडि आउँछ । हामी आफ्नो कार्यालयमा कामले आउने ग्राहकहरूलाई या त शत्रुको जस्तो या त ब्वाँसोको जस्तो धूर्त व्यवहार गर्छौँ ।

त्यसो त सहयोग मागेपछि अति नै शिष्टतापूर्वक सक्दो सहयोग गर्ने कुरा अमेरिकाको संस्कृति नै रहेछ । हामी पूर्वीय संस्कृतिका अनन्य उपासकहरू सेवा र सहयोगलाई हाम्रो मूल आदर्श मान्ने विचारमा ठूला-ठूला कुरा गर्नेहरूको व्यवहार कस्तो हुन्छ भन्ने हामीले भोगेकै छौँ तर विचारभन्दा व्यवहार धेरै ठूलो कुरा रहेछ । यिनीहरूले पूर्वीय संस्कृति पढेका छन्, छैनन् मलाई थाहा छैन तर सेवा र सहयोगलाई धर्म मान्ने व्यवहार मैले अमेरिकीहरूमा पाएँ । असल भएर सोच्नु वा सार्वभौम मानवीय आदर्श चेतनाले परिचालित हुनु सायद आध्यात्मिक हुनु हो । यस अर्थमा अमेरिकीहरू पनि आध्यात्मिक नै हुन् ।

मलाई धेरै ठाउँमा सहयोगको खाँचो पनि पर्‍यो यो यात्रामा । मैले धेरै अमेरिकीबाट त्यो सहयोग पाएँ त्यसैले पनि म हदैसम्म सकारात्मक छु यिनीहरूप्रति । यहाँको एउटा इन्स्योरेन्स कम्पनीमा वेभ नाम गरेकी अमेरिकी महिलासँग कामको सिलसिलामा अर्को दिन भेट्ने अवसर मिल्यो । ती पनि ज्यादै हँसिली र सहयोगी स्वभावकी रहिछन् । मोटरको इन्स्योरेन्स रकमको चेक बुझ्न त्यहाँ जाँदा उनी यसरी उत्साहित भएर उपस्थित भइन् र सहयोग गरिन् कि मानौँ हामी उनको घरका ज्यादै नजिका आफन्त हौँ जसको स्वागत उनले गर्नुपर्छ । कामप्रतिको प्रेम र विश्वास अनि कस्टमरप्रति मिठो व्यवहार यहाँका कर्मचारीहरूको सेवाको नियम नै रहेछ ।

आफ्नो कामका निम्ति कसैको मुख नताक्ने, आफ्नै ठानेर काम गर्ने, कर्मलाई पहिलो प्राथमिकतामा राख्ने र ग्राहकहरूको काम र उनको समस्यालाई गम्भीररूपले लिएर हल गर्न प्रयत्न गर्ने यी अमेरिकीहरू सबै आफन्तजस्ता लाग्ने रहेछन् । यद्यपि काम सकिएर बाहिर निस्केपछि उनीहरूले कुनै वास्ता गर्दैनन्, चासो राख्दैनन् तर आश्चर्य उनको अफिसको काममा पुगेपछि उनीहरू यति नम्र, भद्र, शिष्ट र जिम्मेवार हुन्छन् कि हामीलाई नै संकोच लाग्छ उनीहरूको सहयोगी व्यवहार देखेर ।

उनीहरूले आफ्ना नियमित कस्टमर र नयाँ आगन्तुकहरू दुवैलाई शिष्टाचारपूर्वक आफ्नो अफिसमा स्वागत गर्छु भन्छन्, चिसो, तातोको सोधपुछ गर्छन्, नयाँ भए चिनजानका निम्ति हात अघि बढाउँछन्, परिचय माग्छन्, परिचय दिन्छन्, कामको कुरा गहिरिएर सुन्छन्, आफूले गर्न सक्ने सहयोग र गर्न नसक्ने भए त्यसको जानकारी र अघिल्लो प्रक्रियाका निम्ति जानकारी गराउँछन् । आपूmबाट सम्भव नहुने काम भए तिम्रो यो काम राम्ररी सम्पन्न होस् भनेर शुभकामना दिन्छन् । आफूबाट सम्पन्न हुने भए कुनै बिलम्ब नगरी काम गरिदिन्छन् र अघिल्लो प्रोसेसका निम्ति शुभेक्षा प्रकट गर्छन् । आफू बसेको ठाउँबाट उठेर शिष्टाचारपूर्वक बिदाइ गर्छन् ।

अमेरिकीहरूको यति राम्रो व्यवहार देखेर मलाई आफ्नो देशका अड्डाहरूमा काम गर्न र गराउन जाँदाको दृश्य अगाडि आउँछ । हामीले आफ्नो कार्यालयमा कामले आउने ग्राहकहरूलाई या त शत्रुको जस्तो या त ब्वाँसोको जस्तो धूर्त व्यवहार गर्छौं । उनीहरूका समस्याहरूलाई ध्यान दिएर सुन्दैनौँ, सुनेको कुरालाई गम्भीर भएर समाधान गरिदिँदैनौँ । सजिलै हुने कामलाई अनेक बहानामा टारिदिन्छौँ, गर्नैपर्ने भए ज्यादै नमिठो व्यवहार देखाएर गरिदिन्छौँ मानौँ त्यो आफ्नो शत्रु हो यसलाई जतिसक्दो चाँडो आफूबाट भगाउनै राम्रो छ जस्तो गर्छौं ।

उसलाई चिढ्याउने र तिरस्कार गर्ने जस्ता कामहरू प्रायः हाम्रा अड्डाहरूमा हुने गर्दछ । या त घुस लिने बहाना खोजेर झुलाउँछौँ र दुःख दिन्छौँ । हाम्रो इज्जत क्रमशः मेटिँदै जान्छ र जे-जति हाम्रा गौरवका निशानीहरू छन् तिनको प्रतिष्ठा पनि गुम्दै जान्छ । यो जमिन र आकाशको जस्तो फरक व्यवहार देखेर र भोगेर मलाई लाग्छ हुने बिरुवाको चिल्लो पात भनेको यस्तै हो । यो मुलुक जसले संसारलाई आपूmतर्पm आकर्षित गरिरहेछ अनि त्यो मुलुक जसले आफ्नै नागरिकलाई पनि सौताको जस्तो व्यवहार गर्छ, चिढ्याउँछ, तर्साउँछ, दुःख दिन्छ र आपूmबाट टाढा-टाढा बनाउँदै जान्छ । हामीले आफ्नो विधि र व्यवहार नफेर्ने हो भने निश्चय नै आफैंलाई दोष दिनुभन्दा अर्को विकल्प हामीसँग छैन ।

सम्पन्नताको गुड्डी हाँक्दै जाने प्रचलनले हाम्रो ज्ञानको दायरा संकुचित हुँदै गइरहेको छ । हाम्रा शास्त्र पढेर पश्चिमाहरू धेरै अगाडि पुगिसकेका छन् । हामीले गौरव गर्दै जाने हाम्रा शास्त्रलाई उनीहरूले व्यावहारिकरूपमा अगाडि ल्याएर अब्बल बन्दै जानेक्रम बढ्दो छ ।

अमेरिकीहरूको त्यति लामो इतिहास छैन भनिन्छ । इतिहास हेरेरै योग्यताको मूल्यांकन गर्ने हो भने हामी जत्तिका सम्पन्न यिनीहरू हुँदै होइनन् । हामीले हाम्रो भूमिलाई देवलोक पनि भन्ने गरेका छौँ । धेरै देवी र देवताको जन्मस्थलको कल्पना हामीले गरेका छौँ । हाम्रा धेरै ठाउँहरूलाई हामीले तीर्थस्थल मानेका छौँ । पृथ्वीमा सुखसयल गर्नेदेखि स्वर्ग जानेसम्मका उपायहरू हाम्रा शास्त्रमा छन् पनि भनेका छौँ । त्यसैले हाम्रो भूमि पुण्यभूमि हो र तपोभूमि पनि हो । यस्तो भूमिमा जन्मिने अवसर पाएका हामी र हाम्रा कर्महरू सके त देवसदृश हुनुपर्ने नभए पनि असल मानिससदृश त अवश्य हुनुपर्ने हो जस्तो लाग्छ ।

हाम्रो सम्यता र संस्कृतिको इतिहास त्यत्तिकै लामो र गौरवशाली रहेको छ । हाम्रो पौरस्त्य परम्परामा माता, पिता, गुरु, अतिथि वा मान्यजन सबै देवसमान छन् भनिएको छ । त्यसैले हामीबाट सम्पन्न हुने कर्म र व्यवहारहरू पनि त्यत्तिकै शिष्ट र विशिष्ट हुनुपर्ने हो । त्यतिमात्र होइन, हाम्रा आचरण, आहार, विहार, विचार र व्यवहारका त्यत्तिकै विशिष्ट परम्परा रहेका कुरा शास्त्रहरूबाट थाहा लाग्छ । यदि हामीले हाम्रा शास्त्रले निर्देश गरेका कुराहरूमध्ये थोरैमात्र पनि व्यवहारमा ल्याउन सक्ने हो भने पनि हामी संसारमा अब्बल ठहरिन सक्छौँ । तर, हामीले हाम्रा ज्ञानशास्त्रका कुराहरूलाई आफ्नो अहंकार प्रदर्शन गर्ने, अरूलाई होच्याउने माध्यममात्र बनाउँदै आएका छौँ ।

सम्पन्नताको गुड्डी हाँक्दै जाने प्रचलनले हाम्रो ज्ञानको दायरा संकुचित हुँदै गइरहेको छ । हामीभन्दा हाम्रा शास्त्र पढेर पश्चिमाहरू धेरै अगाडि पुगिसकेका छन् । हामी घमण्ड गर्दै जाने अनि हामीले गर्व गर्ने शास्त्रलाई उनीहरूले व्यावहारिकरूपमा अगाडि ल्याएर उनीहरू अब्बल बन्दै जानेक्रम बढ्दो छ । अमेरिकीहरूको यो शिष्टाचार त्यसैको पछिल्लो दृष्टान्त हो जस्तो लाग्यो । म यात्रा लेख्न खोज्छु तर मेरो मन विचारका ज्वारभाटाहरूलाई निखार्न चाहन्छ मनबाट । गुम्सिएर बसेको विचारको भिड तँछाडमछाड भइरहन्छ ।

गर्मीमा पसिना पग्लिएझैँ मनबाट विचारको धारो बगेपछि मैले रोक्न, छेक्न नसके जस्तै अहिले देशको सीमाबाट बाहिरिनेबित्तिकै मेरो मन भतभती पोलेर पोखिन खोजिरहेछ । यहाँका हरेक कुराहरूप्रति सकारात्मक दृष्टि देखेर छोरी भन्छिन्- किन बाबा जे कुरा गर्दा पनि वा जुन कुरा देखे पनि हजुरले यहाँका राम्रा कुराहरूमात्र ठान्नुहुन्छ ? मैले भनेँ- छोरी मैले त यहाँ नराम्रो भन्ने केही देख्दिनँ त ! हाम्रोजस्तो मुलुकको अस्तव्यस्तताले आक्रान्त भएर अमेरिका छिरेको कुन मानिसलाई अमेरिकामा दोष देखिएला र कुन्नि ! होलान् यहाँ पनि अनगिन्ती गल्ती कमजोरीहरू र होलान् आफ्नै सीमाहरू जुन यहीँको भएर बस्नेहरूलाई बिझाउँदा हुन् ।

तर, यति कुरा सत्य हो राम्रो नराम्रोका हाम्रा धारणाहरू हामीभित्रका अभाव र कुण्ठाका अभिव्यक्तिमात्र अवश्य होइनन् । हामीले भोगेका भोगाइ र अनुभूतिहरू यसरी नै आफ्नोपनलाई बिर्सने मार्गमा छन् र यी सबैको एउटै कारण हाम्रो देशको असफल राजनीतिक यात्रा हो । यसरी जताततै देश दुखिरहनु पनि राजनीतिको भाषामा उग्र राष्ट्रवाद हुन सक्छ । सायद मैले मनमा राष्ट्र बोकेर हिँड्न हुँदैनथ्यो !!!