कविता : मान्छे

✍️ नन्दलाल खरेल

भौतिक सम्पन्नताको होडबाजीमा मान्छे
अध्यात्मलाई चटक्कै बिर्सेको छ
अध्यात्म पनि गलत परम्परा
कुसंस्कारमा रुमलिएको छ
जीवन धर्म संस्कृति परम्पराको
परिभाषा आआफ्नो स्वार्थमा भएको छ
दया, प्रेम, करुणा, सद्गुण, शान्ति
एकादेशको कथा भएका छन् ।

अशान्ति, हत्याहिंसा, लुट, भ्रष्टाचार
यी सबैमा मान्छे सबैभन्दा अगाडि छ
धर्म, सम्प्रदाय, समूह, प्रायः सबैले
आआफ्नो बजारीकरण गरेको छ ।

कतिपय ध्यानी, ज्ञानी, विवेकी सन्तमा पनि
व्यभीचार, लोभ, इष्र्याको ब्यारोमिटर उच्च छ
सबै आपूmमात्र ठीक अरू बेठीक
भन्ने बुझाइले मानिस अंहकारमा फसेको छ ।

घण्टी हल्लाउनु आरति गर्नु फूल चढाउनु
मन्दिरबाट फर्कँदा मासु किनेर भान्सा सजाएको छ
धन, दौलत, सन्तान, सुख, शान्तिका लागि
मान्छे परमात्माको मन्दिरमा फूल र लड्डु चढाएको छ ।

कतिपय सन्त महन्त ज्ञानी गुरु पनि
आफ्ना शिष्यलाई पाउ ढोगाएको छ
लोभ गर्नु हुन्न भन्ने सन्तहरू पनि
एकान्तमा गई भक्तले चढाएको पैसा गन्न थालेका छन् ।

अध्यात्मले ब्रहृमाण्डको सृष्टिको रहस्य
ईश्वरले गरेको भनेको छ
भौतिकवादले ब्रहृमाण्ड सृष्टिको रहस्य
ईश्वरले नभएर प्राकृतिक नियम भनेको छ ।

मान्छे बुझेर नबुझेर आफ्नो शरीरलाई
अनेकौं कष्ट दिई ध्वष्त बनाएको छ
सबै समस्याको समाधान आफूले नगरेर
मान्छे ईश्वरको शरणमा परेको छ ।

मान्छे शान्तिका लागि आफू भित्र नभएर
बाहिर जगतमा भौंतिरिएको छ
काम, क्रोध, लोभ, मोहको कुरा गरी नथाक्ने
ज्ञानी मान्छेले नै अज्ञानीलाई माथ गरेको छ ।

धेरैले ईश्वर खोज्न कहीँ टाढा नगएर
आपूmभित्र खोज भनेको छ
ईश्वरले मान्छे होइन
मान्छेले ईश्वर बनाएको छ ।