पाँचतारे सुविधा अनि हाम्रा डिले चेतनाहरू !

✍️ डा. नारायण चालिसे

मन नै अनिर्णयको कारागामा बन्दी बनेको समय शरीरको बन्धनभन्दा धेरै अन्यमनस्क हुँदोरहेछ । कसैले मलाई तिमी शरीरको सुखले बाँच्न चाहन्छौ कि मनले ? भनेर सोध्यो भने मेरो निःसन्देह उत्तर हुनेछ मलाई मनले स्वतन्त्र हुन देऊ । शरीरले बाँच्नुभन्दा मनले बाँच्नु धेरै उच्च कुरा रहेछ । त्यसैले त स्वतन्त्रताका कुरा यति प्रिय बनेर आउने रहेछन् । केही वर्ष पहिले एकजना विद्वान् मित्रले काठमाडौँको पाँचतारे होटलमा बसेर कुनै प्राज्ञिक सम्मेलनमा भाग लिन पाएको अवसरलाई हाम्रो जस्तो अर्थिक हैसियत भएका व्यक्तिले पाँचतारे होटलमा बसेर कार्यक्रममा भाग लिन पाउनु सौभाग्यको कुरा हो ।

यो अवसर प्रदान गर्ने संस्थालाई धन्यवाद छ भनेर निकै कृतज्ञ भावमा विचार प्रकट गरेको विषयलाई मैले आज सम्झिएँ । ती मित्रसँग या त शरीर र मनको स्वाधीनताको अधिकार आफैँसँग थियो या तिनलाई मनको स्वतन्त्रताको अनुभव थिएन । यस पटक त्यसै गरी कृतज्ञ हुने अवसर मलाई प्राप्त भएको थियो । तर, म त्यसरी नै अवसर प्रदान गर्ने संस्थाप्रति कृतज्ञ भने थिइन । कारण त्यस दिन मसँग मेरो स्वाधीन चेतना बाँकी थिएन । कुनै एयर लाइन्स कम्पनीले निर्धारित समयमा आफ्ना यात्रुलाई उडानमा पठाउन नसकेपछि डिले जहाजका यात्रीलाई पाँच तारेमा लगेर राखेको थियो र म त्यसैको भिक्टिम यात्री थिएँ ।

विमानको कार्यतालिका परिवर्तन भएको अवस्थामा टिकट लिएका यात्रुलाई सुविधासम्पन्न होटलमा लगेर राख्नुपर्ने अन्तर्राष्ट्रिय नियम नै हो । तर, यही विषयलाई हामी यात्रुलाई सम्मान गरेको मान्ने तहमै छौँ अहिलेसम्म । धेरै महत्वपूर्ण कार्ययोजनालाई थातीमा राखेर हामी त्यसो गर्न बाध्य भएका पनि हुन सक्छौँ । कतिपय व्यक्तिहरूलाई यही विषय अवसर पनि हुन सक्छ तर समयले पछ्याएकाहरूलाई यो अवसर नभएर बाध्यता हो । उनीहरूका निम्ति एउटा असफलताले प्रदान गरेको पाँचतारेको मान त्यति गौरवपूर्ण नहुन सक्छ ।

निश्चय पनि सुविधासम्पन्न पाँच तारे होटलमा सर्वसाधारणले प्रवेश गर्न र त्यहाँका महँगा सुविधा लिन हाम्रो जस्तो देशमा त्यति सरल र स्वाभाविक विषय होइन । यस अर्थमा म जस्तो सर्वसाधारण नागरिकले पाँच तारेको सेवा लिन पाउनु त्यत्तिकै गौरवको विषय हुनुपर्ने हो । मैले आफ्नो खर्चले सबै परिवार बोकेर त्यहाँ जान र चौबीस घण्टा सेवा सुविधा लिन पहिलो त सक्दिनथेँ दोस्रो आफ्नो सामथ्र्य विनाको रहर गर्न चाहन्नथेँ होला । मलाई त्यो सेवा र सुविधा त्यति उत्साहप्रद नरहेकाले मैले आफूलाई कारागारको कैदीजस्तो ठानेको थिएँ । पाँच तारेको सेवाप्रति मेरो त्यति उत्साह र चासो थिएन । त्यसैले जे दिन्छन्, जसरी दिन्छन् र जहिले दिन्छन् त्यही समयसारिणीमा सुविधा लिएँ र यन्त्रवत् बाहिरिएँ ।

कति अनौठो छ जीवनको चेतना मनले स्वीकार नगरेको कुरा लाखमा प्राप्त भए पनि मूल्यहीन बन्न जान्छ जस्तो लाग्यो । मलाई पाँच तारे त्यसरी नै अर्घेलो भयो जसरी गर्मीको मौसममा प्राप्त भएको मूल्यवान् कोट अर्घेलो हुन्छ । यति धेरै आफ्ना कुरा गर्नुका पछाडि हाम्रो शासकीय व्यवस्थाभित्रका कतिपय कमजोरीका विषयमा र खासमा हाम्रा डिले चेतनाहरूका विषयमा सङ्केत गर्नु हो । जहाज डिले भएको विषय हामीले झट्ट भोग्न पाएको परिणामले गर्दा महत्वपूर्ण त भयो तर वर्षौंदेखि हाम्रो डिले मानसिकता, व्यवहार र कर्मको भने कतै अभिलेखीकरण भएन ।

समय त उही नै हो विमान नउड्दाका हजारौँ चौबीस घण्टा त्यसरी नै बिते हाम्रा जसरी अहिले मूल्य तिरेर बिताइएका चौबीस घण्टा बितेका थिए । महत्वपूर्ण हाम्रा अनगिन्ती समयहरू यसरी नै थाहै नपाई चिप्लिएका छन् हामीबाट तर तिनको कतै लेखाजोखा छैन । यसरी प्रत्येक समयलाई डिले समयको सूचीमा राखेर अध्ययन गर्ने हो भने हाम्रो डिले जीवन पत्ता लाग्छ । अन्य मुलुकहरू विकासमा किन अगाडि छन् र हामी किन पछाडि छौँ भन्ने पत्ता लाग्छ । संसारलाई सामान्य लागेका कुरा हाम्रा लागि किन चमत्कार लाग्दैछन् अहिलेसम्म भन्ने थाहा लाग्छ ।

हाम्रा समयहरू यसरी नै डिले हुनु हामी डिले हुनु हो । हाम्रा समयको मूल्य हामीलाई त्यतिखेर बढी थाहा लाग्थ्यो जतिखेर हामीले थोरै थोरै समयलाई पनि महँगो मूल्य तिरेर लिनु परेको हुन्थ्यो । जुवातास खेलेर, रक्सी पिएर, श्रीमती थर्काएर वा चौतारामा दिल्लगी गरेर अनन्त अनमोल समयलाई खेर फालेका हामीलाई समयको पनि महत्त्व हुन्छ । समय पनि मूल्यवान् हुन्छ भन्ने थाहा नै कहाँ छ र ? हामी जस्तै धेरै यात्रीहरूले पनि समयको महत्व बुझेको त्यो चौबीस घण्टा मेरा निम्ति समयको महत्व बुझ्ने अर्को निर्देशक आधार बनेको अनुभव भयो ।

त्यसो त हामी सधैँ समयभन्दा पछाडि हिँड्न रुचाउँछौँ । हामीसँग उखानै छ नेपाली समय भन्ने । देशका प्रधानमन्त्री, मन्त्री वा उच्चपदस्थ कुनै पनि व्यक्तिहरू हामीले समयलाई उपहास गरेरै बिताउने गरेका छौँ । तोकिएको समयमा तोकिएको ठाउँमा पुगेर कार्य सम्पन्न गर्नुलाई आफ्नो अकुशलता सम्झियुञ्जेल यस्ता डिले कार्यक्रमहरू सामान्य भइरहन्छन् । जुनदिन त्यही समयलाई महँगो मूल्यमा किनिन्छ तबमात्र समयको मूल्यवत्ता बुझिँदो रहेछ । हुन त हतार गरेर दौडिएरै पनि पुगिने अन्तिम ठाउँ हामीलाई त्यति प्रिय छैन । खासमा हामी पुग्ने त्यो शाश्वत ठाउँमा हामीलाई जाने चाहना नै छैन । आध्यात्मिक हुन सक्नुपर्छ, त्यागी बन्न सक्नुपर्छ त्यसको निम्ति ।

त्यसबाहेकका यी सबै त उपक्रमहरूमात्रै हुन् जीवनका । यसरी नै सबैले सोच्ने हो भने यो संसार उहिल्यै सिद्धभूमि बन्दो हो । आर्यघाटको आराधना गरेर भौतिक उन्नति गर्न सकिँदैन होला ? तर आर्यघाटलाई आफ्नो जीवनको शाश्वत यात्रा सम्झेर जसले काम गर्नअघि सर्ला त्यसबाट यी धेरै प्रकारका बेथितिहरू अवश्य कम होलान् । समयमा उड्न नसकेको जहाजको प्रतीक्षित यात्रु बनेर पाँच तारेलाई अवसर ठान्ने वा गौरव बोध गर्ने हाम्रो बाध्यता र रहर यी सबै हाम्रा जीवनका अङ्ग हुन् । मैले जे भोगेँ त्यस घटनाले त्यो धेरै महत्वपूर्ण हो मेरो जीवनको लागि ।

नागरिकको जीवनका चौबीस घण्टा त्यसरी अलमलमा पर्नु देश नै अलमलमा पर्नु हो । नागरिक चेतना अलमलिनु हो र समग्र देशको योजना अलमलिनु हो, विकास अलपत्र पर्नु हो । यसरी नै डिले गर्दै गएका हाम्रा वर्षौंका कामहरूको परिणाम यसरी प्लेनहरूसँगै हजारौँ सम्भावनाहरू डिले हुनु हो । डिले मात्रैले पनि नपुगेर समय त्यतिखेर अझै अप्रिय बन्दोरहेछ जतिखेर अख्तियार प्राप्त व्यक्ति वा संस्था आफ्नो नैतिकता बिर्सिएर घुसखोरीमा परिणत हुन्छ । चौबीस घण्टाको मानसिक कारावास पार गरेर विमानास्थल आइपुगेका नागरिकमाथि आँखै अगाडि कुनै कर्मचारीले ब्वाँसाको जस्तो व्यवहार गर्छ र अनधीकृत बाटो हिँडेर यात्रुहरूसँग घुस माग्छ ।

यात्रामा निर्धारित गरिएको लगेज क्षमताभन्दा बढी भएको सामानको या त नियमानुसार अतिरिक्त शुल्क तिर्नुपर्ने हो या त एयरपोर्टमै डिस्पोज गरेर जानुपर्ने हो तर त्यसो नभएर अनधीकृत बाटो प्रयोग गरेर टेबुलमुनिबाट अवैध रकम हात पारेपछि लगेजको तौल क्षमता तलमाथि हुने अनौठो प्रक्रिया लागू भएको दृश्यले मनस्थितिलाई थप विद्रुप बनाउँछ । अकिञ्चन यात्री असजिलो समयको अतिरिक्त मूल्य चुक्ता गरेर यात्रा गर्न विवश हुन्छ ।

घुस दिएपछि नियमविपरीत कुरा पनि नियमसम्मत हुने घुस नपाएपछि कानुनले बाँध्ने अनौठो अस्त्रले डामिएको यात्रीले घुस दिएपछि झन् बढी मौनता साँध्छ । सरकारी एयर लाइन्सको परिचयपत्र छातीमा टाँसेर कर्मचारीहरू कर्कस बोलीमा प्रस्तुत हुन्छन् । शकुनीको हाँसोमा कर्मचारीहरू यमदूत जस्तै लाग्छन् । समयको त्यो दृश्य आँखा अगाडि उभिएपछि त पाँचतारे सुविधा झनै कुरूप प्रहसन बनेर मञ्चन हुन्छ । कति धेरै उपहास हुन्छ राष्ट्रियताको अनि कति कठोर बनेर आउँछ नैतिकता । कति निरीह बनेर उभिन्छ कानुन अनि कति सजिलै अपमानित हुन्छ मानवता ।

ठीक यही कुरा चार घण्टाको उडान भरेर आइपुगिने अर्को कानुनसम्मत मुलुकमा धेरै पारदर्शी हुन्छ । कर्मचारीमा सहयोगको भावना छचल्किएर आउँँछ । कतै यात्रुलाई असुविधा पो हुन्छ कि ? उनीहरूसँग गरिने व्यवहारमा अन्यथा हुन्छ कि ? सुरक्षा व्यवस्थामा कतै सतर्कताको कमी हुन्छ कि ? भनेर सजग रहन्छन् कर्मचारीहरू । कति पारदर्शी बनेर प्रकट हुन्छ राष्ट्रियता अनि कोमल बनेर सम्मानित हुन्छ मानवता । यो यात्राले यिनै तमाम दृश्यहरूलाई साथी बनायो र सहयात्रा गर्‍यो समयले मसँग । प्रिय सञ्चेतना ! पटक पटक अग्नि परीक्षा दिइरहने सामथ्र्य नै छैन मसँग । अबको समयसँगै मनका घाउ पुरिँदै जानुपर्छ !!