किरणको टोली फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ । दुई पटकको च्याम्पियन माजियाले क्लब ग्रीन स्ट्रिटसलाई ३-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

माल्दिभ्समा भएको खेलमा माजियाको जितमा अकरम अब्दुल घानी, हम्जा मोहम्मद र मुसा यामिनले गोल गर्नुभयो । अकरम अब्दुल घानीको गोलबाट माजियाले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा ग्रीन स्ट्रिटसले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

त्यसपछि अतिरिक्त समयमा हम्जा मोहम्मद र वैकल्पिक खेलाडी मुसा यामिनले गोल गर्दै माजियाको फाइनल यात्रा तय गराउनुभयो । माजियाले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको थियो । माजियाले गत सिजन माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जितेको थियो । उहाँ लिगको उत्कृष्ट गोलरक्षकसमेत बन्नुभएको थियो । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएको थियो ।

माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रूपमा दोस्रो लिग उपाधि जितेको छ । मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा हृयाट्रिक गर्न सफल भएको थियो । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।