भारतलाई यु २० साफको उपाधि

काठमाडौं । गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यु २० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो ।

भारतको जितमा गुरकिरतले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे । खेलको निर्धारित समय भने २–२ को बराबरीमा टुङ्गिएको थियो । त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गर्यो ।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैले कुनै गल्ति गरेनन् ।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काएका थिए ।

४८औं मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१औं मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए । यसपछि खेलको ९२औं मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे । खेलको ९९औं मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि गोल गरे ।

यसअघि भारत लिग चरणमा बंगादेशसँग २–१ ले पराजित भएको थियो । भारतले प्रतियोगिताका पाँच खेलमध्ये चार खेलमा जित निकाल्यो ।

साफ यु २० : बंगलादेशविरुद्ध ‘गर या मर’ को स्थितिमा नेपाल

काठमाडौं । साफ यु २० च्याम्पियनसिप २०२२ अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बलियो बंगलादेशको सामना गर्दैछ । भारतको भुवनेस्वरस्थित कालिङ्गा रंगशालामा हुने खेल अपराह्न सबा ४ बजे सुरु हुनेछ ।

बंगलादेशबिरुद्ध नेपाललाई खेलमा सुखद नतिजा मात्र ल्याएर फाइनल यात्रा सम्भावना रहँदैन । कम्तीमा पनि नेपालले ५-० अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।

यता, आज नै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा माल्दिभ्सले अप्रत्याशित नतिजा निकाले नेपालको भाग्य खुल्नेछ ।

तीन खेलमा ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालभन्दा भारत गोलअन्तरमा निकै माथि छ ।

बंगलादेशले पहिलो खेलमा श्रीलकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।

बंगलादेशमाथि जित निकालेमा नेपालको खातामा पनि ९ अंक हुनेछ । दोस्रो खेलमा भारतले माल्दिभ्सलाई हराएमा घरेलु टोलीको पनि ९ अंक हुनेछ । यस्तो अवस्थमा राम्रो गोलअन्तरको आधारमा भारत र बंगलादेशले शीर्ष दुई स्थान पक्का गर्दै फाइनलको टिकट काट्नेछन् ।

पहिलो दुई खेलमा नेपालले क्रमशः माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले हराएको थियो । तर, फाइनलमा दाबेदारी प्रस्तुत गरेको नेपालका लागि तेस्रो खेलमा भारतसँग व्यहोरेको ८-० को लज्जास्पद हार बेहोर्नु घातक बनेको छ ।

यु-२० टिमः
गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

यु २० साफ : भारतसँगको हारपछि नेपालको फाइनल पुग्ने सम्भावना न्यून

काठमाडौं । यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । आइतबार नेपाली टिमले भारतसँग ८–० को फराकिलो हार बेहोर्‍यो।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पौलले एक–एक गोल गरे ।

खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो सात गोल थप्यो ।

खेलको ५०औं मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६४औं मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औं मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्याए । यस्तै, ७८औं मिनेटमा टंकधरले छैटौं गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौं गोल गरे ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोल अन्तरको आधारमा तालिकाको तेस्रो स्थानमा छ ।

अब, अन्तिम दिन नेपालले बंगलादेशको सामना गर्नेछ । जुन खेलमा नेपाल ५-० ले विजयी हुनुपर्नेछ ।

साफ यु २० : नेपालको सानदार सुरुवात

काठमाडौं । साफ यु २० फुटबल च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराउँदै नेपालले उत्कृष्ट सुरुवात गरेको हो ।

भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गर्नुभएको थियो । दीपेशले ४२औँ मिनेटमा रिबाउन्डमा प्राप्त बललाई झण्डै २५ यार्डबाट गोल गर्नुभएको थियो ।

सुगमले ५८औँ मिनेटमा टोलीको अग्रता दोब्बर पार्नुभयो । विपक्षी रक्षकहरूलाई छलाउँदै सुगमले पेनाल्टी बक्सबाट दोस्रो गोल गर्नुभएको थियो । क्रितिशले ६२औँ मिनेटमा पेनाल्टीमार्फत् नेपालका लागि तेस्रो गोल गर्नुभयो । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको थियो । मनग्यले इन्जुरी समयमा चौथो गोल गर्नुभयो ।

अब नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी पाँच टोलीको राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।