नेपाली कांग्रेस र गठबन्धनको राजनीति

✍️ ओम आचार्य

बीपी कोइराला जीवित रहुन्जेल कांग्रेसले कसैसँग कुनै पनि आन्दोलनमा र कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल या गठबन्धन गरेन । त्यतिखेरसम्म नेपाली कांग्रेस अन्य पार्टीको तुलनामा सबल थियो । देशको कुनै पनि राजनीतिक भूमिकामा या आन्दोलनमा नेपाली कांग्रेस अग्रणी थियो र कांग्रेसकै वरिपरि रहेर अन्य राजनीतिक दलहरू पनि आफ्नो भूमिका र उपस्थिति जनाउन कुनै न कुनै रूपमा आफूलाई सक्रिय गराउँथे । त्यो सक्रियता प्रायः कांग्रेसको विपक्षमा देखिन्थ्यो तत्कालीन समयमा कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा त्यो शक्ति बाधकका रूपमा रहन्थ्यो र त्यही भएर बीपी त्यस्ता शक्तिहरूदेखि टाढा भएरै कांग्रेसको छवि बनाउन सफल रहनुभयो ।

यहाँसम्म कि बहुदल कि निर्दलको जनमतसंग्रहमा बीपी एक्लै बहुदलको पक्षमा लाग्नु भयो । त्यतिखेर मनमोहन अधिकारीलगायत (मोहनविक्रम सिंहबाहेक) बहुदलकै पक्षमा रहेका पनि अन्य राजनीतिक दलहरू कांग्रेसको ठीक विपरीत थिए । धाँधलीपूर्ण तरिकाबाट जनमतको परिणाम विपक्षमा आएपछि अस्वीकारको आन्दोलन सुरु भयो तर पनि बीपीले परिणाम स्वीकार गरेपछि आन्दोलन स्थगित भयो । त्यतिखेर कांग्रेसमा अनुसाशन र नेताप्रति असीम श्रद्धा र निष्ठा पनि थियो तर अहिले बीपीले बनाइएको कांग्रेसको साख अहिले पुस्ताले भोगिरहेका छन् र त्यही साखमा आफ्नो इतिहास बनाउन प्रयत्नशील छन् तर त्यो साखलाई अक्षुण्य राखेर बचाउनेभन्दा गिर्दो अवस्था पु¥याएको भन्नुपर्ने अवस्था छ । बीपीको अवसानपछि २०४६ सालमा भएको आन्दोलनमा लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले अन्य राजनीतिक दलहरूसमेतलाई सहभागिता गराएर आन्दोलन गर्‍यो ।

नेपाली कांग्रेसको इतिहासमा अन्य राजनीतिक दलहरूसँग गठबन्धन गरेर गरिएको आन्दोलन अधिकारिक रूपमा सम्भवतः यो नै पहिलो हो । त्यसपछिका समयमा अन्य दलहरू पनि स्थापित हुँदैगए र नेपाली जनतामा परिचित हुँदै गए त्यो गराउने श्रेय नेपाली कांग्रेसलाई दिँदा हुन्छ । लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा त्यतिखेर भएको आन्दोलन पञ्चायती व्यवस्थाबाट आजित भएर तत्कालीन राजशाहीबाट पटकपटक कांग्रेसलाई धोखा दिँदै शासन सत्ता सञ्चालन गरेको कारणबाट नेपाली कांग्रेसले अन्य राजनीतिक दलसमेतको सहभागितामा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

त्यो कांग्रेसले आफ्नो नेतृत्वमा गरेको आन्दोलन राष्ट्रहित र राजनीतिक व्यवस्था परिवर्तनका लागि थियो । त्यसले राजनीतिक दलहरूलाई एकआपसमा वैचारिक र सैद्धान्तिक रूपमा फरक भए पनि राजनीतिक व्यवस्था परिवर्तनका लागि एक ठाउँमा उभ्याएको थियो र त्यो कुनै निर्वाचनमा जाने गठबन्धन थिएन । त्यो काम गणेशमान सिंहको नेतृत्वबाट सम्भव भयो तर पनि त्यसको अर्को पाटो के भयो भने अन्य राजनीतिक दलहरू स्थापित हुँदै गए । स्थापित गराउने काम कांग्रेसले नै गर्‍यो र आफू कमजोर हुँदै जाने अवस्था पैदा भयो ।
२०६२÷०६३ को संयुक्त जनआन्दोलनले त मुलुकमा आमूल परिवर्तन नै आयो, राजशाही गयो, मुलुक धर्म निरपेक्ष भयो, मुलुक संघीय गणतान्त्रिक प्रणालीमा प्रवेश गर्‍यो र बहु पहिचानमा आयो । यो निश्चय राम्रो थियो । यसले जनताले चाहेको शासन व्यवस्था आयो ।

त्यो कांग्रेसले आफ्नो नेतृत्वमा गरेको आन्दोलन राष्ट्रहित र राजनीतिक व्यवस्था परिवर्तनका लागि थियो । त्यसले राजनीतिक दलहरूलाई एकआपसमा वैचारिक र सैद्धान्तिक रूपमा फरक भए पनि राजनीतिक व्यवस्था परिवर्तनका लागि एक ठाउँमा उभ्याएको थियो, त्यो कुनै निर्वाचनमा जाने गठबन्धन थिएन ।

यहाँसम्म त ठीक थियो । त्यो पनि कुनै निर्वाचनमा जाने गठबन्धन थिएन । तर, यहाँसम्म आइपुग्दा त अरू राजनीतिक दलहरूले कांग्रेसको समकक्षी दलहरूमा आफूलाई स्थापित गराइसकेका थिए । सशस्त्र आन्दोलनमा लागेको माओवादीलाई १२ बुँदे शान्ति सम्झौताबाट नेपाली कांग्रेका नेता गिरिजाप्रसाद कोइरालाले मूलधारमा ल्याए । मुलुकमा माओवादीको सशश्त्र आन्दोलनले विश्राम लियो र सधैँको त्रासदी समाप्त भयो । यो कार्यले मुलुक तहसनहस हुनुबाट बच्यो र देशको राजनीतिले एउटा व्यवस्थित र स्थिर एवं दिगो राजनीतिक प्रणालीमा प्रवेश ग¥यो । यसरी माओवादीलाई पनि कांग्रेसले मूलधारमा ल्याएर माओवादीलाई स्थापित पनि ग¥यो । यसरी वामशक्तिलाई नेपाली कांग्रेसले बीपीको अवसानपछि स्थापित गराउने, उनीहरूसँग सहकार्य गर्ने, तालमेल गर्ने र गठबन्धन गर्नथाल्यो । यसै हुँदा पनि गएको प्रतिनिधिसभाको चुनावमा वामघटकहरू कांग्रेसलाई दुश्मन ठान्दै आपसमा अप्राकृतिक गठबन्धन गरी एक भएर झण्डै दुई तिहाइ ल्याएर प्रतिनिधिसभामा विजयी बनी एकलौटी सरकार सञ्चालन गरे ।

कांग्रेस निरीह भयो र प्रतिपक्षीको भूमिकामा रहेर पनि आफ्नो दह्रो भूमिका देखाउन सकेन । तत्कालीन समयमा नेकपा एमाले सर्वसत्तावाद र अधिनायकवादतिर उदय हुँदै गयो । संविधान मिचँदै आफ्नो एकदलीय अवधारणामा मुलुक सञ्चालन गर्ने अभ्यास हुन थाल्यो । गुप्तचर विभाग, सम्पत्ति सुद्धीकरण विभागलगायत संवैधानिक परिषद् जस्ता संवैधानिक आयोग आफ्नो पकडमा राख्यो । अन्ततः वामघटकमामा जुँगाको लडाइँ र सत्ताको भोक अनि त्यसलाई भोग गर्ने चाहनाले एकता भंग भयो । कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवसर आयो र बन्यो पनि । विचार र सिद्धान्तमा कुरा मिल्ने वामघटकको एकतामा आएको विचलनले यिनीहरू भरपर्दो र विश्वसनीय नभएको देखिन्छ ।
गठबन्धन केका लागि र किन ?

अहिले नेपालमा दुई प्रकारको गठबन्धनको अभ्यास भएको देखिन्छ । एउटा सरकार बनाउन र अर्को निर्वाचनमा जान । यो अभ्यास मुलुकमा गणतन्त्र आएपछि सुरु भयो । कांग्रेसमा यी दुई कुरामा कुन गठबन्धन गर्ने यो विषयमा बहस भएको छैन । सरकार बनाउने कुरामा गठबन्धन गर्ने विषय निर्वाचनपछिको स्थिति हो । यो स्थितिमा चुनावी आकलनमा आफ्नो स्थिति सबल नदेख्दा र आफूमा पूर्णविश्वास नहँुदा अन्य दलसँग गठबन्धनको कुरा अगाडि बढ्ने हो र अहिले कांग्रेसमा यही अवस्था देखिएको छ । अर्को कुरा गएको निर्वाचनामा वामएकताले ल्याएको मत परिणामस्वरूप कांग्रेस तर्सिएका कारण वामएकता रोक्न नै गठबन्धनको आवश्यकता बताउँदै आएको छ ।

तर, यो कांग्रेसको अध्ययन र विश्लेषण भविष्यमा कति दूरदर्शी हुन्छ त्यसो भएको छैन । त्यो अवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने अवस्थामा अहिलेको पाँचदलीय गठबन्धन नै आगामी सरकार बनाउन त्यति भरपर्दो र विश्वसनीय आधार किन देखिँदैन भने एउटै विचार र सिद्धान्त भएका वामशक्ति आफ्नो पार्टी विग्रह गरेर अलग पार्टी बनाएर सरकार बनाउने ध्येयले कांग्रेससँग गठबन्धन गरे भने अहिले कांग्रेस निर्वाचनमा जान गठबन्धन गर्छ भोलि सरकार बनाउने समयमा यी पाँच दलको कांग्रेससँग राजनीतिक स्वार्थ मिलेन भने गठबन्धन नरहन सक्छ र त्यतिखेर एमालेसँग गठबन्धन हुनसक्छ । नेपालमा यस्तै अभ्यास र अभियानको थालनी भएको छ जुन विकृत र निराशाजनक अभ्यास हो ।

अहिले नेपालमा दुई प्रकारको गठबन्धनको अभ्यास भएको देखिन्छ । एउटा सरकार बनाउन र अर्को निर्वाचनमा जान । यो अभ्यास मुलुकमा गणतन्त्र आएपछि सुरु भयो । कांग्रेसमा यी दुई कुरामा कुन गठबन्धन गर्ने यो विषयमा बहस भएको छैन ।

त्यतिखेर छिमेकी मित्रराष्ट्र चीनको भूमिका पनि त्यस्तै हुँदैन भन्न सकिँदैन । अहिले वास्तवमा कुनै राजनीतिक दलले निर्वाचन प्रयोजनको लागि गठबन्धन गर्नु स्वस्थकर छैन । यस्तो अवस्थाको गठबन्धनले धेरै राजनीतिक विकृति पैदा गर्छ र कार्यकर्तामा सिट बाँडफाँडको विषयमा गठबन्धनको कारण असन्तुष्टि, नैराश्य पैदामात्रै गर्दैन त्यतिखेर सबै दलमा अन्तर्घात देखिन सक्छ । त्यतिमात्रै होइन निर्वाचनमा जाने गठबन्धनमा अर्को खतरा पनि के देखिन्छ भने गठबन्धन गरेका दलले आफ्नो पार्टीभित्र पार्टी अध्यक्षले नरुचाएका व्याक्तिलाई छेउ लाउने औजारको अवसरको रूपमा पनि लिन सक्छन् । सबैभन्दा खतरा सबै पार्टीभित्र गठबन्धन हुँदा देखिने रोग यो हुन सक्छ ।

अरू पार्टीको तुलनामा सबैभन्दा खतरापूर्ण व्यवहार कांग्रेसमा कांग्रेसले नै देखेका छन् । अहिले पछिल्लो समयमा कांग्रेसमा देखिएको बहस, छलफल, वैचारिक द्वन्द्वले यही पुष्टि गर्छ । जस्तो चौधौं महाअधिवेशनमा पार्टी सभापतिका उम्मेदवार रहेका डा.शेखर कोइरालाले तत्कालीन समयमा विधि प्रक्रियागत कुरा गर्दै गर्दा हामी भागबण्डाको राजनीति गर्दैनौँ भनेका डा.शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएर उपस्थिति देखाएपछि निर्वाचन नजिकिँदै गर्दा ४० प्रतिशत भागबण्डाको कुरा राखे । अहिले यो कुरा राख्नुपर्ने बाध्यता र आवश्यका किन प¥यो । जहाँसम्म डा.शेखर समूहमा समेटिएका नेता एवं कार्यकर्ताको राजनीतिक सुरक्षा र प्रतिरक्षाकै लागि आएको हुन सक्छ । यो अवस्था शायद गठबन्धनको नाममा डा.शेखरलाई र उनका समूहमा समेटिएका नेता एवं कार्यकर्तामा भोलि अन्याय हुनसक्छ त्यही आँकलन गरेर डा.शेखरले भागबण्डाको कुरा उठाएको हुन सक्छ ।

भन्न खोजेको कुरा नेपाली कांग्रेसले बीपीको अवसानपछि वामशक्तिसँग सहकार्य गठबन्धन चुनावी तालमेलको अभ्यास सुरु ग¥यो र त्यहाँबाट कांग्रेसमा बीपी विचार सिद्धान्त र निष्ठामा विचलन देखिन थाल्यो अनि कार्यकर्तामा चरम नैराश्य, पलायनता र उदासीनता बढ्दै गएर त्यो अन्तर्घातको रूपमा विकसित हुन थाल्यो । समग्रमा भन्नु पर्दा निर्वाचनमा जाने प्रयोजनको निम्ति गरिने चुनावी गठबन्धनले राष्ट्रिय राजनीतिमा राजनीतिक संस्कारको विकास गर्दैन यसले विभिन्न विकृति पैदा गर्छ । चुनावपछि कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्ने अवस्थामा अन्य दलसँग सरकार बनाउन गठबन्धन गरिने अभ्यास र प्रचलन विश्वराजनीतिमा देखिएको छ ।