नेप्सेमा ३३.३६ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

आईतवार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ ।

आईतवार कारोबारमा आएका २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ । जसमा राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ । यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आईतवार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाण्डौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९४० कित्ता शेयरका लागि सर्वसाधारण लगानिकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था सार्थै मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निश्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।