नेपाल एयरलाइन्सद्वारा एक अर्ब बढी ऋण भुक्तानी

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको जनाएको छ ।

त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापत ४५ करोड भुक्तानी गरेको छ । विगतमा कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धरासायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनुपरेको यथार्थबीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको थियो । तर, पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दर सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएका कारण किस्ता तिर्न सहज भएको निगमकी प्रवक्ता अर्चना खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।