भ्युटावर र सालिक आन्दोलनका मालिकहरू !

✍️ बद्रीप्रसाद दाहाल

‘मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे गणनायकहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई अझ आभारा बनाउन कम्मर कसी दिन रात युुद्धस्तरमा खटेको खट्यै छन् । जाँगर न साँगर खाने बेलामा आँ गर्, भन्ने उखानको मर्मै बुझेर त होला संघीय लोकतान्त्रिक गणतन्त्र मन्त्र जपेझैँ गरेर विगत पाँच वर्षयता काठमाडौंको धरहराको न्यास्रो मेटाउन पालिकाहरूमा भ्युटावर अर्थात् दृश्यावलोकन स्तम्भ बनाउने फेसनको बहार मजैले चम्केको छ भने केन्द्र, प्रदेश र स्थानीय तहमा सालिक निर्माण पनि उत्तिकै घनीभूत भएर मौलियो ।

स्वयं प्रकृतिले बनाइदिएको भ्युटावर बुट्यान, रूखबिरूवाका सघन प्राकृतिक सुरम्यताको सजिसजाउ जंगल फाँडेर पर्यावरणलाई अमंगलकारी गराउन ध्वंस र अंशकारी नाना थरीले डोजर, स्काइभेटर आदि चलाउँदा पर्वतमालाहरू बुढाबुढी मान्छेका दाँत तथा आँत हल्लिएझैँ हप्किरहेका छन् । अनि त बर्खा लाग्ने बित्तिकै लेते, पहिरो र भूूक्षयले डाँडाकाँडा रूपहीन भएर ‘भ्युटावर र सालिकको वन, नेपालको धन’ भन्ने नयाँ उखान चल्तीमा आएको छ । विगतमा सम्पन्न तीनै तहको निर्वाचनपछि बनेका जनप्रतिनिधिमूलक संस्थाहरू रूपरूपका ठेकेदार र कमिसनखोरमार्फत पूूर्वाधार निर्माणको डङ्का पिटेर लंका हाँकिरहेको देख्दा दिक्कवाक्कै पो भइयो त ! अझ कमसल गुणस्तरका रड, सिमेन्ट, बालुवा र गिट्टीमात्रा नमिलाई मिसाएर तुच्छ कमाउ धन्दाको जात्रा बाक्लै तरिकाले चलिरहेको छ ।

कतै पालिकाहरूका नदी र खोला थुनेर ताल, स्वयं बनेका प्राकृतिक उपवनलाई पार्क बनाउने नाममा बजेटको हुरलधुरल, कतै बाटो बनाउने नाममा वन फँडानी गरेर ताइँ न तुुइँका दृश्यावलोकन स्तम्भ, वीरता न सिरता, पौरख न जाँगरका मनुवाका सालिक ठड्याएर लाखौं, करोडौं अबौं र खबौं विदेशी अनुदान र ऋणको दाइँबरादो सेटिङमा चलिरहेको छ । पर्यटकीय विकासको हौवा पिटेर प्राकृतिक सम्पदा र संस्कृतिको विनाशलीलाले हामी र हाम्रा पुस्तालाई कता लगेर समाधिस्थ गर्छ बेठेगान बनेको छ ।

विगत स्थानीय चुनावमा आफ्नो पक्षमा मत तान्न नयाँ राजा रजौटाहरूले पूर्णरूपमा निर्मित नभइसकेका अर्धनिर्मित र फिनिसिङ नभइसकेका टावर तथा सालिकलाई उद्घाटन, अनावरण, शिलान्यासका नौटंकी मजैले सजधजसाथ सम्पन्न पनि गरे । भोक, रोग र शोकले विचेत नागरिकमा उत्पादनमूूलक कामको उपहार नदिएर अनुत्पादनमूलक रमिताको हाटबजारे जात्रा कंक्रिटे स्तम्भ र सालिक बनिरहेका छन् भन्ने कडा आलोचना अर्थविज्ञले बमन गरिरहेका छन् ।

लोकतन्त्रको प्राण र त्राण बनेको ‘पारदर्शीपन र जवाफदेहीन मन’ लाई अलपत्र पारेर अग्रगामीको हल्ला पिटेकोपिट्यै छन् झल्ला र तल्ला विचारका घिचन्दासले । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर यात्रा गर्न कसिएका कमाउपन्थीको यो भक्कुनाच कति दिन आँखमा फुलो पारेर हेर्ने ? नारन शिव !

लोकतन्त्र, जनतन्त्र अग्रगामी र उध्र्वगामीको तक्मा भिराएर चक्मा दिने विलासी एलिटका जोकतन्त्र, घनतन्त्र, पश्चगामी र अधोगामी आचरण ‘जुन जोगी आयो कानै चिरेका’ को पुुनर्पठन र श्रवणले कण्ठावरोध र कानै बहिरो भयो भनेर जनताहरू धेरै आत्तिसके । ‘मुखमा राम राम बगलीमा छुरा’ बोकेका धुराका धुरा लुरा हिजोका हात्तीछापे सडक बटुवा आज मूूल धारको रंगमञ्चमा गजबका नटुवा बनेर आलिसान भवन, गाडी, मौजा र विदेशमा समेत बैंक भरिभराउमा अभ्यस्त पो छन् त ! भन्ने चर्को तथ्य गुनासो को पो सुन्छ र ?

कामचोरको नाम धर्मराज, अर्थशास्त्रको कखरा नखार्ने लठुवा धनराज, न्यायिक आबाज नसुुन्ने कर्णकान्त र दृष्टिविहीन नेत्रकान्त भएको मुलुुकले रसातल र तलातलको यात्रा न गरे के गर्ने त ? हिजो देशलाई स्वीजरल्याण्ड सिंगापुर बनाउने भन्नेहरू यतिखेर श्रीलंका र सिक्किमको तस्वीर पो जनताको दिलदिमागमा नचाउन थाले भनेर बुढाबुढीदेखि भुराभुरीसम्म शीर्ष र तीर्थको स्वघोषित बिल्ला भिरेकाहरूमा प्रश्नका घोचा लिएर उभिएका छन् बा ! मनोरेल, पानीजहाज, घरघरमा ग्याँस, अब हरेक नेपालीले बसीबसी खाने दिन आए भन्ने गाईजात्राका हास्य जोक्करहरूले नेपाली समाजलाई दिग्भ्रमित पारेको कालो इतिहास ताजै छ ।

अब सन्दर्भ बदलौं, सालिक वा सालिग अरबी भाषाको आगन्तुक पाहुना शब्द हो । यसलाई अर्को शब्दमा मूूर्ति, प्रतिमा, प्रतिमूर्ति आदि नामले सम्बोधन गरिन्छ । धातु, ढुुंगा काठ आदिबाट बनाइएको कुनै व्यक्तिको प्रतिकृति हो सालिक, जसलाई स्मारकको रूपमा चौबाटो, सार्वजनिकस्थल र पार्क वा उद्यानहरूमा सजाएर राखिन्छ । मूलतः देश, जनता, भाषा, वांमय, अनुसन्धान, आविष्कार आदिका क्षेत्रमा गुरुतम भूमिका निर्वाह गरेका कर्मवीर, युद्धवीर, कलमवीरहरू भावी पुस्तासम्म प्रेरणाका पात्र बन्न सक्छन् भनेर नै त्यस्ता सालिक खडा गरिन्छ ।

तर, विडम्बना ! यहाँ त मालिकहरूका महत्वाकांक्षी भोक र रोग चर्केपछि सालिक ठड्याउने प्रतिस्पर्धा चलेर विकास निर्माणका बजेटले उल्टो महानिर्वाण प्राप्त गर्दा पो हृदय छियाछिया र विदीर्ण बन्न पुुग्छ त ! दृश्यमान भौतिक जड पदार्थ विनाशी छ भन्ने कुरा विवेचना गर्न नसक्ने दरिद्र दिमागी मनुवाहरूलाई कति दिन जिन्दावाद ! भनेर आफूहरू मुुर्दावाद बनिरहने । न कुनै गवेषणा, न त नौलो युुगको स्थापक तीन न तेह्रका गोबर गणेशलाई त्यसै विनायक बनाउन लाउने चेतनाविहीन पदार्थवादीको कति दिन पछुवा बनेर घिचुवा विशाद भोगिरहने ? यक्ष प्रश्नहरू मडारिनु स्वाभाविकै हो ।

सालिक स्थापना गर्दैमा मान्छे चिरजीवी हुन्छ, सबैको आँखाको नानी बनिहाल्छ भन्नु दुुनुु मगजे सोच हो । समय समयमा हुने आन्दोलका छलाङले कतिपय सालिकहरू हुत्तिन्छन् र तोडिन्छन् त कतिपय अप्रासांगिक प्रतिमा पनि ठडिन्छन् । भनिएको पनि छ ‘परिवर्तिनी संसारे मृतः को वा नजायते’ ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयतायाः’ । अचेल ट्रष्ट, पार्क, सालिक, उद्यान, प्रतिष्ठानको बल्छी थापेर कतिपय अल्छी महाराजहरू उदरभरण गर्ने अक्किलतिर चम्बु बनेर आफ्नो जबमु चरित्र छताछुल्ल पारिरहेका छन् ।

अमरसिंह थापाजस्ताको नाममा खुलेको प्रतिष्ठानले पाँच लाख रुपैयाँ अनुदान पायो रे र मदन भण्डारी प्रतिष्ठानलाई भने नौ करोड मिल्यो रे भनेर एकजनाले यी उखान पो विरेचन गरे, ‘कहाँको चन्द्रमाको ज्योति, कहाँको भांग्राको धोती’ । कहाँ पालिसदार हिरा, कहाँ झुसिलकीरा भन्दै मेरो त सातो पो खाए बा ! नेपाली भाषाका उम्दा स्रष्टाहरू भानुुभक्त, देकोटा, विश्वेश्वर, मबिबी शाह आदिका सालिक तोडेर दाङको विद्यापीठको पुुस्तकालय पोलेर मालिक बन्न खोज्नेहरूको ताला हेर्दा हालाबाला नै परिएको छ । धोतीको जुम्रो टुप्पीमा पुुगेपछि टाउकोमा संकटकाल नलाग्ने कुरै भएन भन्ने उखानले खुुट्टो घुमाइहाल्छ । सुरक्षा र प्रबन्धविहीन अलपत्रे भ्युटावर अर्थात् दृश्यावलोकन स्तम्भ ठड्याएर पर्यावरणीय प्रदूूषण र आर्थिक दूषण पर्यापर्यटनको भूूषण हुन सक्दैन ।

न पौरख, न वीरता, न विद्वान् न त आविष्कारक फगत विद्रोहकालीन मालिकका परिजन हुँदैमा सालिक आन्दोलन अगाडि बढाउँदा बँचेखुचेको बिलो पनि इलो न मिलो हुन्छ भन्ने हेक्का राख्नैपर्छ । त्यसैले राज्यका स्वामी, पति, प्रभुु, शीर्ष, टुप्पी, मुुटुुका धड्कन, आँखाका नानी भनिइकाहरूको खति नहोस् । ‘तँलाई हेर् मलाई हेर् बेला हेर्’ भन्ने आप्तवाक्य आत्माले स्मरण गरी व्यवहारमा उतारौँ । जनजन यतिखेर भनिरहेछन्-भ्यूटावर र सालिक आन्दोलका मालिकहरू ! अति सर्वत्र वर्जयेत् !!! समाप्तम् ।