उम्मेदवार छान्न मापदण्ड बनाउँदै दलहरू, प्रभावशाली नेताको घरमा आकांक्षीहरूको भिड

काठमाडौं । राजनीतिक दलहरू आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधिमा होमिएका छन् । दलहरू विभिन्न राजनीतिक कार्यक्रमहरू लिएर जनतामाझ पुग्न थालेका छन् । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरूका घरमा उम्मेदवारका आकांक्षीहरूको पनि भिड लाग्न थालेको छ । प्रभावमा पारेर टिकट पाउने आकांक्षीहरूको भिडले टिकट वितरणमा निर्णायक हैसियत राख्ने नेताहरूको टाउको दुःखाइको विषय बन्ने गरेको छ । चुनावमा टिकट नपाए पार्टी छाड्नेसम्मका घुर्की र चेतावनी सुरु भइसकेका छन् ।

निर्वाचनमा उम्मेदवारको जितका लागि मुख्य गरी तीनवटा आधार हुन्छन् । जितका लागि पहिलो आधार पार्टीको सांगठनिक शक्ति हो । दोस्रो उम्मेदवारको लोकप्रियता र तेस्रो निर्वाचन आचारसंहिता तथा राजनीतिक मूल्य-मान्यताविपरीत पैसामा टिकट किन्ने । तीन आधारमध्ये पछिल्लो समय टिकट किन्ने प्रवृत्ति विकृतिको रूपमा देखिएको छ । टिकट लिनका लागि हुने विभिन्न हर्कतहरूलाई न्यून गर्न राजनीतिक दलहरूले उम्मेदवारको मापदण्ड तोक्ने गरेका छन् । यद्यपि, मापदण्ड कार्यान्वयनको अवस्था भने दयनीय देखिने गरेको छ । कार्यान्वयन नभए पनि औपचारिकता पूरा गर्न पनि दलहरूले उम्मेदवार छनोटको योग्यता र मापदण्ड बनाउन भने छोडेका छैनन् ।

उम्मेदवार छनोटमा जसपाले बनायो मापदण्ड
सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बन्न दुईवटा मापदण्ड र सात योग्यता चाहिने तय गरेको छ । जसपाको राजनीतिक समितिको बैठकले मापदण्ड र योग्यता तय गरेको हो । उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सक्रियता, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निक्र्योल गरिने उल्लेख छ ।

यी हुन् उम्मेदवारहरूको योग्यतासम्बन्धी मापदण्ड
१. पार्टीको विचार नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने ।
२. पार्टीको समितिमा संगठित र सक्रिय रहेको ।
३. पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने ।
४. स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको ।
५. निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको ।
६. सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको ।
७. सुशासनको प्रत्याभूत गर्नसक्ने ।

एकीकृत समाजवादीले तोक्यो उम्मेदवार छान्ने आठ मापदण्ड
सत्तारूढ दलको अर्को घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पनि आसन्न मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्नका लागि सिफारिस एवं छनोट गर्न आठवटा मापदण्ड तय गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार सिफारिस एवं छनोट गर्नका लागि मापदण्ड तय गरेको हो । पार्टी महासचिव वेदुराम भुसालका अनुसार तय गरिएका मापदण्डमा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेको र पार्टी निर्माणमा योगदान गरेको पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र सक्रिय, समावेशीताको सिद्धान्तविपरीत नहुने प्रकृतिका व्यक्तिलाई उम्मेदवार बनाइने छ । नेकपा एसले आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रियासमेत तय गरेको छ । सचिवालय बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशस्तरीय निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने सात बुँदे प्रक्रिया तय गर्नुका साथै उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समयतालिकासमेत सार्वजनिक गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गरेको मापदण्डमा उमेदवार छनोट गर्दा सम्बन्धित क्षेत्रमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने रहेको छ । त्यसैगरी, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक काम गरेको, पार्टीद्वारा सञ्चालित विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने पनि मापदण्ड तोकिएको छ ।

तर, प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिए पनि उम्मेदवार छनोटको मापदण्ड तोकेका छैनन् । नेकपा एमाले आगामी निर्वाचन केन्द्रित प्रशिक्षण, भेला, गोष्ठी लगायतका कार्यक्रममा व्यस्त छ भने नेकपा माओवादी केन्द्र पार्टी पदाधिकारी चयन र पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा व्यस्त छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भदौ १० गतेदेखि निर्वाचन केन्द्रित अभियान सुरु गर्दै छ । पाँच दलीय गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्र आगामी निर्वाचनको लागि सिट बाँडफाँट टुंगो लागेपछि उम्मेदवार छनोटको मापदण्ड लगायतका निर्वाचन केन्द्रित तयारीमा लाग्ने मनस्थितिमा छन् ।

जसपामा लोसपासँग मिल्न दबाब
जसपाको राजनीतिक समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा पार्टीका नेताबीच पाँच दलीय गठबन्धन वा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गरेर जाने भन्नेबारे मतभेद देखिएको छ । गत स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनबाट जसपाभन्दा कांग्रेसले बढी फाइदा लिएको र संघ तथा प्रदेशको चुनावमा पनि त्यस्तै हुने अधिकांश नेताहरूले आशंका गरेका छन् । खासगरी तराई मधेशमा पाँच दलीय गठबन्धनसँग भन्दा लोसपासँग गठबन्धन गर्दा जसपालाई बढी फाइदा हुने तर्क गर्दै अधिकांश नेताहरूले लोसपा-जसपाबीच गठबन्धन गर्न शीर्ष नेतृत्वलाई दबाब दिएका छन् । तर, कतिपय नेताहरूले भने जसपा र लोसपाको आधारभूमि तराई–मधेश नै भएकाले लोसपासँग गठबन्धन गर्न नहुने जिकिर गरेका छन् ।

बाबुराम गुटको कारण पार्टी जीवन ठप्प भएको उपेन्द्र यादवको आरोप
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना पूर्व-सहकर्मी डा.बाबुराम भट्टराईमाथि गम्भीर आरोप लगाउनुभएको छ । पार्टीको राजनीतिक समितिको बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष यादवले डा.भट्टराई समूहको गतिविधिले पार्टी जीवन नै ठप्प हुन पुगेको आरोप लगाउँदै लेख्नुभएको छ, ‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र डा.बाबुराम र उहाँनिकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न गर्‍यो । कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो ।’

अध्यक्ष यादवले आफ्ना पूर्वसहकर्मी डा.बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञासमेत दिनुभएको छ । पार्टीमा एक व्यक्ति एक पदको अवधारणालाई दृढतापूर्वक लागू गरेर जानुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले पार्टीभित्र विधानको कार्यान्वयन नगर्ने स्वेच्छाचारिताको अवस्था रहेको उल्लेख गर्दै भन्नुभयो, ‘पुराना एकात्मक ढाँचाको पार्टीको सिको गरेर होस् वा संक्रमणकालको बहानामा होस्, विधान मिच्छौँ भने त्यो विधिको शासनको विपरीत मात्र होइन, स्वेच्छाचारिता पनि हो ।’ अध्यक्ष यादवले दस्तावेजमा पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका ‘अनुशासनहीन र अराजक तत्व’लाई कारबाही गरेपछि पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको उल्लेख गर्नुभएको छ ।

छिटो गठबन्धन टुंगो लगाउन लोसपाको माग
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी गराउने/नगराउने विषयमा जतिसक्दो छिटो टुंगो लगाउन सत्तारूढ पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताहरूले प्रधानमन्त्री देउवालाई भेटेर छिटो निर्णय दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा ल्याउन प्राथमिकता दिँदै आए पनि गठबन्धनका अन्य दल मुख्य गरी जसपा सकारात्मक छैन । लोसपालाई गठबन्धनमा ल्याउने विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बढी नकारात्मक देखिनुभएको छ ।

लोसपाका नेता अनिलकुमार झाले लोसपाको पाँच दलीय गठबन्धनमा सहभागिताको विषयलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले रोकिरहेको टिप्पणी गर्नुभएको छ । यद्यपि, काठमाडौंमा बसेको जसपाको राजनीतिक समिति बैठकमा आगामी निर्वाचनमा लोसपासँग गठबन्धन गर्नुपर्ने मत बलियो देखिएको छ । प्रधानमन्त्री देउवाले पनि एमालेसँग चुनावी तालमेल हुनबाट रोक्न लोसपालाई गठबन्धनमा ल्याउन जोड गरिरहनु भएको छ ।