संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गर्नुभएको छ ।

‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ,’ आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भन्नुभएको छ । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उहाँले अपिल गर्नुभएको छ ।

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उहाँको भनाइ छ । ‘यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ,’प्रचण्डले भन्नुभएको छ ।

‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ,’ उहाँले भन्नुभएको छ ।

देश चलाउन जनताले माओवादीलाई नै रोजेका छन्ः अध्यक्ष दाहाल

काठमाण्डाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गर्नुभएको छ ।

बिहीवार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताउनु भयो । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताउनुभएको हो ।

उहाँले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताउनु भयो । उहाँले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने बताउनु भयो । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउनु भयो ।

उहाँले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन सकेका छौँ । अब त्यसबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सकेसम्म सन्तुलित स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले यो ब्याटल जित्न हामीले अनुशाषित ढंगले पहल गर्न जरुरी छ । स्थानीय निर्वाचनको सन्दर्भबाट गठबन्धनभित्रको सन्दर्भमा पनि शिक्षा लिने कुरा र पार्टी भित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई फौजको रुपमा अघि बढाउने भनेर पार्टीका बैठकमा प्रयास गरिरहेका छौँ । माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ । मैले के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ । माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्नेकुरा प्रष्ट देखिएको छ । हामी माओवादी नेता, कार्यकर्ताहरु यो बीचमा जति मेहनत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने, त्यहाँ कमी छन् भन्ने कुरा हामीले अनुभव गर्दै आएका छौँ । यो आत्मसाथ गर्न आग्रह गर्छु । जनता हाम्रो साथमा छन् । स्थानीय तहको निर्वाचनमा पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको भए देशको १ नम्बर कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार क्लियर देखिन्छ । त्यो मनोगत मूल्यांकनको कुरा होइन । आन्तरिक व्यवस्थापन राम्रो नगर्दा जनताको साथ हुँदा पनि देशको पहिलो पार्टी बन्ने अवसर गुमायौँ । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि त्यो व्यक्ति रहँदैन, पार्टीले जित्ने वा हार्ने मुख्यकुरा हुन्छ । यो सानो कुरा सबेले बुझे माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको पहिलो कम्युनिष्ट पार्टी बन्छ ।’

अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले व्यवहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

नागरिकता बिद्येयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भन्न्ुभयो, आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको हो ।

तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गर्नुभएको छ ।

वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाउनुभएको छ ।

भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदीप यादवसहित उहाँ चितवन आउनुभएको हो ।

प्रचण्डले आज बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै आजै चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितवन माओवादीले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणमा जाने हुनुभएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।

उहाँको भ्रमण आकस्मिक नभएको पनि सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।

भारतमा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने पनि काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै हुनुहुन्छ ।

देउवाका दुई ‘नोकझोक’ कांग्रेसलाई फाइदै फाइदा: प्रचण्डप्रति आशंका

काठमाडौं । स्थानीय तहको मिति नजिकिँदै गर्दा तालमेलका लागि नेपाली कांग्रेसको तत्कालिन केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले निक्कै ‘नोकझोक’ देखाउनु पर्‍याे । उनी इतरका नेताहरु सत्तागठबन्धन भित्र तालमेलको विरुद्धमा थिए । शेखर कोइरालालगायतका नेताहरुले बैठकमा खुलेरै तालमेलका विरुद्धमा बोलेपछि देउवाले रिसाउँदै ‘एक्लै लडेर जितेर देखाउनु’ भन्ने धम्की पनि दिए ।

गठबन्धनलाई चिड्याए बलियो एमाले र माओवादी मिल्नसक्ने र कांग्रेसलाई पहिलेकै अवस्थामा पुर्याउन सक्ने आशंका तेर्साए । फलत: कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताका आधारमा मात्र स्थानीय तहमा सत्ताधारी दलसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गर्‍याे । तालमेलकै कारण स्थानीय तहकाे निर्वाचनमा कांग्रेसले राम्रै स्थान हासिल पनि गर्‍याे । देउवा त्यो अडानलाई थप बल मिल्यो । यति बेला देउवाका ‌अ‌ालाेचकहरु ‘तई चुप मै चुप’ छन् ।

राजनीतिक रुपमा निक्कै चतुर खेलाडीका रुपमा परिचय बनाएका देउवामा बेलाबेला उनकाे अनायसै देखिने झोकका कारण  विवादित बन्ने गरेका छन् । उनमा अ‌ाउने नोकझोक मध्ये पछिल्ला दुई नोकझोकले भने उनलाई फाइदै मिलेकाे छ । केही महिना अघि सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन ताका उनले आफ्नै खेमामा रहेका विमलेन्द्र निधि र विश्वप्रकाश शर्मालाई देखाएको नोकझोकले उनलाई सभापति दोहोरिन बल मिल्यो । सधैँ इतरमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याएर उनी बलिया बने । जसका कारण उनकाे त्याे तागत अझै केहीसमय रहने देखिएको छ ।

यसैगरी स्थानीय तहको विषयमा बसेको केन्द्रीय समितिको बैठकमा उनले देखाएको नोकझोकले कांग्रेसलाई बढी स्थानमा जित्दै ठूलो दल बन्ने मौका मिल्यो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले गठबन्धन गरेर अघि बढ्दा कांग्रेस र माओवादीलाई आशा अनुरुपको पाइदा मिल्यो । तर, एकीकृत समाजवादीसहितका दलहरुलाई भने फाइदा पुगेन, यसका असन्तुष्टका स्वरहरु सोही दलका नेताबाट सुनिँदै अ‌ाएको छ ।

यतिबेला देउवा पुन: अर्काे नोकझोक देखाउने मुडमा छन् । उनी कांग्रेसकै केही नेताकाे चाहना विपरित जतिसक्दाे चाँडाे संसदीय निर्वाचनकाे मिति ताेक्ने मुडमा छन् । उनालाई सत्ता गठबन्धनका अन्य दलले पनि साथ दिने भएका छन् । केही दिन अघि बालुवाटारमा भएकाे बैठकमा प्रतिनिधि सभाको निर्वाचनको मिति तय गर्ने विषयमा सहमति समेत भएको छ ।

स्थानीय तहमा पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाँदा सोचे अनुरुप सफलता हासिल गरेर हौसिएको कांग्रेस यतिबेला छिटो भन्दा छिटो संसदीय निर्वाचन गराउने पक्षमा छ । आफू शक्तिशाली र सरकारमै रहेका बेला प्रधानमन्त्री देउवा बाँकी दुई (प्रतिनिधि सभा र प्रदेशकाे) चुनाव गराउन हतारिएका छन् । कांग्रेसभित्रै एकाथरीले चुनाव फागुनसम्म गर्न सकिने विषय पनि उठाएका छन् । तर, प्रधानमन्त्री देउवा भने सके कार्तिकमा नभएपनि मंसिर पहिलो हप्तामा नै चुनाव गराउने पक्षमा छन् ।

प्रधानमन्त्री देउवालाई ‘रात रहे अग्राख’ भने झैं कतै ढिलो गरे वामहरुबीच एकता हुने पो होकी भन्ने एक खालको मनोविज्ञानले झस्क्याई रहेको छ । ‘अगुल्टोले हानेको कुकुर विजुली चम्किँदा तर्सिन्छ’ भने झैँ यतिबेला गत संसदीय निर्वाचनमा कांग्रेसले भोगेको पराजयलाई दोहोर्याएर अपजस लिने पक्षमा देउवा छैनन् । आफूलाई प्रधानमन्त्री बनाउन सबैभन्दा ठूलो आडभरोसा गरेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले वाम एकता तुरुन्तै संभव नदेख्दा नदेख्दै चाँडै चुनाव गराउन किन उनी यति हतारिँदै छन् भन्ने अर्को प्रश्न उब्जिएको छ ।

प्रतिनिधि र प्रदेश सभाको चुनावको मितिका विषयमा बहस भइरहेका बेला सरकारमा रहेको अर्को ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दम्भ गरे एमालेलाई झैं कांग्रेसलाई पनि ठोक्ने बताएपछि देउवामा झनै त्रास बढेकाे हुनुपर्छ । प्रचण्डले माओवादीले १२२ स्थानीय तह जितेर राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो शत्ति भएको बताइसकेका छन् । प्रचण्डमा अडान पनि कम रहेकाे र उनको उक्त अभिव्यक्ति अर्थपूर्ण रहेको राजनीतिका जानकारहरु बताउँछन् । यसैपनि स्थानीय चुनावको नतिजाबाट पुलकित बनेका प्रचण्डको बार्गेनिङ पावर बढेको छ । कांग्रेसले दम्भ देखाए ‘जस्तो सुक्कै कदम चाल्न सक्ने’ उनी आफैँ भन्दै आएका छन् ।

यता एमालेका नेताहरूले माओवादी र नेकपा एसलाई मिलाएर वाम गठबन्धन बनाउने प्रयासमा रहेको भन्ने पनि समाचार बाहिरिन थालेका छन् । यस कुराले देउवा अझ चुनावको मिति तोक्न र गठबन्धन अझ बलियो पार्न लचक समेत देखिएका छन् ।

देउवालाई कतै एमाले र माओवादी मिल्ने हुन् कि भन्ने त्रास त छदैछ त्यो भन्दा बढी उनमा फेरि प्रधानमन्त्रीमा दोहोरिने अभिलाषा कै कारण आगामी संसदीय निर्वाचन समयमै हुने राजनीतिक विश्लेषकहरुको बुझाइ छ । अहिले गठबन्धनबीच सम्बन्ध राम्रो छ । माओवादी पनि स्थानीय चुनावको परिणामलाई लिएर खुशी नै छ । थोरै चित्त दुखाएका नेकपा एस र जसपालाई मनाएर चुनावमा जाँदा कांग्रेस फेरि पहिलो दल बन्नेमा देउवा ढुक्क छन् ।

कुमारी हलमा माओवादी केन्द्रका जनप्रतिनिधिको प्रशिक्षण भेला

काठमाडौं । कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला राखेको छ । बुधबार बिहानदेखि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ शर्मा, लीलामणि पोखरेललगायतका शीर्ष नेता उपस्थित हुनुहुन्छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो । पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने हुनु भएकाे हाे ।

यसपटकको निर्वाचनमा माओवादीले एक सय २१ स्थानीय तहमा प्रमुख जितेको छ ।

गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भोट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्रोशित

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भोट माग्नुभएको छ । सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गर्न लागेको चुनावी सभा सम्बोधन गर्न कैलाली पुग्नुभएको प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएकी लक्ष्मी सत्गौवा थारुलाई सोमबार भोट माग्नुभएको हो ।

सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको रिपोर्ट आफूसमक्ष आएको भन्दै त्यसले तालमेलमा बाधा पुर्‍याउन सक्ने आशंकासमेत व्यक्त गर्नुभयो । उहाँले कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिनुभयो । सोही क्रममा उहाँले कैलारी गाउँपालिकाकी उपप्रमुखलाई उहाँले भोट माग्नुभएको हो ।

पाँचदलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिनुभएको थियो । गठबन्धनको उम्मेदवारविरुद्ध बागी दिएको भन्दै उहाँलाई कारबाही गरिएको थियो । तर सोमबार भने उहाँले कारबाहीमा परेकी सत्गौवा थारुलाई अत्यधिक मतले जिताउन सार्वजनिक रूपमै अपिल गर्नुभयो ।

‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ,’ उहाँले भन्नुभयो, ‘उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री देउवासँगै आएका छौँ, उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु ।’

उहाँले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिलसमेत गर्नुभयो । कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । कांग्रेसले पनि अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।

प्रचण्डको यस्तो अभिव्यक्ति पछि सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने देखिएको छ। आजै धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

उम्मेदवारलाई छोरी र श्रीमतीको रुपमा प्रचार गर्नु महिलामाथिको अवमूल्यन हो: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरुले कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताउनु भएको छ ।

आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले उक्त कार्यको आफूले विरोध गर्ने समेत बताउनु भयो ।

‘कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोशिष एकथरी मानिसहरुले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म त्यो प्रवृतिको ह्दयदेखि विरोध गर्न चाहान्छु ।’

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डको छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती सिर्जना सिंहले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।

केही नेताहरुले उहाँहरुको विषयमा आलोचना गरेपछि प्रचण्डले आज त्यसको विरोध गर्नुभएको हो ।

‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा ,संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभुत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागू गर्ने त्रममा कहिँ न कहिँ चुकिरहेका थियौं । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुसी व्यक्त गर्न चाहान्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

काठमाडौंको महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई विजयी गराउनु भनेको साच्चै परिवर्तनलाई विजयी गराउनु रहेको दाबी उहाँले दाबी गर्नुभयो ।

‘अहिले जहाँ जहाँ महिला कार्यकारी भूमिका छन् त्यहाँ राम्रो काम भएको छ । महिलाहरु माथि विश्वास गर्ने देशकै आवश्यकता हो,’ उहाँले भन्नुभयो ।