वर्षौंदेखि जोखिम मोलेर खोला तर्छन् सौरु र सिर्खुमवासी

डम्मर बुढा मगर/हिटा
बागलुङ । हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक विकटताका कारण विकास निर्माण निकै कठिनाइ छ । भौगोलिक कठिनाइका कारण कतिपय बस्तीहरू अझै सडक सञ्जालले जोडिएका छैनन् भने कतिपय ठाउँमा पुलसमेत निर्माण भएका छैनन् । त्यसमध्ये थासाङ गाउँपालिका-२ को सौरु र सिर्खुम बस्ती पनि एक हुन् । यो बस्ती न सडक सञ्जालले जोडिएको छ, न झोलुंगे पुलले नै ।

करिब १२० जती घरधुरी रहेको यस ठाउँमा आर्थिक र भौगोलिक दृष्टिकोणले पिछडिएको गाउँ हो । यहाँका स्थानीयको जीविकोपार्जनको माध्यम नै कृषि र पशुपालन व्यवसाय हो । गाउँसम्म पुग्ने सडक नहुँदा स्थानीयले निकै सास्ती खेप्नु परेको छ । एउटै वडामा पर्ने कोवाङ, खन्ती, सौरुगाउँको बीचमा कालिगण्डकी नदी छ ।

एउटै वडाको सौरु र खन्तीबाट कोवाङ र खन्ती जान कालिगण्डकी नदीको सतह कम हुँदा हिउँदयाममा १५ मिनेटको मात्र दूरी हो । तर, बर्खायाम लागेपछि कालिगण्डकी नदीको सतह उच्च हुँदा कालिगण्डकी नदी तर्न सक्ने अवस्था रहँदैन । बर्खायाममा कालिगण्डकी नदीको बाहव उच्च हुँदा त्यहाँ मानिसहरू मुख्य राजमार्ग सडकमा आइपुग्न पैदल तीन घण्टाको समय लाग्छ ।

हिउँदको समयमा खोला तर्न सके पनि बर्खाको समयमा निकै समस्या हुने गर्छ । खोला तर्नका लागि कात्तिक महिनामा यहाँ स्थानीयले कालिगण्डकी नदीमा काठको अस्थायी साँघु राख्छन् । साँघु तरेर सौरु र सिर्खमवासीले हिउँदमा कालिगण्डकी वारपार गर्छन् । कालिगण्डकी नदी तर्न कात्तिकमा राखेको साँघु त्यहाँका स्थानीयले जेठ÷असार महिनामा कालिगण्डकी नदीले बगाएर लैजाने भएकाले साँघु झिकेर कालिगण्डकी किनारमा राख्छन् । हिउँदयाममा राखेको काठको साँघु बर्खायाममा नदीले बगाउने भएकाले झिकेर नदी किनारमा राखेपछि कालिगण्डकी नदी फैलिँदा त्यो पनि बगाइदिन्छ । यसपालि पनि कालिगण्डकी उर्लेर आयो । किनारमा राखेको साँघु बगाउन थालेपछि स्थानीले डोरी बाँधेर बाहिर निकालेका छन् । उक्त साँघु नदीमा पानीको बहाव घटेपछि वारपार गर्न पुनः नदीमा हाल्छन् ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङ खन्तीमा छ । त्यहाँ स्वास्थ्य चौकी र प्राविधिक धारको कृषि विद्यालय पनि छ । तर, हिउँद याममा नदीको सतह कम हुँदा खोला तर्न सहज हुने भए पनि बर्खायाम नदी तर्न सक्ने अवस्था रहँदैन । नदी उच्च हुँदा पालिका भवन र अन्य सेवा सुविधा लिन समस्या पर्ने गरेको सौरुका स्थानीय सोजन हिराचनले बताउनुभयो । उहाँले बर्खायाममा नदीकै कारण सदरमुकाम जोमसोम र पोखरा-काठमाडौं आउजाउ गर्न समस्या पर्ने गरेको बताउनुहुन्छ । ‘हामीले दैनिक सेवा लिने ठाउँमा खोला पार गरे जानुपर्छ, खोलामा पुल छैन, पुल नहुँदा साँघुको सहारामा खोला तर्न पर्छ, यही साँघु पनि कालिगण्डकी बढेर आयो भने बगाइ दिन्छ’ उहाँले भन्नुभयो ‘कालिगण्डकी नदीमा चाँडै पुल बनेको भए हामीलाई निकै राहत हुन्थ्यो, हामी त निकै वर्षदेखि सास्ती भोगिरहेका छौँ ।’

बर्खायाममा कालिगण्डकी नदी उच्च हुँदा सौरु र सिर्खुममा उत्पादित कृषि जन्य उत्पादनको सहज बजारीकणमा समेत अप्ठ्यारो पर्ने गरेको छ । श्रावण र भदौमा आलु र असोज महिनामा स्याउ फल्ने भए पनि त्यससमय कालिगण्डकी नदीको सतह घट्दैन । गाउँसम्म सडक र पुल नभएकाले कृषि उत्पादनको ढुवानी महँगो पर्ने भएकाले व्यापारीहरू त्यहाँबाट कृषि उपज सामग्री खरिद गर्न चाहँदैनन् ।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा २०७७ सालमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत कोवाङ-सौरु जोड्ने पुलको योजना पर्‍यो । कोवाङ-सौरु जोड्ने ५७० मिटर लामो पुल सस्पेन्स ब्रिज डिभिजनले पाँच करोड लागतमा इलाइट रुविना जेभीसँग ३० महिनामा सक्नुपर्ने ठेक्का सम्झौता भयो । कोवाङ-सौरु जोड्ने पुल सस्पेन्सन पुल बन्ने भएपछि सौरु र सिर्खुमबासी उत्साहित भएका थिए । तर, पुलको ठेक्का सम्झौता भएको साढे दुई वर्ष बितिसक्दासमेत १० प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।