देउवालाई जुम्ला उपसभापति बुढाको पत्र: एकीकृत समाजवादी भन्दा कांग्रेस के फरक भयो बैशाखी लगाई हिड्नु पर्ने भए !

मुगु । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिँकिदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरु टिकट पाउन दौडधूपमा रहेका छन् ।

जिल्लाबाट सिफारिस भएकालाई पनि टिकट पाउन सकस छ । किनकी केन्द्रले आफू खुसी निर्णय गर्ने डर उनीहरुलाई छ ।

नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं क बाट सिफारिस हुनुभएको छ ।

उहाँलाई प्रदेश निर्वाचन समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला समिति जुम्लाले सिफारिस गरेको हो । यति बेला सत्तारुट दलका नेताहरु सिट बाँडफाँडमा केन्द्रित रहेका छन् । दलहरुले सिट बाँडफाड गर्दा कतिपय लाई चित्त पनि बुझेको छैन । नेपाली कांग्रेस जुम्लाका उपसभापति तथा प्रदेश क समानुपातिक बाट सिफारिस हुनुभएका कार्मा बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएको छ । उपसभापति बुढाले देउवालाई लेख्नुभएको छ बहुमतको दम्भ नदेखाउनु होस् ।

आदणीय शेर बहादुर दाई  
जय नेपाल 

तपाईलाई दम्भ होला नेपाली काग्रेंस केन्द्रीय कार्य समितिको बहुमत संख्या बिजयी भएकोमा , तर नेपाली काग्रेंस समग्र काग्रेंसी जनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी …. पुजारीले प्रसाद बाड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन,

पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, अहिले पो गठबन्धन गरौंला , सायद हजुरलाई कति थाहां छ ? काग्रेंस खोजी खोजी…. अरूलाई रोजी रोजी भन्ने दिन नआएको होईनन, सयौं काग्रेंसी जनहरूको रगत काग्रेंस भएकै कारणले बगे, सयौं बालबालिका टुहुरा भए, सयौं आमाहरूको कोख उज्रियो, सयौं आमाहरूको सिन्दुर पुछियो भने हजारौं घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का होला ।

निर्वाचनमा शत्रु सगं एक्लाएक्लै लड्नु को शान र मान अलग्गै छ, हामी आफ्नै पार्टी भित्र का दाजुभाइ सगं गुटका नाममा सौतेना व्यवहार गर्न तयार छौ तर शत्रु सगं अगांलो मारेर हिडि रहेका छौ ।

यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव वी.पी कोईराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिहं लगायतका हजारौं नेता तथा कार्यकर्ताहरूको रगत र पसिना बगेको हो र ? अब हाम्रो पार्ना नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी काग्रेंस भन्दा के फरक पर्ला कम्युनिस्टहरूको बैशाखी लगाई हिड्नु पर्ने भए  अब…….. .

बैशाखी लगाउनु भन्दा पार्टी भित्र को मनमुटावको अन्त गर्न पार्टी सभापति भएकै कारणले तपाईले अभिभाकत्व लिन जरुरी छ दाई, भाई फुटे गवांर लुटे भन्ने उखान त सुनेकै छौ दाई  पार्टी भित्र भाईचाराको सम्बन्ध कायम गर्दै सबैले सबै को अस्तित्व स्विकार गर्न जरुरी छ दाई,

निर्वाचन प्रतिपक्ष सगं लड्ने हो, शेखर दाई सहित सबै नेताको परामर्शमा असल नेताहरूको चयन गर्न जरुरी छ दाई,  ससंदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त होईन होला नि, सबैको अस्तित्व राख्दै छलफल सहित समानुपातिकको, प्रत्यक्ष उम्मेदवारहरूको नाम  ३६४ दिन काग्रेंस हुने ६५ ओै दिनमा हराउनेहरू होईन, हाम्रो होईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहस नहस पार्न प्रयाप्त  हुन्छ, समयमै ध्यानाकर्षण होस् अनुरोध ।।।

 जय नेपाल
                                        कार्मा बुढा
                                उपसभापति जुम्ला
-खड्क , सुनार , न्युज कारखाना

 

विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गर्दछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताउनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकमा आधुनिक विज्ञान शिक्षाको सुरुआत भएको धेरै लामो समय नभए पनि यस क्षेत्रको केही विकास भइरहेको बताउनुभयो । विज्ञान, प्रविधिको विकास, वैज्ञानिक जनशक्ति उत्पादन, नवीनतम आविष्कार र उनीहरुको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गदर्छ ।”

प्रधानमन्त्री देउवाले डिजिटल अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक जनशक्तिलाई अनुसन्धानको व्यवस्थापन तथा प्रतिभाको संरक्षण गर्ने नीति सरकारको रहेको त्यसका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो ।

यस क्षेत्रलाई फराकिलो बनाउन स्वदेशी तथा विदेशी लगानीको खाँचो औँल्याउँदै उहाँले विज्ञान शिक्षाको विकास गर्न गाउँदेखि नै उचित वातावरण तयार पार्नुपर्ने विचार व्यक्त गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको समय सूचना र प्रविधिको भएकाले त्यस क्षेत्रमा कार्य गर्नुपर्ने बताउँदै विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा क्रियाशील गराइने विश्वास व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बोधमाया कुमारी यादवले दिवसको सफलताको शुभकामना व्यक्त गर्दै देशको दिगो विकासका लागि विज्ञान शिक्षाको खाँचो औँल्याउनुभयो । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले कूल गार्हस्थ्य उत्पादनको एक प्रतिशत वैज्ञानिक खोज अनुसन्धानमा लगानी गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हामी कहाँ छौँ र कहाँसम्मको गन्तव्य हो त्यसको पहिचान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले वैज्ञानिक उत्पादन तथा आविष्कारका लागि आवश्यक अनुसन्धानका क्षेत्रमा लगानी न्यून भएकाले त्यसलाई वृद्धि गर्नुपर्ने बताउनुभयो । सो अवसरमा विज्ञान शिक्षाका विभिन्न सङ्कायका क्षेत्रमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।

परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले संसदमा हामीलाई भेट गरायो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताउनु भएको छ ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताउनु भयो । उहाँले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताउनु भयो।

उहाँले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपूर्ति दिने घोषणा पनि गर्नुभयो । यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताउनु भयो ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको शुभकामना पनि दिनुभयो ।

प्रदेश सभा सदस्यमा प्रदेश १ मा भक्ति सिटौलाको सम्भावना

झापा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ क प्रदेश समानुपातिकमा नेपाली कांग्रेसबाट भक्ति सिटौलाको नाम प्रस्तावित भएको छ ।

प्रदेश समानुपातिक सदस्यको हकमा कांग्रेसमा प्रदेश क्षेत्रिय समितिले सुरु प्रस्ताव, क्षेत्रिय समिति, जिल्ला समिति हुँदै केन्द्रीय समितिको बोर्डमा आएर निर्णय हुने गर्छ । निर्णयको अन्तिम चरणमा रहेको प्रदेश समानुपातिकमा सिटौलाको अधिक चर्चा छ ।

किशोर अवस्थादेखि सकृय रहनु भएका नेता सिटौला यसपटक आफैं झापाको तल्लो क्षेत्रको प्रतिनिधित्व आवाज बुलन्द गर्ने मनसायमा हुनुहुन्छ ।

जिल्ला तहका नेताहरुले समेत यस पटक जिल्लामा चर्चित नेता सिटौलालाई समानुपातिकबाट भएपनि स्थानीय जनताको आवाज माथिसम्म पुर्याउने जिम्मेवारी दिनु पर्ने बताएका छन् ।

जिल्ला सदस्य तथा आदिवासी समुदायका अग्रज नेता सुकदेव ताजपुरियाले भन्नुभयो, ‘सधैं अरुका लागि ‘पुल’ बनेर काम गर्दै आउनु भएको भक्ति सिटौला यस पटक आफैं त्यस ठाउँमा पुग्नु पर्ने हामी सबैको इच्छा छ ।’ त्यो अवसर पाए स्थानीय स्तरमा तल्लो बेल्डका जनताले दैनिक भोग्दै आएका समस्या समाधान हुने उहाँले बताउनु भयो ।

प्रदेशभरिको योग्य व्यक्तिका रुपमा परिचित एवं लोकप्रिय नेता सिटौलाले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

सरल, जुझारु, बौद्धिक, निडर, अनुशासित राजनीतिज्ञको छवि बनाउनु भएका सिटौला २०३८ सालमा नेविसंघको जिल्ला सदस्य, २०४१ सालमा नेविसंघको जिल्ला सचिव यसैगरी २०४१ सालमा मेची क्याम्पस इकाई सभापति र स्ववियु सचिव उम्मेद्वार बनेर विद्यार्थी फाँटमा सकृय हुनु भएको थियो । २०४२ सालको सत्याग्रहमा उहाँ जिल्लामा भएका आन्दोलनको अग्रमोर्चामा सकृय भूमिकामा हुनु हुन्थ्यो ।

२०४६ को संयुक्त जन आन्दोलनमा यस क्षेत्रबाट अगुवायी गर्नेमा उहाँ अग्रस्थानमा हुनुहुन्थ्यो। सोही बेला सिटौला प्रहरी हिरासत र झापा कारागारमा थुनामा समेत पर्नुभएको थियो ।

२०४८ सालको नेपाली कांग्रेसको कलबल्गुडी अधिबेशनदेखि हालसम्म लगातार ७ पटक महाधिवेशन प्रतिनिधि र ४ पटक महासमिति सदस्य भएर पार्टीको जिम्मेवारी सम्हाल्दै आएका नेता सिटौलाले दुई कार्य काल जिल्ला सचिवको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।

लोकतन्त्र र सामाजिक रुपान्तरणका लागि छदाखाँदाको स्थायी शिक्षण पेसा छाडेर पूर्ण समय पार्टी र समाज सेवा गर्दै राजनीतिमा हाेमिनुभएकाे नेता सिटौलासँग पार्टीको केन्द्र र जिल्लाले तोकेका महत्वपूर्ण जिम्मेवारी पूरा गरेको अनुभव छ । प्रष्ट र प्रखरवक्ताका रुपमा परिचित सामान्य किसान परिवारकाे उहाँ जिल्लामा अत्यन्तै लोकप्रिय मानिनु हुन्छ ।

सबै नेता कार्यकर्तालाई समन्वय गर्न सक्ने नेता सिटौलामा स्वच्छ छवि एवं सरल व्यक्तित्व, जोसँग पनि सहजै मिल्न र घुलमिल हुने स्वभाव छ । यस पटक यो अवसर पाए उहाँमाथि न्याय हुने स्थानीय तथा जिल्ला तहका नेताहरुको राय छ ।

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र मात्र हाे : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”

नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।”

उहाँले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।”

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा ९एमाले०को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।” हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । प्रम देउवाले भन्नुभयो, “हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन सबैले ।”

प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।”

कतिपयले एमसिसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “खै विदेशी सेना आयो त रु अहिले विदेशी सेना आएको छ त रु यस्तो पनि कुरा पत्याएर हिँड्ने हो रु झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।”

उहाँले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा सम्पन्न गरेको र अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

लोकतन्त्रको हितका लागि गठबन्धनः गृहमन्त्री खाण

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।” उहाँले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको छ भन्नुभयो । वीपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उहाँको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतमबुद्ध जन्मिएको देश र वीपीको जन्मभूमि भनेर चिन्ने गरेको उहाँको भनाइ छ ।

कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरुप परिचालन हुन अनुरोध गर्नुभयो । कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पु¥याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो ।

सुरेन्द्र र वीरेन्द्रलाई झड्का, अमरेशको नाम प्रदेश कार्य समितिबाट सिफारिस

सर्लाही । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले सर्लाहीको क्षेत्र नं ४ बाट वर्तमान सांसद डा अमरेशकुमार सिंहको नाम पनि सिफारिस गरेको छ ।

कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो । जिल्ला कार्य समितिले पनि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको नामलाई नै प्रदेश कार्य समितिमा सिफारिस गरेर पठाएको थियो । तर प्रदेश कार्य समितिले भने सांसद सिंहको नाम पनि सिफारिस गरेको हो । सिंहले आफू पनि आकाक्षी हुँदाहुँदै क्षेत्रीय कार्य समितिले आफूलाई निषेध गरी नाम नै सिफारिस गरेको भन्दै प्रदेश समितिमा निवेदन दिनुभएको थियो ।

कांग्रेस मधेश प्रदेश प्रदेश कार्य समितिका सदस्य एवं प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले प्रदेश कार्य समितिले डा सिंहको नाम सिफारिस गरेको पुष्टी गर्नुभयो । यसअघि जिल्ला तथा स्थानीय नेताहरु समेत अमरेशको नाम सिफारिस नगर्न जोड दिँदै आएका थिए ।

कांग्रेस नेता डा सिंह २०७० र २०७४ मा लगातार दुईपटक सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।

प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहनुभएका सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

यसअघि उहाँले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नु भई उक्त कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । भ्रमणकै क्रममा उहाँले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतसँग अन्तक्र्रिया गर्नुभएको थियो । जनरल पाण्डेले बुधबार मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नु भई पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गर्नुहुने कार्यक्रम छ ।

सोमबार जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुभएको थियो ।

राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि रकार सदैव प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रीपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताउनु भयो । उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विकासको लागि नेपाल सरकार सदैव प्रतिवद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष हो । ठाउँको कमी छ, जग्गा चाहियो भन्ने कुरा उठाउनु भयो । यो जायज कुरा हो । समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छु, मन्त्रीपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउन चाहन्छु । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

स्वतन्त्रता सेनानी होमनाथ दाहाल र कमल चित्रकार सम्मानित

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी होमनाथ दाहाल र स्वतन्त्रता सेनानी संघका संस्थापक अध्यक्ष तथा लोकतान्त्रिक आन्दोलनका अभियन्ता कमल चित्रकारलाई सम्मान प्रदान गरेको छ ।

सम्मान पत्र दोसल्ला तथा नगद रु पच्चीस हजार सहित उहाँहरुलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा वोल्दै प्रधानमन्त्री देउवाले निर्दलीय निरंकुशताको कठीन दमनका समयमा समेत होमनाथ दाहालले सम्पादन र प्रकाशन गरेको साप्ताहिक राष्ट्रपुकार नै लोकतान्त्रिक आन्दोलनको प्रचारप्रसारको मुख्य माध्यम भएको बताउनु हुँदै दाहालले लोकतन्त्रकालागि पुर्याएको योगदान महत्वपूर्ण रहेको विचार प्रकट गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘कमल चित्रकार कठीन दिनमा समेत दृढतापूर्वक लोकतन्त्रमा सक्रिय हुनु भएको हुनाले योगदानलाई सबैले सम्मान गर्नु पर्ने छ ।’ दाहाल र चित्रकारलाई सम्मान गरेर प्रजातान्त्रिक विचार समाजले सराहनीय काम गरेको प्रधानमन्त्रीको विचार थियो ।
दाहाल र चित्रकार दुवैजना आठदशक वय पार गरिसक्नुभएको स्वतन्त्रता सेनानी हुनुहुन्छ । दाहाल प्रजातान्त्रिक विचार समाजको संस्थापक र पूर्व सभापति समेत हुनुहुन्छ ।

वि.सं. २०५२ सालमा तत्कालीन पार्टी नेता गिरिजाप्रसाद कोइरालाको विशेष आग्रहमा प्राध्यापक विसी मल्लको नेतृत्वमा समाजको स्थापना भएको स्मरण गर्दै संमानित दाहालले लोकतान्त्रिक आन्दोलनलाई सचेत गराउन, यसलाई बौद्धिक ऊर्जा प्रदान गर्न नै यसकोपरिकल्पना गरिएको जानकारी दिनु भएको थियो ।

चित्रकारको स्वास्थ्य कमजोर रहेका कारण उहाँकी धर्मपत्नी गंगा चित्रकारले सम्मान ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले अहिले लोकतन्त्रको वटवृक्षका जराहरु कुहिन लागेको तर टुप्पामा देखिएका सासाना मुनाहरुलाई हेरे सन्तुष्टि लिने प्रयास भइरहेकोमा चिन्ता प्रकट गर्नुभएको थियो । उहाँले वृक्षको भित्री चुरो धूलोपीठो हुँदै गएको अवस्थामा वोक्रा सद्दे छन् भन्ने भ्रम पालेर वस्नु घातक हुनसक्नेतर्फ सबैले सचेत हुनु पर्ने आग्रह गर्नुभयो । उहाँले दाहाल र चित्रकारले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको चर्चा गर्नु भएको थियो ।

समाजका सभापति डा. केदार नरसिंह केसीले सभापतिको आसनबाट वोल्दै लोकतन्त्रलाई अपवित्र गठबन्धनले क्षति तुल्याएको र अबका दिनमा नेपाली कांग्रेसलाई कमजोर बनाउने खेलहरु यसैमार्फत हुनसक्ने हुँदा पार्टी सभापति एवम् प्रधानमन्त्रीले विचार पुर्याएर मात्रै कदम चाल्नु पर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री सुरेश मल्ल, प्रजातन्वादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सेना र समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लले संसथाका विषय र लोकतन्त्रको अवस्थावारे मन्तव्य प्रकट गर्नु भएको थियो ।

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

“राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो”, नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।

सम्मानित व्यक्तित्व दाहालले नेपालको लोकतन्त्र तलाउ र कुवाको बीचमा रहेको चर्चा गर्नुहुँदै आगामी निर्वाचनबाट लोकतन्त्रको उद्धारका लागि देउवा नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । समाज लोकतान्त्रिक मूल्यमान्यताकै रक्षाका लागि खडा भएकाले यसको दायित्व वर्तमान परिस्थितिमा अझ बढेको उहाँले सुनाउनुभयो ।

पूर्वमन्त्री एवं नेपाली कांगे्रसका नेता डा सुरेश मल्लले प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोज्ने प्रवृत्तिका विरुद्ध आवाज उठाउनकै निम्ति समाजको स्थापना भएको स्मरण गर्नुभयो । प्रजातन्त्रको रक्षा र सम्वद्र्धनका लागि समाजको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिताका माध्यमबाट दाहाल र राजनीतिका माध्यमबाट चित्रकारले प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको योगदान भावी पुस्ताले पनि सम्झने बताउनुभयो । लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन कठिन दिनमा योगदान गर्ने दाहाल र चित्रकारजस्ता सयौँ योद्धाको अभिलेख कांग्रेसले राख्नुपर्ने उहाँको माग थियो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले लोकतन्त्रमाथिको हस्तक्षेप रोक्न बुद्धिजीवी वर्गको संस्थाका रुपमा समाजको स्थापना भएको स्मरण गर्नुहुँदै हाल ७२ जिल्लामा यसको जिल्ला शाखा क्रियाशील रहेको जानकारी गराउनुभयो ।

विसं २०५२ मा स्थापना भएको समाजको भदौ २४ गते विराटनगरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारीसमेत उहाँले गराउनुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले लोकतान्त्रिक मूल्यमान्यताका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चाल्नुहुने हरेक कदममा संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

चित्रकार नेपाल तरुण दलका संस्थापक महासचिवका साथै विसं २०१४ को भद्र अवज्ञा आन्दोलनदेखिका हरेक राजनीतिक परिवर्तनमा सक्रिय रहँदै आउनुभएको छ । हाल स्वास्थ्य अवस्थाका कारण उहाँ सम्मान कार्यक्रममा उपस्थित हुन सक्नुभएन । उहाँको सम्मान श्रीमती गङ्गा चित्रकारले ग्रहण गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक गरी चित्रकारले छ वर्षसम्म जेल जीवन बिताउनुभएको छ ।

चित्रकारले पु¥याउनुभएको यही योगदानको कदर गर्दै ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित उहाँलाई सम्मान गरिएको थियो । चित्रकारलाई समाजले विसं २०७८ को पुरस्कार प्रदान गरेको हो । गत वर्ष कोरोना महामारीका कारण पुरस्कार प्रदान गर्न नसकिएको जनाइएको छ ।

यसैगरी वरिष्ठ पत्रकार होमनाथ दाहाललाई विसं २०७९ को सम्मान प्रदान गरिएको हो । पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक आन्दोलन एवं नेपाली भाषा, साहित्यको सम्वद्र्धनका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । पञ्चायतकालमा दमित आवाजलाई पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन दाहालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो ।

दाहाललाई पनि ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित सम्मानित गरिएको थियो । दुवैजनाले पु¥याउनुभएको योगदानका बारेमा समाजका उपाध्यक्ष ईश्वरीराज लौडारी, महासचिव गोकर्ण अर्याल र सचिव वासुदेव भण्डारीले चर्चा गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनकै आधारमा सिट बाँडफाँट : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उहाँको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उहाँको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उहाँले गठबन्धनका दल सहमतिमा आउने बताउनुभयो ।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उहाँले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गर्नुभयो ।

स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताउनुभयो ।

“स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन सबैलाई अपिल गर्न चाहन्छु ।”

व्यापार मेलाले महिला उद्यमशीताललाई प्रवद्र्धन गर्र्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

“मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने छ, महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री प्रवद्र्धन र बजारीकरणका लागि महासङ्घले आयोजना गरेको प्रदर्शनी सिङ्गो नेपाली महिला उद्यमीको व्यावसायिक सञ्जाल र सम्पर्कलाई विस्तार एवं व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान गर्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । मेलाले व्यवसायी–व्यवसायीबीच र व्यवसायीदेखि उभोक्तासम्मको सम्पर्क तथा सम्बन्धलाई विस्तार गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रदर्शनीका क्रममा हुने उद्योमी व्यवसायीबीचको अन्तक्र्रिया र आयात निर्यातसँग सम्बन्धित सूचना आदानप्रदानले अन्य मुलुकका उद्यमी व्यवसायीकाबीच व्यापारिक सहकार्य, समन्वय र सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने जनाउँदै उहाँले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताउनुभयो ।

उहाँले मेलामा काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत र साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनी हुने कुराबाट आफू हर्षित भएको बताउनुभयो । “जुम्ला, हुम्ला, दार्चुला, डडेल्धुरा, ताप्लेजुङ जस्ता विकट तथा दुर्गम जिल्लाबाट पनि उद्यमी महिला सहभागी भई आफ्ना उत्पादन प्रदर्शनी गर्न ल्याउनुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उहाँले निजी क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पु¥याउँदै रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा महिलाको अधिक सहभागिता हुनेमा विश्वास व्यक्त गर्दै उहाँले यसलाई अझ फराकिलो, समन्वयात्मक र सन्तुलित बनाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले महिला उद्यमशीलता प्रवद्र्धनमा महासङ्घले रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष निरु रायमाझी (खत्री) ले स्थानीय कच्चापदार्थ, सीप, प्रविधि र अनुभवको प्रयोग गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन, त्यस्ता उत्पादनको बजारीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनुभयो । “कम लागत, स्थानीय सीप र क्षमतामा बनाइएका सामग्री कलात्मक छन्”, उहाँले भन्नुभयो, “त्यसलाई अझ गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ ।”

उहाँले महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन र बजार प्रवद्र्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष रायमाझीले स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि स्थायी संरचनाको निर्माण गरिदिन आग्रह गर्नुभयो ।

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ सुरु भएको सो व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन् । मेलामा प्राकृतिक रेशाजन्य उत्पादन, बाँसबाट बनेका सामग्री, स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तु तथा सेवाको प्रदर्शनीमा राखिएका छन् ।

मेलामा सातै प्रदेशका स्थानीय उत्पादन बिक्रीमा राखिएका छन् । पचपन्न हजारले मेलाको अवलोकन गर्ने र रु दुई करोडको कारोबार हुने अनुमान गरिएको मेला संयोजक शोभा ज्ञवालीले जानकारी दिनुभयो । मेलाकै क्रममा महिला उद्यमीको दीगोपन, वित्तीय साक्षरतासम्बन्धी अन्तक्र्रिया हुनेछन् । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै आउनुभएका तीन महिला उद्यमीलाई सम्मान गरिएको थियो ।
-रासस

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको विभिन्न क्षेत्रमा योगदान पु-याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गर्नुभयो । विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउन तथा मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली र नागरिक हकअधिकार स्थापित गर्न अतुलनीय योगदान पु¥याउनु हुने स्वर्गीय वीपी कोइरालाको नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “वीपी कोइराला उच्च राजनैतिक चिन्तक र विश्लेषक मात्र नभएर उहाँ नेपाली भाषा साहित्यका एक उत्कृष्ट स्रष्टा, लोकप्रिय कथाकार एवं उपन्यासकार पनि हुनुहुन्थ्यो । समाजको परिवर्तनको लागि कोइरालाले राजनीतिक र साहित्य दुवैलाई आफ्नो कार्यक्षेत्र बनाइ आफ्नो समयको लोकप्रिय र चर्चित व्यक्तित्व हुनुभएको थियो ।”

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनैतिक सङ्घर्षका प्रेरक जननायक वीपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित वीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुनुहुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सम्मान एवं पुरस्कार कार्यक्रमले मुलुकमा राजनीतिक सुधार र जनताको हकअधिकारलाई स्थापित एवम् सुदृढ गर्ने तथा असल साहित्य सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सबै पुरस्कृत प्रतिभाले राज्यको तर्फबाट प्रदान गरेका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्याङ्कन र गौरबको महशुस गराएको विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी योगदानको अपेक्षा पनि गर्नुभयो । नेपाली साहित्य पनि एउटा समृद्ध साहित्यकारूपमा विश्वमा स्थापित भइसकेको भन्दै प्रधानमन्त्री देउवाले यसको गरिमा र गुणस्तरलाई आगामी दिनमा अझ गहकिला र विचारपूर्ण साहित्यको सिर्जना गरेर विश्व साहित्य जगतमा नेपालको आफ्नै विपशिष्ट पहिचान बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष जननायक वीपी कोइराला एक आदर्श व्यक्तित्व भएको बताउनुभयो । नेपालको राजनीतिक, ऐतिहासिक, सामाजिक र साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका वीपीको स्मरण गर्नु राज्यको दायित्व भएकाले सोही अनुरुप उहाँको सम्मानमा पुरस्कार प्रदान गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।

तीन स्रष्टा र एक संस्था पुरस्कृत

पर्यटन मन्त्रालयले विस २०७८ को वीपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीन स्रष्टा र एक संस्थालाई पुरस्कृत गरेको छ । राजनीतिक दर्शन विधातर्फ कोइरालाको विचारबारे खोज तथा अनुसन्धानमा सक्रिय सुन्दरीजलस्थित वीपी सङ्ग्रहालय तथा राजनीतिक विधातर्फ वीपी कोइरालाको नजिक रहेर उहाँका साहित्य र राजनीतिक रचनाहरूको प्रकाशन व्यवस्थापनमा भूमिका खेल्नुभएका पुरुषोत्तम बस्नेतलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

साहित्य विधातर्फ यस वर्षको वीपी कोइराला राष्ट्रिय पुरस्कार संयुक्तरूपमा साहित्यकारद्वय डा विष्णुविभु घिमिरे र डा ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार प्रधानमन्त्री देउवाले प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही नगद रु एक लाख र सम्मानपत्र रहेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका वीपी कोरोइरालाको स्मरणमा पर्यटन मन्त्रालयले यसैवर्ष सो पुरस्कारको स्थापना गरेको हो ।

पुरस्कृत व्यक्ति गौतमले नेपाली साहित्यमा आधुनिकता भित्र्याउने श्रेय वीपी कोइरालालाई जान्छ भन्दै नेपालको राजनीतिक र साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिका नाममा पुरस्कृत हुन पाउँदा हाफ्नो पहिचान बढेको बताउनुभयो । पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई हरेक वर्ष वीपी कोइरालाई राष्ट्रिय पुरस्कार प्रदान गरिने बताउनुभयो ।
-रासस