कथा : गुइँठो

✍️ राजेन्द्र पुडासैनी

देशमा प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउँदै बढ्दो कार्बन उत्सर्जनप्रति चिन्ता व्यक्त गर्नुभएको थियो र निर्धारित समयमा सोको अन्त्य गर्ने प्रतिबद्धता प्रकट गर्नु भएको थियो । मौसम पूर्वानुमान महाशाखाले मौसमको आकलन गर्दै दुई सातासम्म हिमपात र वर्षा हुने सम्भावना भएकाले सतर्क रहन सबै नागरिकलाई सचेत गराएको थियो ।

तराईमा शीतलहर चलेको छ । कठ्यांग्रिँदो जाडो छ । गरिबहरू भोक र रोगले सताइएका छन् । यही तराईको एउटा सानो गाउँमा धनीरामको परिवार पनि जीवनयापन गरिरहेको छ । पहिले तराईमा कमैया प्रथा थियो । जग्गाधनीले उपलब्ध गराएको घर र जमिनमा कमैयाहरू बस्दथे । उब्जनीको तोकिएको हिस्सा कमैयालाई बाढ्ने चलन थियो । उनीहरूको आफ्नो छुट्टै घर र जमिन थिएन । २०५७ श्रावणदेखि कमैया मुक्त भएका थिए । कमैया राख्न निषेध गरिएको थियो । तर, सरकारले उचित व्यवस्थापन नगरी मुक्तिको घोषणा गरेको थियो । केहीलाई सुकुम्बासी बस्ती भनेर पर्ती जग्गामा राखिएको थियो अनि कसैलाई खोलाका किनारमा । कतिपय घर न घाटका भएका थिए । धनीरामको एउटा सानो बुकुरो (झुपडी) थियो । दुईवटा गोरु र पाँच बाख्राहरू थिए । केही कुखुरा पनि पालेका थिए ।

बास, गाँस र कपास यी मानिसका आधारभूत आवश्यकता हुन् । जब कमैया प्रथा थियो तराईमा लहडु (मानिस बोक्ने गोरुगाडा) र लडिया (सामान बोक्ने गोरु गाडा) प्रचलनमा थिए । उनै धनीराम लडुवान् (लहडु हाँक्ने) थिए । बर्दा (गोरु) र भैसा (राँगा) को राम्रो हेरचाह गर्थे । पशुहरूलाई भुसा, पराल र घाँसको राम्रोसँग व्यवस्था मिलाउथे । आजकल तराईमा लहडु, लडिया बिरलै देखिन्छन् । समयको परिवर्तनसँगै यहाँ पनि परिवर्तन भएको छ । झन अहिले त देश संघीयतामा गएको छ । संघ, प्रदेश, स्थानीय निकाय सञ्चालनमा छ । कतिपय गाउँपालिका गाभिएर नगरपालिका भएका छन् । लहडुको ठाउँमा आजकल अटो रिक्सा चल्न थालेका छन् ।

बाटो कतै पीच छ कतै ग्राबेल भएको छ । यो परिवर्तनले धनीरामलाई खासै असर परेको छैन बरू उसलाई एक घण्टा टाढासम्म पल्लेदारी (धानका धोक्रा तौलने समय बोक्ने÷झिक्ने) गर्न जानुपरेको छ । यो काम सधैं पाइँदैन । नेताहरू जनतालाई भोट बैंक ठान्दछन् । जनप्रतिधिहरू चुनावमा सपनाका पोका लिएर दैलादैला चहार्छन् । देशलाई स्वीटजरल्याण्ड बनाउने योजना सुनाउँछन् । एउटा निमुखा व्यक्ति आश्वासनको पुलिन्दा सुन्नुभन्दा भोको पेट भर्ने र नांगो आङ ढाक्ने चिन्ताले पिरोलिन्छ । बुद्ध भन्नुहुन्छ ‘भोको मानिसलाई उपदेशको होइन, रोटीको आवश्यकता पर्छ ।’ मुखमा माड लाग्दैन भने ‘थाङने गफ’ जति चुटे पनि के गर्नु र ?

धानको समय छ । बजारमा किसानहरू ट्याक्टरले धमाधम धान ओसारिरहेका छन् । कोही कोही लडियामा धान लादेर लग्दैछन् । धनीराम फडमा पल्लेदारीमै व्यस्त छ । एउटा बोरा तौलदा दश रुपैयाँ पाउँछ । यही पल्लेदारीको आम्दानीले वर्षासम्म जोहो गर्नुपर्छ । पहिले पो जवान थियो, शरीरमा बल थियो । अहिले पहिलेको जस्तो शरीर छैन । भारी बोक्न र झिक्न नै उसलाई बोकालाई गोरुसँग जुध्नु जस्तो गाह्रो भएको छ । आखिर घर परिवार पनि त छ ।

आज बिहानैदेखि नै पानी परिरहेको छ । खरियानमा धनीरामलगायत केही मानिस पैरा (पराल, धुस्नु) बालेर आँगो ताप्दैछन् । साना बच्चाहरू आलु पोल्न बसेका छन् । कोही अगेनामा अण्डा सेकाउन बसेका छन् । उसिनेको अण्डाभन्दा यस्तो आगाको भुंग्रोमा सेकाएको अण्डा झन् स्वादिलो हुन्छ । धनीराम र उसका साथीहरू माखुर (सूर्ती) माड्दै गफ गर्दैछन् ।

खरियान नजिकै धनीरामको घर छ । उनकी श्रीमती गुइँठो (गुइँठा) बालेर खाना पकाउँदैछिन् । हुनत आजकल ग्यासको चलन आइसक्यो । ग्यासको जोहो गर्न पैसा चाहिन्छ । पैसाका लागि आम्दानी हुनुपर्छ । दुःखजिलो गरेर कमाएको आम्दानी वर्षांैसम्म टिक्दैन । पहिले जंगलबाट काठ काटेर ल्याउन पाइन्थ्यो । सरकाले वन विनाशको कारण देखाउँदै रूख काट्न रोकेको छ । दाउराको गर्जौ टार्न गाह्रो छ । टाढा काष्ठ उद्योग छ । यसो चोइटासोइटा ल्याउन पनि आफ्नै ट्रयाक्टर छैन । आखिर के गरोस् धनीरामले ?

धनीराम आज गुरुवाको घरमा देखिन्छ । झारफुक गर्ने थारू पुरोहितलाई गुरुवा भनिन्छ । उसलाई टाउको दुख्ने र ज्वरो आएको छ । के गुरुवाले उसको बिमारी झारफुक गरेर निको पार्लान र ? लेखकको एउटा अनुभव के छ भने बाल्यकालमा दाँत दुखेर यिनै गुरुवाको घरमा कीरा झार्न भनेर गएको थिए । उनले दुखेको दाँतबाट केही कीरा झारेर देखाएका थिए । दाँतमा कीरा लाग्नु भनेको ब्याक्टेरियाले दुःख दिने हो । जुन आँखाले नदेखिने हुन्छ पछि पो थाहा पाएँ दाँतको कीरा चामलमा लाग्ने कीरा जस्तो प्रत्यक्ष देखिने हुँदैन । आज पनि कति मानिसले झारफुकमा विश्वास गर्दा ज्यानै गुमाएका छन् । जो मानिससँग कुनै डिग्री छैन ।

गुइँठाको न्यानोमा भुसुक्क निदाएको धनीरामको परिवार यही न्यायोपनसँगै निस्सासिएर चिरनिन्द्रामा सुतेको छ । बिहान ढिलासम्म यो परिवार नउठेपछि छरछिमेकमा हल्लाखल्ला मच्चियो । छोटुलालले एउटा सानो प्वालबाट चियाएर हेर्‍यो । केही बोलेन । बोलोस् पनि कसरी ? सबै यो संसारबाटै टाढिएका थिए ।

जसले सम्बन्धित निकायबाट कुनै मान्यता पाएको छैन, उसले आफ्नो बिमारी, रोग निको पार्दिन्छ भनेर कुद्नु कत्रो अन्धविश्वास ! झारफुक गरेर, ढ्याङ्ग्रो ठटाएर रोग निको हुने भए मिहिनेत गरेर, दिनरात घोटिएर किन डाक्टर बन्नु ? हामी सय, पचास रुपैयाँ लिएर ज्योतिषीका हात देखाउँन जान्छौं, आफ्नो भविष्य बुझ्ने कोसिस गर्छौं । के यसरी हात हेर्ने ज्योतिषीले आफ्नै भविष्य ठीक बताउन सक्लान र ? यदि यस्ता ज्योतिषीका भविष्यवाणी मिल्ने भए बिल गेट्स, एलेन मस्क जस्ता धनाढ्य डलरको ब्रिफकेस बोकेर ज्योतिषीका धाउँदैन थिए होलान् र ? उनीहरूलाई आफ्नो भविष्य थाहा पाउने रहर छैन र ।

राज्यले ठाँउठाउँमा हेल्थपोष्ट र जिल्ला अस्पताल निर्माण गरेको छ । कतिपय हेल्थपोष्टमा स्वास्थ्य सहायक र अस्पतालमा डाक्टर, नर्सको व्यवस्था गरेको छ । कतिपय औषधि निःशुल्क वितरण गर्दैछ । खेती गर्न थोरै जमिन हुनेहरूले पनि हाते ट्याक्टर प्रयोगमा ल्याएका छन् । आधुनिक तरिकाबाट खेती गर्दा उब्जनी बढेको छ । उब्जनी बढ्नु भनेको आम्दानी बढ्नु हो । धनीराम परम्परावादी नै छ । आधुनिकता अगाँल्नेहरू अगि बढे । परम्परावादी पछि परे । आधुनिकता पनि अँगाल्न नसक्ने अनि परम्परागत कुरामा फर्कन नसक्नेबीच बाटोमै रुमलिए ।

छोटुलाल हस्याङफस्याङ गर्दै आयो । छोटुलाल धनीरामको छिमेकी हो । आज फडमा धान धेरै आउने जस्तो संकेत पाएर साहुले धनीरामलाई बिहानै बोलाउन खोजेका रहेछन् । धनीरामसँग मोबाइल थिएन । ऊ मोबाइल प्रयोग गर्न पनि जान्दैन । यसैले साहुले छोटुलाललाई खबर गरेका रहेछन् । ऊ हतारिँदै बजार गयो । धान धेरै जोख्न पाउनुभनेको पल्लेदारी बढ्नु हो । बोझ धेरै छ । जाडो याममा ऊ पसिना पुछ्दै काम गरिरहेको छ । आज ऊ अघिपछिभन्दा घर ढिला पुग्ला जस्तो छ ।

धनीरामको बिहे सानैमा भएको थियो । हुन त बालविवाह गैरकानुनी मानिन्छ । तैपनि कतैकतै यसको अवशेष बाँकी नै छ । कतिपय जातिले यो प्रचलन छाडिसकेका छैनन् । उजुरी परेको खण्डमा छानविन हुन्छ । सबै घटनामा उजुरी पर्छन् भन्ने पनि त छैन । उसकी छोरी पनि बैठन्या (तरुनी) भइसकी । यही माघीमा उसले छोरीको भोज (बिहे) गर्ने विचार गरेको छ । उसको सानो छोरा आफ्नी दिदीभन्दा दस वर्ष नै कान्छो छ । आफ्नो गच्छेअनुसार ऊ छोरीको विवाहमा सर्दाम जुटाउँदैछ । उसले केही टाढा मंगल चौधरीसँग छोरीको बिहे गर्ने तय गरेको छ ।
आज माघे झरी परेको छ । दिउँसोदेखि पानी झमझम दर्किरहेको छ । एकातिर शीतलहर चल्दै थियो । झन आज त कठ्याङ्ग्रिँदो जाडो छ । उनको परिवारले साँझै नपरी खाना खाइसके । आजकल दिन पनि त छोटा नै छन् । एक साताअघिमात्र छोरीको बिहे गरेको थियो धनीरामले ! आज घरमा ऊ, सानो छोरो र श्रीमतीमात्र छन् । झ्यालढोका पूरै बन्द गरेर उनीहरू मकलमा गुइँठा बालेर सुुतेका छन् । विचरा ! धनीरामलाई यही गुइँठाले कार्बन उत्सर्जन गर्छ भन्ने के थाहा ?

गुइँठाको न्यानोमा भुसुक्क निदाएको धनीरामको परिवार यही न्यायोपनसँगै निस्सासिएर चिरनिन्द्रामा सुतेको छ । बिहान ढिलासम्म यो परिवार नउठेपछि छरछिमेकमा हल्लाखल्ला मच्चियो । छोटुलालले एउटा सानो प्वालबाट चियाएर हेर्‍यो । केही बोलेन । बोलोस् पनि कसरी ? सबै यो संसारबाटै टाढिएका थिए । यो न हत्या थियो न त आत्महत्या । यो त निर्दोष मरण थियो । आज पनि यस्ता कार्बन उत्सर्जनबाट निसास्सिएर कतिपय धनीराम मृत्यु वरण गर्दै छन् ।