काठमाडौं । नेपाल सोतोकान कराँते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी कराँतेकी एरिका गुरुङलाई सोमबार दुई लाख नगदसहित सम्मान गर्नुभएको छ । चीनको हाङझावमा भएको एसियाली खेलकुदमा कराँते टोलीका व्यवस्थापकसमेत रहनुभएका वैद्यले हाङझाव एसियाडमा कराँते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाउनुभएको हो । एसियाली खेलकुदमा नेपालले कराँतेमा पहिलोपटक रजत पदक जितेको हो । हाङझाव एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई आठ-चार अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गर्नुभएको थियो । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग तीन-शून्य अंकले पराजित हुनुभयो । त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुका आधारमा हराउनुभएको थियो ।
एसियाडको इतिहासमा एरिकाको सहित नेपालको समग्रमा तेस्रो रजत हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाउनुभएको थियो । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जित्नुभएको थियो । त्यस्तै इण्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । एसियाडको कराँतेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य जित्नुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई नगद, प्रशंसापत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गर्नुभयो । सो अवसरमा एसियाडको कराँतेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
एसियाडमा रजत जित्ने खेलाडीलाई कानुनमा व्यवस्था भएबमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउने सदस्य–सचिव घिसिङले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच