काठमाडौं । यही मंसिर २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दुई कदम’ लाई लिएर आफू उत्साहित रहेको इओन लिम्बु बताउनुहुन्छ । यो उहाँको अभिनेताको रूपमा डेब्यू चलचित्र हो । अहिले प्रचार–प्रसारको दौडधुपमा रहनुभएका इओन यो चलचित्रलाई लिएर उत्साहित देखिनुभएको हो ।
अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’ मा अन्तिम वर्षमा अध्ययनरत उहाँ आफ्नो पहिलो चलचित्रलाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेको बताउनुहुन्छ । ‘बाल्यकालमा देखेको सपना पूरा गर्न पाउँदा निकै उत्साहित छु तर पनि चलचित्रको पर्दामा देखेको जस्तो क्यामेराअघि अभिनय गर्न सहज छैन’, उहाँ भन्नुहुन्छ । छायांकनको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महसुस भएको उहाँले सुनाउनुहुन्छ । ‘पहिलो दिन नै गीतको छायांकन भएकाले मेरो सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिँदा डर र उत्साह दुवै थियो । तर, निर्देशक उदय सुब्बाले मलाई निकै सहज रुपमा अभिनय गराउनुभयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भयो’, इओन भन्नुहुन्छ ।
निर्देशक सुब्बा निकै रमाइलो र सहज तरिकाले काम गराउने निर्देशक रूपमा पाएको उहाँ बताउनुहुन्छ । ‘उहाँ सहज नभई दिएको भए काम गर्न सहज हुँदैन थियो होला । अनि ‘दुई कदम’ मा धेरै सिनियर कलाकारहरूले अभिनय गर्नुभएको छ । उहाँहरूसँग काम गर्दा के भन्नु होला भन्ने डरभन्दा पनि कसरी राम्रो काम गर्ने भन्ने कुरा नै बढि माइन्डमा भएकाले पनि असहज भएन’, उहाँले सुनाउनुभयो ।
चलचित्रमा आफूले चुलबुले केटाको भूमिका निवार्ह गरेको बताउनुहुने इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेकोभन्दा राम्रो बनेको दाबी गर्नुहुन्छ । यही क्षेत्रमै करिअर बनाउने सोचमा रहनुभएका उहाँ पहिलो चलचित्रमा भएका कमी-कमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने आफ्नो योजना सुनाउनुहुन्छ ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको यो चलचित्रमा इओनसहित सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मालगायत कलाकारको अभिनय छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भाूमिका निर्वाह गर्नुभएको छ । चलचित्रको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा एक गीतको छायांकन मुस्ताङमा गरिएको छ ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किरातीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी तथा प्रवीन ढकालको सम्पादन रहेको यो चलचित्रलाई ऋच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच