काठमाडौं । युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्नुभएको छ । सद्भाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतीलाई सात स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल हुनुभएको हो । यसअघि उहाँले गत सिजन सूर्य नेपाल च्यालेन्ज जित्नुभएको थियो ।
अन्तिम दिन बिहीबार ३-अण्डर ६९ स्कोर गर्दा सद्भावले समग्रमा १७-अण्डर २७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ गर्दै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जित्नुभएको हो । इभन-पार ७२ खेल्दै समग्रमा १०-अण्डर २७८ सहित दिनेश प्रजापती दोस्रो हुनुभयो । प्रोफेसनलतर्फ पहिलो हुँदा उहाँले एक लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
समग्रमा ७-अण्डर २८१ को नतिजामा भुवन नगरकोटी तेस्रो हुनुभयो । उहाँले इभन-पार ७२ मा खेल सक्नुभयो । प्रोफेसनलतर्फ दोस्रो हुँदा उहाँले नगद ९४ हजार नगद पुरस्कार हात पार्नुभयो ।
बिहीबार २-ओभर ७४ स्कोर गर्नुभएका सञ्जय लामा समग्रमा इभन-पार २ सय ८८ प्रदर्शनमा चौथो हुनुभयो । प्रोफेसनलतर्फ तेस्रो हुनुभएका उहाँलाई ७० हजार प्रदान गरियो । समग्रमा २-ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौँ हुनुभयो । उहाँले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सक्नुभयो र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाउनुभयो ।
पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो हुनुभयो । बिहीबार ३-ओभर ७५ स्कोर गर्नुभएका उहाँले समग्रमा ३-ओभर २९१ को नतिजामा प्रतियोगिता सक्नुभयो । समग्रमा उहाँ छैटौँ हुनुभयो ।
समग्रमा ४-ओभर २९२ सहित रवि खड्का सातौँ हुनुभयो । उहाँले बिहीबार इभन-पार ७२ मा खेल सक्नुभयो । उहाँले ५० हजार प्राप्त गर्नुभयो । बिहीबार ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २९३ मा खेल सक्दै जयराम श्रेष्ठ आठौँ हुनुभयो ।
उहाँले ४२ हजार पाँच सय पुरस्कार राशि हात पार्नुभयो । समग्रमा ६-ओभर २९४ सहित धनबहादुर थापा र तोरणविक्रम शाही संयुक्तरूपमा नवौँ हुनुभयो । धनले बिहीबार ६-ओभर ७८ र तोरणले ३-अण्डर ६९ स्कोर गर्नुभयो । दुवैले ३७ हजार २५० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
अन्तिम १८ होलको सुरूवात गर्दा आज सद्भावसँग ४ स्ट्रोकको अग्रता थियो । सद्भावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गर्नुभयो भने तेस्रो होलमा बर्डी प्रहार गर्नुभयो ।
दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सद्भावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो । तर, यसपछि सद्भावले तेस्रो, चौथो र छैटौँ होलमा बर्डी प्रहार गर्नुभयो र फ्रन्ट नाइनको खेल सकिँदा ७ स्ट्रोकको अग्रता बनाइसक्नुभएको थियो । दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरे पनि चौथो, छैटौँ, आठौँ र नवौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सक्नुभयो ।
यसपछि ब्याक नाइनमा सद्भावले दशौँ देखि तेह्रौँ होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने सम्भावनालाई लगभग सुनिश्चित गर्नुभयो । अन्य गल्फरले चुनौतीसमेत दिन सकेनन् । यसपछि १४औँ र १६औँ होलमा बोगी खेपे पनि ब्याक नाइन २-अण्डर ३४ मा पूरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बन्नुभयो ।
दिनेशले १४औँ होलमा एक सट खेर फाल्नुभयो भने १०औँ, ११औँ र १७औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४ मा सक्नुभयो ।
भुवनले इभन-पार ७२ मा खेल सक्ने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा पूरा गर्नुभयो । उहाँले दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौँ होलमा एक-एक सट बचाउनुभयो । छैटौँ होलमा भने डबल बोगीको सामना गर्नुभयो । यसपछि १५औँ होलको बोगीका विरूद्ध ११औँ र १८औँ होलमा बर्डी हान्दै १-अण्डर ३५ मा ब्याक नाइन सक्नुभयो ।
सञ्जयले दोस्रो, सातौँ र आठौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सक्नुभयो । १८औँ होलको बर्डी ब्याक नाइन १-अण्डर ३५ मा पूरा गर्नुभयो ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गर्नुभयो । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच