कुनै महान् व्यक्ति वा विचारकको योगदानले कुनै सामान्य दिन अचानक विशेष वा सुदिन बन्न सक्छ । नेपाली राजनीतिमा पुष १६ गते त्यस्तै सुदिन हो । नेपाली राजनीति र साहित्यका शिखरपुरुष बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट नेपाल प्रवेश गरेको दिन । त्यसो त यो दिन सबै नेपालीकै निम्ति पनि महत्वपूर्ण दिन हो तथापि नेपाली कांग्रेस र यसको वैचारिक जीवनसँग जोडिएकाहरूको निम्ति निश्चय पनि बिर्सन नमिल्ने दिन हो ।
यसै घटनापछि बीपी दोस्रो पटक सुन्दरीजल बन्दीगृहमा जानुपरेको थियो । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बीपीले दोस्रोपटक सुन्दरीजल बन्दीगृहमा बस्दा तयार पारेको जेल डायरी फेरि सुन्दरीजल २०६३ का आधारमा बीपीलाई स्मरण गर्ने काम आज यस लेखमार्फत् गरिएको छ । साथै यसै कृतिलाई आधार मानेर बीपीका निजी तथा पारिवारिक जीवनका विषयमा व्यक्त गरिएका केही आत्माभिव्यक्तिहरू र तिनको समीक्षा गर्ने काम पनि यहाँ गरिएको छ ।
कुनै पनि व्यक्तिको निजी जीवन हुन्छ सबैको सार्वजनिक जीवन नहुन पनि सक्छ । केही व्यक्तिहरू जसको निजी र सार्वजनिक जीवन पनि महत्वपूर्ण हुन्छ । त्यस्ता व्यक्ति महान् हुन् जसले निजी जीवनलाई भन्दा सार्वजनिक जीवनलाई महत्व दिएर आफ्नो जीवन समाज र राष्ट्रका निम्ति समर्पित गरेका हुन्छन् । बीपी त्यस्तै महान् व्यक्ति हुन् जसले आफ्नो जीवनलाई देश र जनताको निमित्त समर्पित गरे । धेरैजसो व्यक्ति जो सार्वजनिक जीवनमा आएर पनि निजी जीवन, धन, सम्पत्ति र मानमर्यादालाई महत्व दिए । बीपीले त्यसो गरेनन् । देहावसान हुने बेलामा उनको एउटा निजी घरसम्म थिएन । यस्ता अभाव र गरिबीका धेरै दृष्टान्तहरू छन् । तापनि बीपीले आपूmलाई कहिल्यै निजी स्वार्थमा लगाएनन् ।
अनेकौँ विशेषणहरूले ढाकिएका बीपी कोइरालाको भित्र बसेको मानव रूप, अवस्था, चिन्तन र परिस्थितिसँग जोडेर हेर्ने हो भने त्यहाँ हामी जस्तै अवस्थाका बीपी भेटिने छन् भन्ने कुराको बारेमा के कति चर्चा भएको छ कुन्नि ? फेरि एकपटक यस्तै बीपीलाई हेरौं !
बीपीको सार्वजनिक जीवनको व्याख्या गरेर नथाक्ने हामीले बीपी भित्रको पारिवारिक, संवेदनशील र कोमल मानिसको बारेमा के कति सोच्न भ्यायौँ थाहा छैन । राष्ट्रिय जिम्मेवारीले ओतप्रोत भएर रोगी र वृद्ध शरीरको समेत प्रवाह नगरी बीपीले बैसठ्ठी वर्षको उमेरमा फेरि सुन्दरीजलको जेल जीवनलाई रोजे । तर त्यो पछिल्लो सुन्दरीजल बन्दी जीवनमा बीपी मानसिक रूपमा धेरै कमजोर, हतास एवं विवश जस्ता देखिएका छन् । यस अवधिमा उनका आध्यात्मिक भावना विकसित भएको छ । आफ्नो असुरक्षामा ईश्वरलाई साथ लिन खोजेको, घर र सुशीला आमा र परिवारको सम्झनाले धेरै नै सताएर विचलित बनेका अवस्था पनि देखियो । यसले ती महान् व्यक्तिमा पनि निजी जीवनको त्यति गहिरो अभिरूची, चिन्ता र चासो रहेछ भन्ने बोध हुन्छ । साथै सार्वजनिक व्यक्तिका निजी जीवनतर्फ ध्यान नदिएर हामीले पनि कतै भुल गरिरहेका त छैनौँ ?
कुनै पनि व्यक्ति सर्वप्रथम मानिस हो अनि मात्र अरू सबै हो । त्यसैले बीपीको पनि निजी जीवनतर्फ हेर्ने हो भने धेरै कारुणिक अवस्था देखिन्छ । तापनि बीपीको महानता त्यहाँ पनि झल्कियो । त्यो अवस्थामा पनि बीपीले कर्तव्य र जिम्मेवारीलाई नै महत्वले हेरेका छन् । असल मानिस असल नै हुन्छन् भन्ने सन्देश बीपीको फेरि सुन्दरीजलभित्रको जेल जीवनले पनि पुष्टि गर्दछ । हामीले पनि बीपीको निजी जीवनबाट धेरै कुरा सिकौँ र उनको आस्था र व्यवहारप्रति सम्मान प्रकट गरौँ भन्ने उद्देश्यले यो आलेख तयार गरिएको छ । बीपी वा विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति जीवनभन्दा बढी उनको राजनीतिक, सामाजिक र साहित्यिक जीवनका बारेमा चर्चाहरू भइरहेका छन् ।
सार्वजनिक व्यक्तिको निजी जीवन पनि सार्वजनिक हुने हुनाले त्यतातर्फ धेरैको चासो हुन्छ पनि हुँदैन पनि । सानो कुरा पनि चर्चामा आउँछ ठुलो कुरा पनि ओझेलमा पर्छ । सार्वजनिक व्यक्तिको निजी जीवन पनि हुन्छ भन्नेतर्फ ध्यान दिँदा देखापर्ने कतिपय तथ्यहरू कहिलेकाहीँ महत्वपूर्ण शिक्षा बनेर रहेका हुन्छन् । यता आएर बीपीलाई निकै सिँगारेर हेर्ने, सजाउने, अनेकौं विशेषणले ढाक्ने, उपाधि चढाउने, महामानव तुल्याएर पूजा गर्ने र बीपीको नाम आदर्श, सिद्धान्त र मान्यताहरूलाई साटेर निजी स्वार्थपूर्ति गर्ने जस्ता तल्लो दर्जाका कामहरू बढी भइरहेका छन् ।
अनेकौँ विशेषणहरूले ढाकिएका बीपी कोइरालाको भित्र बसेको मानव रूप, अवस्था, चिन्तन र परिस्थितिसँग जोडेर हेर्ने हो भने त्यहाँ हामी जस्तै अवस्थाका बीपी भेटिने छन् भन्ने कुराको बारेमा के कति चर्चा भएको छ कुन्नि ? फेरि एकपटक यस्तै बीपीलाई हेरौं ! बीपीले कत्ति पनि सङ्कोच नमानेर, इमानदार बनेर आफ्नो निजी जीवन, सार्वजनिक जीवन र दैनिकी समेतका कुराहरू सार्वजनिक गरिसकेका छन् । यद्यपि ती सबै विषयका कुराहरूले बीपीको सम्पूर्ण जीवनलाई समेट्न पाएनन्, कति लेखिएनन्, कति छुटे र कति बीपीको पछिल्लो समयका सामग्रीहरूको अभिलेखीकरण हुन पाएन तापनि जे जति तथ्य र सत्यहरूले बीपीलाई चिनाएका छन् ती पनि पर्याप्त नै छन् । यो लेखमा पनि कुनै नयाँ कुरा उठाइएको छैन तिनै पुरानै कुरालाई नयाँ आँखाले हेर्दा देखापरेका केही बान्कीहरूलाई मात्र प्रस्तुत गर्ने प्रयत्न यहाँ गरिएको छ ।
बीपी, सुन्दरीजल र फेरि सुन्दरीजल
मानवबाट, महामानव बनाइएका बीपीभित्र कस्तो मानिस बस्थ्यो भन्ने सन्दर्भका केही जिज्ञासाहरू हामीसँग छन् । यस्तै सन्दर्भमा २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट नेपाल फर्केका बीपीलाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरेर फेरि सुन्दरीजल लगियो जहाँ त्यसपूर्व आठ वर्षको कारावास बसेर २०२५ सालमा बीपी रिहा भएका थिए । परिस्थिति धेरै भिन्न भइसकेको त्यो आठ वर्षपछिका बीपी सुन्दरीजलको पछिल्लो बसाइमा हामी जस्तै सामान्य मानिस जस्ता पनि देखिए । अर्थात् बीपी जे जस्ता देखिए, सुन्दरीजलभित्रकै उनको कलमबाट व्यक्त भएका धारणाहरूलाई समेटेर बीपीको रूप हेर्ने मनशायले यो आलेख तयार गर्ने प्रयत्न भएको छ ।
बीपीको सुन्दरीजलसँग पुरानै साइनो थियो । २०१७ साल पुष १ गते तत्कालीन सरकारले प्रधानमन्त्री पदबाट अपदस्थ गरी गिरफ्तार गरेर सुन्दरीजल बन्दीगृहमा लगेको थियो र त्यहाँ बीपी आठ वर्ष बसेका थिए । बीपीको त्यो बसाइ नेपाली साहित्यको निम्ति ज्यादै महत्त्वपूर्ण र निर्णायक अवधि रहृयो । बीपी त्यसरी जेल नबसेका भए सम्भवतः नेपाली साहित्यले ती उच्चस्तरका साहित्यिक कृतिहरू प्राप्त गर्न सक्ने थिएन । बीपीको जीवनको दोस्रो जग्मगाउँदो पाटोको झलक हामीलाई त्यसरी प्राप्त भएको थियो । बीपी त्यो अवधिमा कति रित्तिए र हामीलाई प्रकाशित गरे यसको उच्च मूल्याङ्कन हुनुपर्दछ । के कति हानि नोक्सानीबाट हामीले साहित्यिक बीपी नाम गरेको रत्न पायौँ, त्यो बीपीको मूल्य कति थियो हिसाब किताब रहेन ।
भनिन्छ एउटा नरित्तिएसम्म अर्को भरिँदैन । बीपीको भौतिक देहका महत्वपूर्ण आठ वर्ष रित्याएर हामी भरिएका छौँ । हामीलाई बीपीका आठ वर्ष कति महत्वपूर्ण थिए त्यो मूल्यबोध नहुन पनि सक्छ तर प्राप्तिको उज्यालो धेरै चम्किलो छ । बीपी आफू मात्र रित्तिएका भए पनि हामीले सहनै पथ्र्यो तर बीपीले देश र साहित्यलाई गुन लगाएरै गए । हामीलाई समृद्ध पारेरै गए ।
सार्वजनिक जीवनमा देखापर्ने व्यक्तिको व्यवहार नै उसको निजी जीवन पनि हो भन्ने आमधारणाले काम गरिरहेको अवस्थामा कुनै पनि सार्वजनिक व्यक्तिको मूल्याङ्कन गरियो भने त्यो पर्याप्त नहुन सक्छ भन्ने दृष्टान्त राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला पनि हुन् ।
फेरि सुन्दरीजल (२०६३) बीपी कोइरालाको दोस्रो पटक सुन्दरीजल बन्दीगृहमा बस्दा लेखिएको जेल डायरी हो । प्रजातन्त्र पुनःबहालीको अभियानमा समर्पित रहेका बीपी बैसठ्ठी वर्षको उमेरमा पनि देश र जनताको मुक्तिको निम्ति राष्ट्रियता सङ्कटमा परेको ठहर गरी आफ्ना ६ जना विश्वस्त व्यक्ति साथमा लिएर राष्ट्रिय मेलमिलापको आहृवान गरी स्वदेश फर्केका थिए । बीपी दोस्रो पटक सुन्दरीजल बन्दीगृहमा बस्दा आफ्नो ६२ वर्षे जीवनका के कति वर्ष कहाँ कसरी व्यतीत भए भनी विवरण प्रस्तुत गरेका छन् ।
नेपालमा २५ वर्ष र भारतमा ३८ वर्ष बिताएको अनि ती वर्षहरूमध्ये पढाइमा १७ वर्ष, जेलमा १२ वर्ष, निर्वासनमा २० वर्ष र सरकारमा २ वर्ष व्यतीत गरेको र तीमध्ये २६ वर्ष सक्रिय राजनीतिमा बिताएको भनी दिएको विवरणले बीपीको जीवनका महत्वपूर्ण ३४ वर्ष सार्वजनिक नागरिकको रूपमा बितेको देखिन्छ भने पढाइका १७ वर्षलाई पृष्ठभूमि मानेर हेर्दा जम्मा ११ वर्षको जीवनलाई मात्र बीपीको व्यक्तिगत जीवन मान्न सकिन्छ । पाँचदशक वर्ष समाजको सेवामा समर्पित गर्ने बीपीलाई सार्वजनिक व्यक्तिका रूपमा नै चिनिन्छ ।
सार्वजनिक व्यक्तिको निजी जीवनका बारेमा चासो रहने भए पनि उसको निजी जीवनका कर्तव्य, दायित्व र पारिवारिक सम्बन्धको सम्वेदनशीलतातर्फ भने त्यति ध्यान दिइएको पाइँदैन । साथै व्यक्तिको निजी जीवनका कतिपय सबल र दुर्बल पक्ष वा सार्वजनिक जीवन बिताउँदा कुण्ठित हुन पुगेका निजी भावना, चाहना र पूरा गर्न नसकिएका दायित्वका कुराहरू धेरै महत्वपूर्ण पनि हुन सक्छन् भन्ने नसोच्ने हो भने सार्वजनिक जीवनमा सबैको साझा अभिभावक बनेका व्यक्तिका निजी जीवनहरू दुर्घटनाग्रस्त पनि हुन सक्छन् । हामीले कतिपय सार्वजनिक व्यक्तिका घर गृहस्थी सफल हुन नसकेका दृष्टान्तहरू पनि पढ्ने र देख्ने गरेका छौँ ।
साथसाथै व्यक्तिको निजी जीवन पनि त्यत्तिकै महत्वपूर्ण हो, अझभन्दा निजी जीवनलाई व्यवस्थित गर्न सकिएको छैन वा निजी जीवनका कतिपय निर्णायक कार्यहरू आफूबाट सम्पन्न हुन नसकेको अवस्थामा उक्त व्यक्तिको सामाजिक जीवनले पनि सफलता नपाउने वा उचित न्याय गर्न नसक्ने मनोैज्ञानिक समस्या पनि हुनसक्छ भन्नेतर्फ हाम्रो ध्यान नपुगेको पनि हुन सक्छ । कुनै पनि व्यक्ति सर्वप्रथम निजी व्यक्ति हो अनिमात्र ऊ समाज वा राष्ट्रको साझा व्यक्ति हो । त्यसैले जतिसुकै ठूलो सामाजिक प्रतिष्ठा प्राप्त व्यक्ति पनि आफ्नो निजी जीवनका अनिवार्यताहरू भित्र बाँधिएकै हुन्छ । यदि निजी जीवनलाई व्यवस्थित पनि सकिएको छैन भने सार्वजनिक जीवनमा पनि त्यसको असर पर्न सक्छ ।
सार्वजनिक जीवनमा देखापर्ने व्यक्तिको व्यवहार नै उसको निजी जीवन पनि हो भन्ने आमधारणाले काम गरिरहेको अवस्थामा कुनै पनि सार्वजनिक व्यक्तिको मूल्याङ्कन गरियो भने त्यो पर्याप्त नहुन सक्छ भन्ने दृष्टान्त राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला पनि हुन् भन्ने कुरा फेरि सुन्दरीजल भित्रका कोइराला पढेपछि अनुभव भएको छ । राष्ट्रको अस्तित्व र अस्मिता सङ्कटमा परेको ठहर गरी स्वदेश फर्केका बीपीको जीवनका दुई महत्वपूर्ण पाटाहरू थिए । प्रथमतः उनी एकजना पारिवारिक व्यक्ति थिए जसभित्र उनको पारिवारिक सम्बन्ध, कर्तव्य र दायित्वको गहन जिम्मेवारी थियो भने अर्कोतर्फ नेपालमा राणा शासनको अन्त्य, प्रजातन्त्रको बहाली र प्रजातन्त्रको पुनःबहालीको अभियानका केन्द्रीय आकर्षण बीपीको सार्वजनिक मूल्य र महत्त्व पनि उत्तिकै थियो ।
परिवारलाई मात्र ध्यान दिएर राष्ट्रप्रति उदासीन हुने वा राष्ट्रप्रति बढी वफादार बनेर परिवारप्रति उदासीन हुने दुवै गम्भीर जिम्मेवारीको बीचमा उभिएका बीपीले निःसन्देह परिवारप्रतिको जिम्मेवारीलाई भन्दा राष्ट्रप्रतिको जिम्मेवारीलाई बढी महत्वपूर्ण माने । त्यसैले ६२ वर्षको उमेरमा पनि राष्ट्र निर्माणकै अभियानमा समर्पित भएर निर्वासनबाट स्वदेश फर्के र पुनः सुन्दरीजल बन्दीगृहको बन्दी जीवनलाई रोजे । त्यतिले मात्र बीपीको दायित्व पूरा भएको थिएन । राष्ट्रको अस्मिता रक्षाको निम्ति स्वदेश फिर्ति र कारावास पछि बीपीको मनमा उब्जेका राष्ट्रिय दायित्व र पारिवारिक दायित्वका कुराहरूले निश्चय पनि हामीलाई प्रेरणा र प्रोत्साहन दिने छन् ।
राष्ट्रिय जिम्मेवारीले थिचेर अनेकौँ पारिवारिक दायित्वलाई पूरा गर्न नसकेका बीपीको सुन्दरीजल भित्रको मनोभाव र उनले पटक–पटक व्यक्त गरेका परिवारप्रतिका आफ्ना धारणाहरूले बीपीको व्यक्ति जीवनलाई बुझ्न मद्दत मिल्दछ । मानिसले जिम्मेवारी आपूmले बोध गर्ने कुरा रहेछ, कर्तव्यले झक्झक्याउने आफ्नो निजी पुँजी साथमा लिएर जन्मिएको व्यक्ति नै सार्वजनिक र निजी जीवनकाप्रति पनि इमानदार बन्न सक्ने रहेछ भन्ने कुरा बीपीको जीवनबाट प्रेरणा लिन सकिन्छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच