चितवन । नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये मंगलबार साँझसम्म १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये नौ जनाको सनाखत भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सनाखत गरिएका नौ जनामा सीतामणी बिहार भारतका श्रृषिपाल साह, चितवन माडी-१ का विकास परियार, सर्लाही बरहथवा-३ का रमितकुमार माझी, पश्चिम चम्पारण भारतका जयप्रकाश ठाकुर, बेतिया मझेलिया थाना भारतका सजाद अन्सारी, भरतपुर-२२ पटिहानीका सुदीप विक, रौतहटका फिरोज राहुप मिया, बारा विश्रामपुर-६ का परमानन्द पण्डित र रौतहट चन्द्रनिगाहपुर-१० का किशोरकुमार चौधरी (चालक गणपति) रहनुभएको छ । अन्य आठ जनाको भने सनाखत हुन सकेको छैन ।
मंगलबार बिहान नारायणी नदी किनारामा एउटा शव भेटिएको थियो । दिउँसो गैँडाकोट-७ स्थित नारायणी नदी किनारमै पुनः दुईवटा शव भेटिएको थियो । योसँगै भेटिएका शवको संख्या १७ पुगेको हो । दुईवटा बसमा गरी ६५ यात्रु बेपत्ता रहेको सशस्त्रले जनाएको छ । सोमबार पूर्वी नवलपरासीस्थित गण्डक ब्यारेजमा तीन र मध्यविन्दु नगरपालिकाको भूताहामा एउटा शव फेला परेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हालसम्म १७ जनाको शव फेला परेको र अन्यको खोजी जारी रहेको जानकारी दिनुभयो । पछिल्लो समय नारायणी नदीको गोलाघाट तथा सुस्ता नहरमा शव भेटिन थालेपछि ती क्षेत्रमा नै खोजी कार्यलाई तीव्रता दिइएको छ । यस क्षेत्रमा ¥याफटिङ बोट, मोटरबोट, पैदल तथा ड्रोनको सहायतामा खोजी जारी राखिएको छ ।
नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि ३०१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले घटनास्थलदेखि गण्डक ब्यारेजसम्म परिचालन गरिएको जनाइएको छ । गण्डक ब्यारेज दुर्घटनास्थलबाट १३२ किलोमिटर टाढा छ । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बसमाथि पहिरो खस्दा गत शुक्रबार त्रिशूली नदीमा बेपत्ता भएको थियो । यसैबीच, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नारायणगढ-मुग्लिन सडक खण्डको सिमलताल पुगेर बस दुर्घटनाबारे निरीक्षण गर्नुभएको छ । लामिछानेले घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । उहाँले घटनास्थलको अवलोकनसमेत गर्नुभयो । सभापति लामिछाने गृहमन्त्री हुँदा घटनाप्रति गम्भीर नभएको भन्दै आलोचना भएको थियो ।
विपद्मा परी हालसम्म १२० जनाको मृत्यु
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबारसम्म १२० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठजना गरी जम्मा १२० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै काठमाडौं उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेश प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १३५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एकजना गरी आठजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका छन् । २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५८१ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच