काठमाडौं । चितवनको नारायणगढ बजार नजिक बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१ लिलाचोक र पोखरा बसपार्कको बीचमा पर्ने रेयुकाई भवन तल नारायणी नदी किनारमा आइतबार बिहान बाघले आक्रमण गर्दा एकजना घाइते भएका हुन् ।
प्रहरी कार्यालय चितवनका अनुसार बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको मुख र हातमा चोट लागेको छ । उहाँको तीन ठाउँमा हड्डी भाँचिएको छ । घाइते श्रेष्ठको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाघ कहाँबाट आयो ? यकिन हुन सकेको छैन । नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशंका गरिएको छ । बाघ नरकट झाडीमा लुकेको आशंकामा जिल्ला वन कार्यालय र भरतपुर प्रहरीको टोली खोजीमा जुटेका छन् ।
बाघले मान्छेलाई आक्रमण गरेको यो पहिलो घटना होइन । गत बिहीबार मात्रै कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । बिहीबार बिहान घरनजिकै धान खेतमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट दोधारा चाँदनी–२ कलसाकी २६ वर्षीया हीरादेवी शाहको ज्यान गएको थियो । नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर उहाँलाई आक्रमण गरेको थियो । हल्लाखल्ला भएपछि खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिनुभएको थियो ।
दोधारा चाँदनी नगरपालिका–२ कमलासा टोलमा बुधबारदेखि नै बाघ देखिएको थियो । नेपालसँगै सीमा जोडिएको भारतीय क्षेत्रमा राष्ट्रिय वन छ । त्यही वन क्षेत्रबाट बाघ बस्तीमा पसेको अनुमान छ । निकुञ्ज र नेपाली सेनाको टोलीले उक्त बाघलाई शुक्रबार मात्रै नियन्त्रणमा लिएको थियो । शुक्लाफाटा राष्ट्रिय निकुञ्जका चार हात्ती परिचालन गरेर बाघ नियन्त्रणमा लिइएको थियो ।
माथिका दुवै घटनामा शहर/गाउँ नजिकै आएर बाघले मान्छेलाई आक्रमण गरेको देखिन्छ । बाघले मान्छेलाई आक्रमण गरेको यी दुई प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा बर्सेनि बाघको आक्रमणबाट मान्छेको ज्यान जाने गरेको छ । मुलुकभरकै पछिल्लो ६ वर्षको तथ्यांक हेर्ने हो भने बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।
राजापानीमा बाघ आतंक
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतंक छ । जंगलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छा, पाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका हुन् ।
केही दिन अघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साबिक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । चौहानको घरबाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ ।
राजापानीका स्थानीयका अनुसार केही दिनअघि साबिक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो बाघले मारेको छ । दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दा बढी चौपाया मारेको थियो ।
६ वर्षमा ६९ जनाको मृत्यु
नेपालमा बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बर्सेनि बाघको आक्रमणबाट दर्जन हाराहारी मानिसहरूको ज्यान जाने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । विभागका अनुसार पछिल्लो ६ वर्षमा मात्रै बाघको आक्रमणबाट ६९ जनाको ज्यान गएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ मा मात्रै बाघको आक्रमणबाट १० जनाको ज्यान गएको विभागले जनाएको छ । यसअघि अघिल्लो आव ०७९/८० मा १२ जना, ०७८/७९ मा २१ जना, ०७७/७८ मा १३ जना, ०७६/७७ मा ८ जना र ०७५/७६ मा ४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
किन बढ्यो आक्रमण ?
नेपालमा राष्ट्रियस्तरमा बाघको गणना १९९५ बाट सुरु भएको हो । त्यतिबेला राष्ट्रिय निकुञ्जमा जम्मा ९८ वटा बाघ गणना गरिएको थियो । नेपालमा पछिल्लोपटक २०२२ मा बाघ गणना गरिएको थियो । त्यतिबेला ३५५ वटा बाघ गणना गरिएको थियो । विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१, चितवन राष्ट्रिय निकुञ्जमा १२८, बाँके राष्ट्रिय निकुञ्जमा २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाघ छन् ।
बाघको संख्या बढेसँगै वासस्थानमा प्रत्यक्ष चाप पर्ने गर्छ । नयाँ वासस्थान र आहाराको खोजीमा बाघ जंगल र नजिकका बस्तीमा पुग्ने गरेको वन्यजन्तुविद्हरू बताउँछन् । उनीहरूका अनुसार सामान्यतया जंगलमा एउटा भाले बाघले ५२ र बघिनीले ३५ वर्ग किलोमिटर क्षेत्रफललाई आफ्नो वासस्थानको रूपमा प्रयोग गर्छन् । वासस्थानको क्षेत्रफलमा अरू बाघ÷बघिनी आएर स्थायी रूपले बस्न खोजे बाघ बघिनीबीच झगडा पर्छ ।
बघिनीले डमरुलाई बाघबाट बचाउन आफ्नै परिवारमा समेत संघर्ष गर्ने प्रवृत्ति हुन्छ । यसरी जंगलमा बाघहरूबीच संघर्ष हुँदा आफ्नोे वासस्थान खोज्ने क्रममा जंगल नजिकैको मानव बस्तीमा पुग्ने गरेको बिबिसीले जनाएको छ । समाचारमा जनाइएअनुसार मानव बस्तीनजिक पुगेपछि सजिलै मासु खान पाउने भएकाले पटक–पटक घरपालुवा जनावर, मानिसहरूलाई आक्रमण गर्ने गरेको र पल्किने गरेका हुन्छन् । बाघ बूढो भएर शिकार गर्न नसक्ने अवस्था भएमा र एकपटक मान्छेको मासु खाइसकेको भए मान्छेमाथि आक्रमण गर्नसक्ने विज्ञ बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच