काठमाडौं । आइएमई मनि ट्रान्सफर र जिएमई रेमिट गाभिएर बुधबारदेखि आइएमई लिमिटेडका रूपमा एकीकृत कारोबार सुरु भएको छ । सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताउनुभयो ।
दुर्ई कम्पनीको एकीकृत कारोबार सुरुसँगै अध्यक्ष ढकालले आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ । आइएमई सुरुवातमा करिब २० प्रतिशतमात्र औैपचारिक रहेको रेमिट्यान्स हाल करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा रहेको ढकालको भनाइ थियो । आइएमई सुरु गर्दा वार्षिक दुई मिलियन डलर भित्र्याउने लक्ष्य राखिएकोमा हाल दुई सय मिलियन डलरभन्दा बढी पुगेको पनि उहाँले दाबी गर्नुभयो ।
सरकार तथा नियामक राष्ट्र बैंकले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको जिकिर गर्दै ढकालले भन्नुभयो, ‘राष्ट्र बैंकले बैंकहरूको पुँजी बढाउन एक आपसमा गाभ्ने नीति ल्याउँदा त्यसको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ । विभिन्न २१ बैंक तथा वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । अहिले राष्ट्र बंैकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । सो नीतिको हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।’ पछिल्लो समय रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको उहाँको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुण्डी कारोबार नियन्त्रण गर्दै वैधानिक बाटोबाट रेमिट्यान्स भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।
विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उहाँले सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्ने पनि बताउनुभयो । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्स करिब २४ प्रतिशत हाराहारी रहेको छ ।
यो रेमिट्यान्स क्षेत्रमा पहिलो मर्ज हो । मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुनेछ । हाल आइएमईको पुँजी ९० करोड र जिएमईको पुँजी २५ करोड रुपैयाँ रहेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई पहिलो र जिएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जिएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।
मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।
सिइओमा पौडेल
एकीकृत कारोबारसँगै आइएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिवाकर पौडेल नियुक्त हुनुभएको छ । जिएमई प्राप्तिपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेको कम्पनीमा सिइओको जिम्मेवारी पौडेललाई दिइएको हो । पौडेल यसअघि साबिक जिएमई रेमिट्यान्सका सिइओ हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच