काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, तीनवटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै, सातवटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । उहाँले मानवीय क्षतिको विवरण भने आइनसकेको तर स्थानीय एकजना बेपत्ता रहेको जानकारी दिनुभयो ।यस्तै, थामे खोलामा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले उनीहरूको उद्धार गरेको प्रजिअ पाण्डेले जानकारी गराउनुभयो ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यहाँस्थित पालिकाहरूले पनि सूचना जारी गर्दै नदी किनारका बस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगेर जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छन् । शुक्रबार दिउँसो २ बजे बाढी आएको थियो ।
खोज, उद्धारमा सेना, प्रहरी परिचालन
गृह मन्त्रालयले सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । बाढी आएको स्थान खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा पर्छ । त्यसबाट आएको बाढी थामे खोला हुँदै दुधकोशी नदीमा मिसिएको छ । रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको जानकारी दिँदै भन्नुभयो, ‘गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । मैले कामु प्रधानसेनापतिज्यूलाई पनि विपद्बाट पार्ने जोखिमबाट बच्न, नागरिकलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्न र अरू भौतिक क्षति हुन नदिने उपाय अपनाउन सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ । अहिलेसम्म मानवीय क्षति भए/नभएको यकिन विवरण आइसकेको छैन तर थामेको घटनास्थलमा बढी क्षति भएको आकलन गर्न सकिन्छ ।’ राईका अनुसार हालसम्म बाढीले नदी प्रवेश गरी पुल र अरू भौतिक संरचनामा क्षति पु¥याएको विवरण आइनसकेको पनि जानकारी दिनुभयो । रक्षामन्त्री राई बाढी आएको खुम्बु पासाङ ल्यामु गाउँपालिकाको छिमेकी पालिका माप्य दुधकोशी गाउँपालिकाका स्थानीय हुनुहुन्छ ।
दूधकोशी तल्लो तटका बासिन्दालाई सतर्क रहन अपिल
सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’ त्यस्तै, गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भुसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठूलो क्षति पु¥याएको हुनसक्ने भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रबुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गर्नुभएको छ । यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘थुलुङ गाउँपालिकास्थित दूधकोशी नदी आसपास क्षेत्रहरू अति जोखिममा रहेको हुँदा दूधकोशी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सचेत रहन र सुरक्षित स्थानमा बस्नुहुन थुलुङ दूधकोशी गाउँपालिका हार्दिक अपिल गर्दछ ।’ शुक्रबार दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ । माथिबाट आएको बाढीको असर दूधकोशी नदीसँग जोडिएका खुम्बुपासाङ गाउँपालिका, माप्यदूधकोशी र थुलुङ दूधकोशी गाउँपालिकाका नदी तटीय क्षेत्र उच्च जोखिममा परेका छन् । दूधकोशी नदी तीनवटा पालिका पछि खोटाङ र ओखलढुंगाका वारिपारिका तटीय बस्ती पनि उच्च जोखिममा परेका छन् । दूधकोशी खोटाङ र उदयपुर हुँदै सप्तकोशीमा मिसिन्छ ।
‘लज, स्कुल, बाटो, साँघु सबै बगाइदियो’
नाम्चेबाट हिँड्दै गए पाँच घण्टामा पुगिने खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का ४८ वर्षीय पेम्बा तेन्जिङ शेर्पाले थामेमा गएको भीषण बाढीले लज चल्ने गरेका सातवटा घरहरू खोलाले बगाएको, छेउकै स्कुल पनि बगाएको जानकारी दिनुभएको छ । बाढीले बाटो, साँघु सबै बताएको उहाँले बताउनुभयो । खुम्बुको पर्यटनमा अफसिजन चलिरहेकाले लजमा मान्छेहरू खासै छैनन् । त्यसैले बाढीमा कमभन्दा कम मान्छे परे भन्ने आशा गरेको शेर्पाको भनाइ छ । राति बाढी आएको भए धेरै क्षति हुने अवस्था भए पनि दिउँसो बाढी आएकाले त्यहाँबाट भाग्न सजिलो भएको उहाँको भनाइ छ । गाउँपालिकामा बिजुली र इन्टरनेट अवरुद्ध रहेको र खोलामा आएको बाढी भने घट्ने क्रममा रहेको शेर्पाले जनाकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच