इलामको माईपोखरीमा पर्यटन प्रवर्द्धन

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरी क्षेत्रमा जैविक विविधता संरक्षणका र पर्यटन प्रवर्द्धनका लागि जोरपोखरी निर्माण गरिएको छ । सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत भएपछि माईपोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि जोरपोखरी निर्माण गरिएको हो । यहाँ पुग्ने पर्यटकहरुको बसाई लम्ब्याउनका लागि मुख्य जलासय नजिकै जोरपोखरी बनाएर डुङ्गा संचालन गर्ने तयारी छ । जसले पर्यटकको माईपोखरी बसाई लम्ब्याउने छ ।

माईपोखरीको पर्यटन विकासका लागि गुरुयोजना बनाइएको छ । सोहि गुरुयोजना अनुसार जोरपोखरी निर्माण गरिएको हो । संघीय सरकारको घुम्नैपर्ने सय गन्तव्यमा माईपोखरी रामसार क्षेत्र छ । त्रिधार्मिक क्षेत्र माईपोखरीमा पुग्ने पर्यटकहरुलाई थप मनोरञ्जन दिन जोरपोखरी निर्माण गरिएको हो । जसले गर्दा रामसार क्षेत्र संरक्षणसँगै पर्यटन प्रवर्द्धन सहयोग पुग्ने सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्खले बताउनुभयो ।

जोरपोखरी बनाएपछि जैविक विविधता र सुनगोहोरो संरक्षणमा सहज    हुनेछ । माईपोखरी क्षेत्रमा २ वटा पोखरी जोड्ने, आकासे पुल बनाउने, कफि सप, सार्वजनीक शौचालय, रेलिङ्ग सहितको पदमार्ग निर्माण हुँदै आएको छ । संघीय सरकारको ४ करोड १० लाख ७० हजारमा पूर्वाधार निर्माण अन्तिम चरणमा   छन् । बनाइएका पूर्वाधार हस्तान्तरण भएपछि संचालनमा ल्याउने तयारी रहेको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

माईपोखरीमा पूर्वाधार निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा छ । हिन्दु, बौद्ध, र किराँत धर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख नयाँ वर्ष र हरिबोधनी एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।

माईपोखरी क्षेत्रमा पोखरी दर्शन-अवलोकन संगै माईपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञ कुण्ड, साधु कुटी, बौद्ध गुम्बा, तीन चुलो, युमाथान अवलोकन र दर्शन गर्न सकिन्छ ।

करिब १ दशमलव ८ हेक्टरमा फैलिएको र नौवटा कुना भएको माईपोखरीलाई प्रकृतिको सुन्दरताका रूपमा लिइने गरिन्छ । यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न सकिदैंन । बलिप्रथा निषेध रहेको माईपोखरीलाई साक्षात् देवीको रूपमा पूजा गरिँदै आएको छ । माईपोखरीमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ ।

द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनवासमा रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने किंवदन्ती छ । माईपोखरीलाई हिन्दू, बौद्ध र किरात मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन विशेष पूजा अर्चना र मेला लाग्ने प्रचलन छ ।

मेची राजमार्ग अन्तर्गत बिब्ल्याँटे बजारबाट १३ किलोमिटरको दुरीमा पर्ने माईपोखरी जैविक विविधताको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३ सय प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यूलगायतका वनस्पति पाइन्छन् । यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २ सय भन्दा बढी प्रजातिका चराचुररुङ्गीहरू पाइन्छन् ।

माईपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावरणीय पक्षको अध्ययन, अनुसन्धान गर्न समेत मानिसहरू आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?