प्रतिकूल मौसमले हवाई उडान प्रभावित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो ।

काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौं उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?