6th December | 2020 | Sunday | 7:56:01 AM

बैंक तथा वित्तीय संस्थालाई ४२ बुँदे निर्देशन

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७७ (९:१६ AM)

बैंक तथा वित्तीय संस्थालाई ४२ बुँदे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनलाई लक्षित गरेर बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ जारी गरेको छ । राष्ट्र बैंकले कोरोना संक्रमणबाट बच्न सोमबार ४२ बुँदे मार्गदर्शन जारी गरेको हो । मार्गदर्शनमा कामको प्रकृतिअनुसार कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिए पनि घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीले निरन्तर रुपमा आफ्नो सुपरिवेक्षक तथा विभाग, कार्यालय, इकाइका प्रमुखसँग सम्पर्कमा रहनुपर्ने जनाइएको छ ।

कार्यालय तथा स्वास्थ्य सुरक्षा सम्बन्धमा पनि सावधानी अपनाउनुपर्ने निर्देशनमा उल्लेख छ । काम गर्दा अनिवार्यरुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको ब्यवस्था गर्नुपर्ने छ भने कर्मचारी तथा सेवाग्राहीले कार्यालय प्रवेशमा अनिवार्य मास्क लगाउनुपर्ने छ । बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिँदा सुरुमा शिलबन्दी बाक्सा नै बुझिलिने र केही दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्नेछ ।

नोटबाट संक्रमण फैलन नदिन प्राप्त नोट गणनाअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउनुपर्नेछ । लकडाउनका बेलामा बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिइने पनि निर्देशनमा उल्लेख छ ।

कर्मचारीमा हुनसक्ने कोरोना संक्रमणलाई दृष्टिगत गरी बैंक परिसरबाटै प्रदान गर्नुपर्ने बैकिङ सेवाका लागि सम्वन्धित विभाग वा कार्यालयबाट सकेसम्म न्यूनतम कर्मचारीको उपस्थिति अर्थात बढीमा एक तिहाइ कर्मचारीबाट आवश्यक सेवा प्रदान गर्नुपर्नेछ । बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समूहका कर्मचारीलाई सम्भव भएसम्म पीपीइको व्यवस्था गर्ने र उक्त व्यवस्था कार्यान्वयन नभएसम्मका लागि अनिवार्यरुपमा एन ९५ मास्क तथा ग्लोभ्ससहित र न्यूनतम सामाजिक दूरी कायम गरी सेवाग्राहीको प्रवेशलाई नियन्त्रण गर्न लगाउने पनि निर्देशनमा उल्लेख छ ।

त्यस्तै कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको व्यक्तिगत विवरण र सम्पर्क नम्बरसहितको विवरण कार्यालय प्रवेशद्धारमा रहेको रजिष्टरमा अनिवार्यरुपमा उल्लेख गर्ने, कर्मचारीहरूले आफूसँग भेट भएका सेवाग्राहीको सम्पर्क नम्बर र मिति नोट गर्ने गरी दैनिक भेटघाटको डायरी राख्नुपर्नेलगायत रहेका छन् ।


Views: 276