13th July | 2020 | Monday | 12:50:02 AM

होटल व्यवासायीद्वारा घरभाडा छुट र व्याजमा सहुलियत माग

हिमालय टाइम्स   POSTED ON : असार १२, २०७७ (९:०५ AM)

होटल व्यवासायीद्वारा घरभाडा छुट र व्याजमा सहुलियत माग

काठमाडौं । होटल व्यवसायी महासंघले लकडाउन अवधिभरको घरभाडा पूर्णरूपमा छुट र सहुलियत ऋणलगायत १४ बुँदे माग अघि सारेको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गरी लकडाउन अवधिको घरभाडा पूर्णरूपमा र संक्रमणकाल रहुन्जेलसम्मका लागि ५० प्रतिशत छुट गर्न सरकारसँग माग गरेको हो । 

त्यस्तै बैंक र वित्तीय संस्थाबाट लिएको ऋणको तिर्ने समयावधि कम्तीमा २ वर्ष थप गरी उक्त अवधिभरको व्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिने व्यवस्था गर्न माग गरेको छ । महासंघका अध्यक्ष हीराध्वज शाहले घरभाडाका छुटका लागि घरधनीलाई समेत राहत पुग्नेगरी घरधनीको बैंकको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरूले तिर्ने घरबहाल कर र बैंकको व्याज छुट तथा अन्य करसमेत छुट गर्न स्थानीय तहसँगको समन्वयमा विशेष राहत कोषमार्फत सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै महासंघले होटल व्यवसाय अन्य व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामै सुचारु भई सामान्य अवस्थामा आउने व्यवसाय नभएको र संक्रमण अवधिभर नै व्यवसायमा भारी असर पर्ने भएकाले विद्युत् र पानीको महशुल कम्तीमा १ वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायत महशुलमा विशेष सहुलियतको व्यवस्था गर्न पनि माग गरेको छ । अहिलेको महामारीले सबैभन्दा बढी असर पारेको होटल व्यवसायीलाई राहतस्वरूप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गर्न, होटल क्षेत्रमा संलग्न व्यवसायीले बैंक र वित्तीय संस्थाबाट लिएको ऋणको व्याज र किस्ता तिर्ने मुख्य स्रोत होटल व्यवसायमात्र भएकोले जुनसुकै शीर्षकमा लिएको भए पनि ऋण तिर्ने समयावधि कम्तीमा २ वर्ष थप गरी उक्त अवधिभरको व्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिने व्यवस्था माग गरेको छ । 

त्यस्तै होटल व्यवसायीले राज्यबाट हालसम्म कुनै किसिमको व्यावसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोका रूपमा मूल्यांकन गरी न्यून व्याजदरमा ऋण उपलब्ध गराउन, वर्तमान विषम परिस्थितिपछि पनि व्यवसायलाई सहजरूपमा सञ्चालन गर्न न्यून व्याजदरमाको व्यवस्था गर्न माग गरेको छ ।

कोरोना सुरु हुनेबित्तिकै आफ्ना मातहतका सम्पूर्ण होटल राज्यलाई आवश्यक परेमा बिना शुल्क क्वारेन्टाइन दिन तयार रहेकोमा महासंघलाई बेवास्त गर्दै ६ महिनाका लागि सबै होटल बन्द गर्ने भनेर सार्वजनिक सूचना नै जारी गर्ने निकायसँग सम्झौता गरेर नेपालीलाई सस्तोदर छाडी महँगोदरमा बस्न बाध्य पारिएको भन्दै महासंघले आपत्तिसमेत जनाएको छ । त्यस्तै खाडी तथा मलेसियाबाट आउने नेपालीलाई क्वारेन्टाइनका नाउँमा उनीहरू कै खर्चमा जबर्जस्ती तारे होटलमा महँगो दररेटमा बस्न बाध्य पारिएको भन्दै उक्त निर्णयमा तत्काल पुनर्विचार गरी उनीहरूलाई इच्छा र स्तरअनुसारका होटलमा क्वारेन्टाइनका लागि बस्न पाउने अधिकार प्रदान आग्रह गरेको छ ।

त्यस्तै राज्यले अत्यावश्यक सेवामा राखेको तर लामो समयदेखि बन्द रहेका होटल व्यवसायलाई सरकारले जारी गरेको मापदण्डअनुसारका सावधानी अपनाएर खोल्न पाउने व्यवस्था गर्न, लकडाउनका कारण होटल व्यवसायबाट विस्थापित भई बेरोजगार भएका श्रमिकलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गर्न, पर्यटनको मूल आधार तथा सार्वजनिक प्रकृतिको सेवा प्रदायक व्यवसायका रूपमा रहेको होटल व्यवसायमा हुनसक्ने संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धी सामग्री सहुलियतमा उपलब्ध गराउन माग गरेको छ ।

महासंघमा आबद्ध देशैभरि छरिएर रहेका ८० हजारभन्दा बढी होटल व्यवसायीलाई विद्यमान पर्यटन ऐनले सम्बोधन नगरेको हुँदा अहिले संशोधनको क्रममा रहेको पर्यटन ऐन २०७६ मा महासंघलाई समेत समेट्ने गरी व्यवस्था गर्न र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा पर्यटन व्यवसायसँग सम्बन्धित राजस्वसम्बन्धी नीति नियम तथा अन्य आवश्यकीय नीति नियमको तर्जुमा गर्न बनाइने संयन्त्रहरूमा महासंघलाई पनि सहभागी गराउन माग गरेको छ ।


Views: 34