13th July | 2020 | Monday | 12:01:49 AM

सलहबारे विज्ञ भन्छन् : आत्तिनु पर्दैन, नियन्त्रणमा आउँछ

लेखनाथ पोखरेल   POSTED ON : असार १५, २०७७ (१०:२९ AM)

सलहबारे विज्ञ भन्छन् : आत्तिनु पर्दैन, नियन्त्रणमा आउँछ

काठमाडौैं । धानबाली लगाउने समयमा नेपालमा पनि एक्कासि सलह भित्रिएपछि किसानहरू आत्तिनु भएको छ । सरकारले भने केही महिनाअघि मात्रै नेपालमा सलह नआउने निष्कर्ष निकाल्दै सलह नियन्त्रणको पूर्वतयारी गरेको थिएन । तर सलह नेपाल भित्रिएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नियन्त्रणमा जुटिसकेको दाबी गरेको छ । 

त्यसो त कृषि विज्ञका अनुसार नेपालमा सलह भित्रिएको भए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल भित्रिएको सलहको झुण्ड सानो भएकोले नियन्त्रण गर्न सकिने उहाँहरूको भनाइ छ । बाली संरक्षणविज्ञ डा. डल्लीराम शर्माले भारतबाट आएको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । सलह ठूलो समूहमा ८ करोडसम्म हुने भए पनि नेपालमा ४,५ करोडबाट छुट्टिएर आएकाले सानो समूह रहेको उहाँले बताउनुभयो । शर्माले हिमालय टाइम्ससँग भन्नुभयो, ‘ठूलो समूह २५ किलोमिटर स्क्वायर मिटरसम्मको हुन्छ तर नेपालमा भित्रिएको सलह ०.५ किलोमिटरको छ ।’

शर्माका अनुसार नेपाल भित्रिएको सलहको संख्या वृद्धि हुँदैन । किनभने सलहले नेपालमा फूल पार्दैन, फूल पार्न भारतको राजस्थानमै पुग्नुपर्छ किनभने यसले बालुवामा मात्रै अण्डा पार्छ, जसका लागि राजस्थान नै पुग्नुपर्छ, त्यसैले नियन्त्र गर्न सजिलो छ । त्यस्तै सलह एकै ठाउँमा बस्दैन, जता हावा चल्छ, त्यत्तैतिर उड्छ ।

एकदिनमा १५० किलोमिटरसम्म उड्नसक्छ, साँझ परेपछि रूखमा बस्छ र घाम लागेपछिमात्रै बालीतिर लाग्छ । त्यलैले बिहान घाम लाग्नुअघि सलह बसेको ठाउँमा विषादी प्रयोग गर्न सकिन्छ । किसान सचेत भएमा सहजैरुपमा सलहमा नियन्त्र गर्नसक्ने शर्माले बताउनुभएको छ । विषादी प्रयोग गर्ने र थाल ठटाउने, टिन बजाउने र धुँवा लगाउने, जालीले बाली ढाक्ने गरेमा सलह कीरा नियन्त्रण गर्न सकिने शर्माका भनाइ छ । शर्माका अनुसार आवाज आउने ठाउँमा सहल बस्दैन, भाग्छ, त्यसैले ठूलो आवज आउनेगरी थाल तथा टिन ठटाएमा सलह आफैं भाग्छ ।

मनसुनमा पूर्वबाट पश्चितमतिर हावा चल्ने भएकाले नेपाल नआउने प्रक्षेपण गरिएकोमा उत्तरबाट दक्षिण र पश्चिमबाट पूर्वतिर हावा चलेको र त्यसले भारतबाट सानोसानो समूहमा छुट्टिएर सलह नेपाल आएको उहाँले बताउनुभएको छ । उनका अनुसार नेपालमा वयस्क र बच्चा दुवै खालका सलह देखिएको छ । अण्डा पार्न नसके वयस्क सलह दुई हप्तामै मर्छ भने बच्चा सलह एक महिनासम्म बाँच्छ । तर सानो समूह भनेर बेवास्ता भने गर्नु नहुने शर्माले बताउनुभएको छ । सरकार तत्कालै यसको नियन्त्रणमा लाग्नुपर्ने र किसान पनि आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने उहाँ बताउनुहुन्छ ।

भारतको उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानलगायत क्षेत्रमा सलहले व्यापक क्षति पु¥याएपछि नेपालमा भित्रिने जोखिम देखिए पनि मन्त्रालयले सलह नेपाल भित्रिन नसक्ने निष्कर्ष निकाले थियो । सलह कीरा नेपालमा आउने र अवस्था के छ भनेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा सलह कीराको आगमन तथा व्यवस्थापनसम्बन्धी विशेष प्राविधिक कार्यदल बनाएर अध्ययन गरेको थियो । 

कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाउँदै तत्काल सलह नेपालमा आउने सम्भावना नरहेको निष्कर्ष निकाल्यो । गठित समितिले विज्ञसँगको परामर्शमा नेपालमा यस वर्ष सलहको प्रकोप नपर्ने तर सावधानी अपनाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । वायुको वेगसँगै उड्ने भएकाले यस वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेको सलहको नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलको निष्कर्ष थियो । 

तर शनिबार बिहान एकाएक बारा, सर्लाही, पर्सा, भैरहवा, नवलपरासीलगायतका जिल्लामा सलह कीरा प्रकोप देखियो । सलह फट्यांग्र्रा जातको एक किसिमको कीरा हो । संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम प्लेग भनेको छ । यो कीरा समूहमा बस्छ र कृषि बालीमा अमेरिकी फौजी कीरालेभन्दा बढी क्षति पु¥याउँछ । यसले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन सक्छ । औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा सखाप पार्ने बताइएको छ ।


Views: 73