13th July | 2020 | Monday | 1:17:55 AM

आजदेखि शेयर बजार खुल्ने

हिमालय टाइम्स   POSTED ON : असार १५, २०७७ (१०:३१ AM)

आजदेखि शेयर बजार खुल्ने

काठमाडौं । विगत ३ महिनादेखि बन्द रहेको शेयर बजारमा सोमबारदेखि खुल्ने भएको छ । धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शेयर कारोबार सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिने र सोही व्यहोरा अर्थ मन्त्रालयमा जानकारी गराउने निर्णय गरेको हो । 

अध्ययन समितिले धितोपत्रको कारोबार खुलाउन उपयुक्त रहेको र लगानीकर्ताले घरबाट धितोपत्रको खरिद बिक्री गर्नसक्ने अवस्था रहेको हुँदा बजार खुलाउने निर्णय गरेको बोर्डले जनाएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले पनि सोमबारदेखि शेयर बजार खुल्ने पुष्टि गरेको छ । 

धितोपत्र बोर्डले कोरोना भाइरसका कारण लकडाउन गरिएको अवस्थामा गत चैत ११ गतेदेखि बजार बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्ड र नेप्सेले कारोबार संयन्त्रमा परिवर्तन गरेर वैशाख ३१ र ३१ गते बजार खुलेको थियो । लकडाउन बीचमा खुलेको बजार उच्च अंकले घटेपछि लगानीकर्ताको चर्को विरोधपछि पुनः बजार बन्द भएको थियो ।

केही दिनअघि शेयर बजारका लगानीकर्ताले आगामी दिनमा शेयर बजारको कारोबार नरोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । धितोपत्र बोर्डको रोहोबरमा सबै लगानीकर्ताका संघ संगठनका प्रतिनिधिले धितोपत्र बजार बन्द नगर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

लगानीकर्ताले नेपालको पुँजी बजारलाई नीति, नियम, पूर्वाधार प्रविधिले सम्पन्न गरी बजार विकास, विस्तार र सुधार गर्न लगानीकर्ता तथा अन्य सरोकारवालाको सुझाब नेपाल धितोपत्र बोर्डले गम्भीरतापूर्वक लिएको अनुभूति भएको सहमतिपत्रमा उल्लेख छ । यसरी संयुक्तपमा हस्ताक्षर गर्नेमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दबाब समूहक अध्यक्ष तिलक कोइराला, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी र शेयर लगानीकर्ता दबाब समूहका सचिव गोपाल स्वामी रहनुभएको छ ।


Views: 49