13th July | 2020 | Monday | 1:16:14 AM

नार्कले विकास गरेमा जात नार्कमै सीमित

हिमालय टाइम्स   POSTED ON : असार १६, २०७७ (१०:०० AM)

नार्कले विकास गरेमा जात नार्कमै सीमित

काठमाडौं । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ सोमबार सरकारले औपचारिकरूपमा १७ राष्ट्रिय धान दिवस मनाएको छ । यस वर्ष कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्तरूपमा खुलटारस्थित नार्क परिसरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेका हुन् । देशका अन्य भागमा पनि औपचारिकरूपमा धान दिवस मनाइएको थियो ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कुल गार्हस्थ उत्पादनमा धानको योगदान बढाउन हाइब्रिड धानको जातको बीउ कृषकसम्म पु¥याउन आग्रह गर्नुभयो । आयातीत धानलाई विस्थापित गर्न आगामी आर्थिक वर्षमा धान विशेष कार्यक्रम राखिएको जानकारी गराउँदै धानको वैज्ञानिक बाली व्यस्थापनको प्रयोग गरी उपयुक्त जात र बीउको प्रयोगमार्फत धानको उत्पादनमा वृद्धि गर्न सकिने बताउनुभयो । 

नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले मसिनो धानका जातको बीउ नार्कका वैज्ञानिकले उन्मोचन गरेपनि कृषकसम्म नपुग्दा त्यसको उपयोग हुन नसकेको बताउनुभयो । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले अनुसन्धान र प्रसारबीचमा समन्वय हुन नसक्दा तराईका किसान पुरानै बीउ तथा आयातीत बीउ रोप्न बाध्य रहेको बताउनुभयो । केसीका अनुसार ८० प्रतिशत व्यावसायिकरूपमा धान रोपिने तराई क्षेत्रमा नार्कले उन्मोचन गरेको धानको जात पुग्न सकेको छैन । 

नार्कको बाली तथा बागवानीका निर्देशक डा. हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । उप्रेतीले सलह कीराबाट धानको बीउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्नेलगायत काम गर्न किसानलाई सुभाब दिनुभएको छ ।

उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई बढावा दिन हालसम्म नेपालमा तराई, मध्य पहाड र उच्च पहाडका लागि सूचित गरिएका खुला सेचित र हाइब्रिड गरी जम्मा १३० वटा धानका जातहरू सिफारिश भइसकेका छन् भने बर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न दुईवटा स्वदेशी हाइब्रिड धानका जात सूचित हुने प्रक्रियामा रहेको विभागले जनाएको छ ।

नेपालको कुल खेतीयोग्य भूभागको करिब ६५ प्रतिशतमामात्र सिँचाइको पहुँच रहेको छ भने वर्षभरि सिँचाइ सुविधा २८ प्रतिशतमा मात्रै छ । त्यसो त सरकारले यस वर्ष धानको उत्पादन बढ्ने दाबी गरेको छ । कोरोना महामारीका बाबजुद पनि मौसमले साथ दिएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको कृषि विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७६÷७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमश २.२० प्रतिशत र १.०५ प्रतिशत कमी भए पनि उत्पादकत्व १.२ प्रतिशतले वृद्धि भएको कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले बताउनुभएको छ । पाण्डेका अनुसार हालसम्म अघिल्लो वर्षभन्दा यस वर्ष बढी रोपाइँ भएको छ 

विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महŒवपूर्ण अन्न बाली मानिन्छ । विश्वको ३.५ अर्ब जनसंख्याको आधारभूत खाद्य वस्तुका रूपमा रहेको धान खाद्य तथा पोषण सुरक्षाका लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धानखेती भई ७८ करोड २० लाख मेट्रिकटन उत्पादन हुने गरेको छ । ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकमै हुने गरेको छ । 

उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछि क्रमशः भारत, इण्डोनेसिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्र हुन् । नेपाल भने १७ औं स्थानमा छ ।

 नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा छ । नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँबराबरको धान तथा यसका उपउत्पादन प्राप्त हुने गरेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको छ । 


Views: 61